दाङमा पहिलोपटक सराय नाच मेला, संस्कृति संरक्षणमा जोड



दाङ– दाङको घोराहीमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित ऐतिहासिक अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा सराय नाच मेलाको सुरुआत गरिएको हो ।
पहाडी जिल्लामा प्रचलित सराय नाच बसाइँसराइसँगै दाङमा पनि विस्तार हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । गुल्मीको मदाने गाउँपालिका–७ बाट बसाइँ सरेर घोराहीमा बस्दै आएका आशिष पन्थीले सराय नाचको सुरुआतले मौलिक संस्कृति संरक्षणमा सहयोग पुग्ने बताए । हरेक वर्ष निरन्तरता दिन सके यो परम्परा जोगाउन सकिने सरोकारवालाको बुझाई छ ।
तरबार, खुडा र खुकुरी नचाउँदै पञ्चेबाजाको तालमा सामूहिक रूपमा नाचिने सराय नाच धार्मिक आस्था र परम्परासँग जोडिएको छ । देवीदेवताले दानवमाथि विजय प्राप्त गरेको खुसीयालीमा विजयोत्सवका रूपमा यो नाच मनाउने धार्मिक विश्वास छ । दसैँका बेला टीका, जमरा र आफन्तसँगको भेटघाटसँग पनि यसको विशेष सम्बन्ध रहेको छ ।
घोराहीका नारायण भुसालले ऐतिहासिक अम्बिकेश्वरी मन्दिरबाट सराय नाच मेला सुरु गर्दा संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।
गुल्मी, अर्घाखाँची, प्यूठान र पाल्पाका ऐतिहासिक कोटघर तथा शक्तिपीठमा विशेष महत्त्वका साथ नाचिने सराय नाच पछिल्लो समय बसाइँसराइसँगै तराईका क्षेत्रमा पनि विस्तार हुँदै गएको छ ।
स्थानीयका अनुसार नयाँ पुस्तालाई यस नाचको इतिहास र महत्त्व बुझाउँदै परम्परा जोगाउन आवश्यक छ । पहिले पुरुषको सहभागिता बढी हुने सराय नाचमा अहिले महिलाको सहभागितासमेत बढ्दै गएको छ । यसअघि दाङमा यस्तो सराय नाच हुँदैनथ्यो । अहिले सराय नाच सुरु भएको हो । स्थानीयले संस्कृति संरक्षणमा जोड दिँदै निरन्तरता दिनुपर्ने बताएका छन् ।








प्रतिकृया दिनुहोस्