November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

चलचित्रमा मौलिक कथा र सामाजिक विषयवस्तुमा जोड

Advertisement

पाल्पा– नेपाली चलचित्रमा मौलिक कथा र सामाजिक विषयवस्तुलाई जोड दिनुपर्नेमा जोड दिइएको छ । पाल्पा सदरमुकाम तानसेनमा आयोजित प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका सहभागीले चलचित्रका कथामा मौलिकतासँगै सांस्कृतिक पक्षलाई ख्याल गरिनुपर्ने बताए ।

Advertisement

तीन दिनसम्म तानसेनस्थित सन्तोष चलचित्र मन्दिरमा महोत्सव सञ्चालन भएको थियो । महोत्सवमा नेपालसहित विभिन्न देशका २४ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन गरिएको थियो । सामाजिक अगुवा कृष्णबहादुर रावलले सामाजिक महत्व, मौलिक कथा, सांस्कृतिक पक्ष र कलात्मक गुणस्तरलाई आधार बनाएर चलचित्र छनोट गरिएकाले प्रशंसनीय भएको बताए । ‘यस्ता खालका चलचित्र सिनेमा हलमा पुगेर हेर्न पाइँदैन,’ उनले भने, ‘त्यसैले यस्ता महोत्सवमा सामाजिक कथावस्तु चिन्न, बुझ्न सहज हुने गरी चलचित्र छनोट हुनुपर्छ ।’

तानसेन नगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सञ्चार मञ्च पाल्पा र कथा मण्डला काठमाडौंले आयोजना गरेको महोत्सवमा कथानक चलचित्र, लघुकथानक चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिएको थियो । समापनमा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले यस्ता महोत्सवका लागि प्रदेश सरकारले नीति, कार्यविधि र कानुन बनाएर हरेक वर्ष बजेट विनियोजन गर्न सके प्रदेशकै पर्यटन प्रवद्र्धन हुने बताए । उनले चलचित्रले धेरैलाई सुसूचित गराउने मात्र नभई ज्ञान बढाउनसमेत सहयोग गर्ने बताए ।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै निर्देशक, निर्माता, कथाकार, कलाकार र दर्शकबीच प्रत्यक्ष संवाद तथा छलफलसमेत गरिएको थियो । चलचित्रको विषयवस्तु, निर्माण प्रक्रिया र सिर्जनात्मक पक्षबारे दर्शकले चलचित्रकर्मीसँग छलफल गर्ने अवसर पाएको तानसेन नगरपालिका वडा ६ का अध्यक्ष सागरमान महर्जनले बताए । चलचित्रकर्मी र दर्शकबीच अनुभव आदानप्रदान गर्नुका साथै नेपाली चलचित्रको विकास र सम्भावनाबारे बहस गर्ने अवसर प्रदान गरेको तानसेन टुरिज्म एक्सन कमिटीका संयोजकसमेत रहेका महर्जनले बताए ।

महोत्सवका क्रममा लुम्बिनी प्रदेशको कला, संस्कृति, पर्यटन र आर्थिक सम्भावनासँग सम्बन्धित विषयमा समेत छलफल गरिएको थियो । वरिष्ठ कलाकार नीर शाह, शर्मिला मल्ल, धिरेन शाक्यलगायतले चलचित्र क्षेत्रसँग सम्बन्धित विषयमा आफ्ना अनुभव र धारणा राखेका थिए । महोत्सवले लुम्बिनी प्रदेशका ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई चलचित्रका माध्यमबाट विश्वसामु चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको सञ्चार मञ्च पाल्पाका महासचिव रेखीराम रानाले बताए ।

चलचित्रका माध्यमबाट कुनै स्थानको इतिहास, संस्कृति र जीवनशैलीलाई प्रभावकारी रूपमा विश्वसामु प्रस्तुत गर्न सकिने भएकाले महोत्सवलाई पर्यटन विकाससँग जोडेर अघि बढाउने योजना बनाइएको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । पहिलो पटक आयोजना गरिएको महोत्सवले पाल्पाको सांस्कृतिक पहिचानलाई फराकिलो बनाउनुका साथै चलचित्र र पर्यटनलाई एकसाथ अघि बढाउने बहस सुरु गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताए ।