क्लासिक कथा: मान्छेको छाउरो



निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा तितो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गो जस्तै ठडिन्छ आकाश छुने गरी-क्याऽइँ… क्वाँ वाँ वाँ वाँ इँ इँ इँ इँ इँ … क्वाँ वॉ वाँ वाँ वाँ वाँ इँ इँ इँ इँ…! यो चीत्कार दोहरिन्छ, तेहरिन्छ, चौहरिन्छ; प्रत्येक पटक अरु सघन, अऊ तिखो, अझ अग्लो भएर कराउँछ यो आवाज ।
किस्नेलाई यो मन पर्दैन ।
ढोका बाहिर चिसो सडकमा नाङ्गो आकाश मुन्तिर जरुवा पानी झैँ यो आवाज भुलभुल उम्रेको छ, प्रत्येक पछिल्लो क्षणमा झाँगिँदो छ र किस्ने ढोकाभित्र रेस्ट्राँको चिसो छिँडीमा शीताङ्ग छ । विचित्र किसिमको जाडोले ऊ काम्दो छ । उसका पैताला भुइँ जति चिसा छन्; औँलाका टुप्पामा ठिही छ । अनि घुँडामा एक किसिमको दुखाइ छ । जति बढी चिसिँदै गयो, त्यो दुखाइ उति बढी हुँदै जान्छ । उसलाई पनि एक पटक त्यही कुकुरको छाउरो जस्तो गरी कराउन मन लाग्छ । तर सक्दैन किनभने ऊ मानिसको छाउरो हो र ऊ ढोकाभित्र छ ।
रेस्ट्राँ बाह्र बजे बन्द भयो होला । तिनटा ऊ जस्ता मसिना भुरा केटाहरू तिनटा लाठे कुकहरूसँगै गए । तिनीहरू कुकहरूकै डेरामा कुकहरूसँगै सुत्छन् । चौथो कुकसँग ऊ सुत्दथ्यो, जसले एक महिना अगाडि मात्रै एउटी र… सँग बिहा गरेको छ । अतः किस्नेको ठाउँ स्वतः त्यस र…ले लिएकी छ । यसरी हाल ऊ रेस्ट्राँमा सुत्ने गर्छ, एक्लै । काठमाडौँमा उसको जाडोको यो दोस्रो अनुभव हो । पोहोरको हिउँद उसले पल र जूलीसँग सुतेर बितायो । पल एउटा फ्रेन्च हिप्पी र जूली एउटी डच हिप्पिनी । उसको पहाडमा यस्तो बिधि जाडो हुँदैनथ्यो । पोहोर दशैँ ताक ऊ यहाँ सडकमा सुतेर बिताउँथ्यो तैपनि यस्तो जाडो लागेको थिएन । कुकुरको छाउरो किन त्यसरी कराएको हँ ? भौलि बिहानसम्म पक्कै मर्छ क्यार । कि ढोका खोलिदिने हो ? (अब छाउरो धेरै चोटि क्वाइँ क्वाइँ नगरेर थोरै चोटि तर धेरै लामू समयसम्म र जोडसँग क्वाँ… इँ… क्वाँवा… इँ… गर्न लागेको थियो ।)
घरबाट भाग्दा ऊ माग्ने हात र खाने मुख मात्रै बोकेर आफ्ना खुट्टामा सवार भएर भागेको थियो, मूलबाटै मूलबाटो । उसलाई थाहा थियो, सुनिरा’को थियो, पढेलेखेका ठिटाहरू नेपाललाई ‘काठमाडौँ’ पनि भन्छन्, खुब बयान गर्छन् । अतः उसले ‘तिन सहर नेपाल’ जाने मूलबाटो समायो । उसले धुलिखेललाई ‘नेपाल’ भनी ठान्यो, बनेपालाई ‘नेपाल’ भनि ठान्यो, ठिमीलाई ‘नेपाल’ भनी ठान्यो । नयाँसडक आइ पुगेपछि चाहिँ सक्कली ‘नेपाल’ आउनै छ भनि ठान्यो ।
धुलिखेल आइपुग्दा ऊ दुई दिनको भोको थियो र एउटा होटेलमा भाँडा माझ्न थाल्यो, अहिले पल्टिरहेको होटेल उसले काम गरेको अठारौं होटेल हो । बीचमा छ महिना जति ढाक्रे थियो । दुई महिना माग्ने पेसा अपनायो । वसन्तपुरको पेटीमा सुत्यो । हिप्पी वा टुरिस्ट देखेपछि सबै भुरा जस्तै ऊ पनि हात फैलाएर पछि लाग्यो-
नो पापा
नथिङ टु इट
हँग्री : प्लीज ।’
किस्ने अझ सेलाउँदै जान्छ । सुत्ने बेलामा उसले आफूलाई रनक्कै तताएको थियो । गाँजा चरेसको धुवाँले, बिहानदेखि सल्किरहेका हिटरको साटो काम लिइएका चार-पाँच ओटा दमचुलीको मकलले, मान्छेको भीडले पनि कोठा केही तातै थियो । सुत्ने बेलामा उसले जम्मै मकलका गोल निथारपिथार पारेर एउटैमा खन्याएर भुङ्ग्रो चम्काएको थियो र हातखुट्टा सबै तताएको थियो । त्यही रन्कोमा ऊ दुई-तीन घण्टासम्म निदायो पनि तर अहिले ब्यूँझेको छ । … सायद छैन । उसले यो निधो गर्न सकेको छैन, ऊ निदाएको छ वा ब्यूँझै छ । बिहान सात बजे मालिक ओर्लन्छ । त्यति बेलादेखि राति बाह्र-एक बजे मात्रै कामको जुवा काँधबाट ओर्लन्छ । दिउँसो ग्राहकको भिड अलि कम्ती हुन्छ र त्यस बेला मालिकको, साथी बेराहरूको, कुकहरूको आँखा छलेर उड्नसम्म पाइन्छ । अनि, कहिल्यै अघाउन्जेल सुत्न नपाएको निद्रा, थकाइ र आलस्यको बोझले गर्दा जति जाडो भए पनि, जति चिसो भए पनि ऊ राम्रै ब्युँझेको छैन । तर ऊ छाउरो रोएको तितो स्वर अवश्य सुनिरहेछ र बिथोलिइरहेछ । ढोका खोलेर त्यसलाई भित्र हुलूँ कि नहुलूँ ? दोधारमा छ ।
उसलाई थकाइ, निद्रा र आलस्यभन्दा चिसो र ब्यूँझाइले जितेछ क्यार, सिरानमुनिबाट उसले एउटा चरेस भएको चुरोट झिक्छ, जुन आज दिउँसो उसलाई बयाथी भन्ने अङ्ग्रेज हिप्पिनीले दिएकी थिई । सल्काएर सुइँसुइँ तान्न थाल्छ ।
पल यो हिउँदमा, नोभेम्बरमै फेरि आउँछु भनेर गएको हो, क्रिसमस भइसक्यो, तर आएन । पलसँग दोस्ती भएपछि ऊ पलसँगै सुत्न लाग्यो । पलसँगै खान । पलसँगै डुल्न । पलले उसलाई बालगिरीको होन्डामा बाह्रबिसे डुलाउन पनि लगेको थियो । पल नाङ्गै सुत्थ्यो । मागेर हिँड्ने ताका गाँजा खान, चरेस खान उसले पलसँगै सिकेको हो । पल भन्थ्यो– “म तँलाई माया गर्छु ।”
जूलीले पनि उसलाई महिनौँ आफ्नू कोठामा सुताएकी छ, आफूसँगै; तर जूली नाङ्गै सुत्दिन । एक दिन मध्यरातमा कुन्नि कताबाट औभ आइ पुगेपछि जूलीले उसलाई निकालि दिएकी थिई ।
ऊ त्यही चुरोटसँग जोडेर चरेस भरेको अर्को चुरोट सल्काउँछ । चरेसको मातले उसको टाउको घुमाउन थाल्छ । उसलाई लाग्छ, ऊ आफ्नू ओछ्यानबाट केही उचालिँदै छ । बाहिर छाउरो कराउँदै छ । जूलीले भनेकी थिई- ‘चरेसले सोझै स्वर्गमा पुऱ्याउँछ, धरती रूपी नर्कमा बस्नु पर्दैन’, यो उसले अरूसँग अर्थ लाइ मागेर जानेको । उसले जान्ने अङ्ग्रेजी त ‘यस’ र ‘नो’ अनि अलि अलि टाकनटुकन मात्रै हो । सोच्यो, ऊ स्वर्गतिर जाँदै छ, छाउरो रुँदै छ । उसले आफ्नी आमा सम्झ्यो, जूली पनि उसलाई कता कता आमा जस्तै लाग्थी । उसलाई मायाले टाँस्थी पनि । एक जोर दोचा किनिदिएकी थिई ।
ऊ पन्ध्र सालको अनिकालमा जन्मेको थियो रे, जन्मेकै वर्ष बाबु खसेको र पच्चिस सालमा आमा पोइल गएपछि झड्केलो बाबुको कुटाइ खाएको बेहोसीमा दशैँको मुखमा घर छोडेर भागेको थियो ।
तर भोलि मालिकले गाँजाको गन्ध पायो अर्थात् उसले गाँजा चरेस खान्छ भन्ने थाहा पायो भने त्यस रेस्ट्राँबाट पाकेको तलब छाडेर निस्कनु पर्छ भन्ने बिर्संदैन, किनभने उसले यही अपराधको दण्ड स्वरूप हरेक रेस्ट्राँबाट निकालि मागेको हो ।
ठुटो राम्रोसँग निभाएर फ्याँकिदिन्छ, तर ऊ ठुटो फ्याँक्न झट्कारेको हात फर्काउन सक्ने स्थितिमा हुँदैन चरेसको मातले गर्दा ।
उसको जिभ्रोमा चरेसको तितो तितो स्वाद आइ रहेको हुन्छ । घाँटी सुकेको हुन्छ ।








प्रतिकृया दिनुहोस्