आजदेखि गुलरियामा रात्रीकालीन क्रिकेट हुँदै



बर्दिया–आइतबार (आज) देखि बर्दियाको जिल्ला सदरमुकाम गुलरियामा रात्रीकालीन क्रिकेट प्रतियोगिता हुँदै छ । बर्दिया युथ स्पोट्स क्लब, गुलरियाको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ
आयोजकका अनुसार, असोज १८ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बर्दियाका विभिन्न स्थानसँगै बाँकेको खजुराबाट समेत गरी २२ वटा टोलीले सहभागिता जनाउनेछन् । गुलरिया नगरपालिका–स्थित तुलापुरको कभर्डहल मैदानमा प्रत्येक दिन साँझ ७ बजेदेखि राति १२ बजेसम्म प्रतियोगिता सञ्चालन गरिनेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले २५ हजार रुपैयाँ पाउने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताकै ‘म्यान अफ द टुर्नामेन्ट’ घोषित हुने खेलाडीले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
क्लबका अध्यक्ष मेहमुद अली मनिहारले प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जनाए । रातिको समयमा खेल सञ्चालन गर्न कभर्डहलमा आवश्यक विद्युतीय उपकरण जडान गरिएको छ । विद्युत् अवरुद्ध भएको अवस्थामा खेल प्रभावित हुन नदिन जेनेरेटरको समेत व्यवस्था गरिएको छ ।
रात्रीकालीन प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै क्रिकेटप्रति युवाको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा आयोजकले गरेका छन् ।








प्रतिकृया दिनुहोस्