लुम्बिनी प्रेस क्लबद्वारा व्यवसायिक पत्रकारिता र क्षमता विकासमा जोड



भैरहवा– रुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रेस क्लबले आफ्ना सदस्यको क्षमता विकासमा जोड दिने निर्णय गर्दै व्यवसायिक पत्रकारितालाई थप परिस्कृत गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । क्लबको शनिवार भैरहवामा सम्पन्न दशौं साधारणसभामा बोल्दै पूर्वअध्यक्ष, सल्लाहकार, क्लबका अध्यक्ष लगायतले संस्थागत विकाससँगै सदस्यको क्षमतामा विकास र व्यवसायिक पत्रकारितामा जोड दिएको हो ।
लामो समयदेखि संस्थागत विकासमा काम गर्दै आएको संस्थाले आफ्ना सदस्यलाई पत्रकारिताका नयाँ आयामबारे जानकारी गराउँदै प्रविधिमैत्री तुल्याउने साधारणसभाले निर्णय गरेको क्लबका अध्यक्ष कमल रायमाझीले बताए । स्थापनाको १२ वर्ष पुग्नै लाग्दा संस्थाको रुपन्देहीको मायादेवी–८ मा आफ्नौ भवन छ । उक्त भवन चालु आर्थिक वर्षभित्र पूर्णता प्राप्त गरिसक्ने अध्यक्ष रायमाझीले जानकारी दिए ।
साधारण सभा उद्घाटन गर्दै क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार माधव ढुंगानाले निकै कष्टसाथ जन्माएको संस्था हुर्किएर किशोर अवस्थामा पुगेको देख्दा गर्व अनुभूति हुने गरेको बताए । ‘लुम्बिनी प्रेस क्लब अब जिल्लामा मात्र सिमित छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त गरिसकेको संस्थाका हरेक सदस्यले अनुशासन पालना गर्नुपर्छ । हाम्रा व्यवहारले संस्थाको प्रतिनिधित्व गर्ने हुँदा सधैं सचेत भएर अगाडि बढ्नुपर्छ ।’ उनले संस्थागत विकास, व्यवसायिक क्षमता विकास र वर्तमान परिप्रेक्ष्यअनुसार पत्रकारितालाई पनि परिस्कृत गर्दै लैजानु पर्नेमा जोड दिए ।
देउसी–भैलो आयोजना गरेर सुरुवात भएको प्रेस क्लबले अहिले अन्तर्राष्ट्रिय न्यूज फेष्टिवल, मैत्रीपूर्ण नेपाल–भारत क्रिकेट, मुलुकभर पत्रकारलाई परेका समस्यामा हातेमालो गर्दै आएको छ । ‘विभिन्न समयमा आयोजना गरिने कार्यक्रमका कारण संस्थाको गरिमा उँचो भइसकेको छ,’ लुम्बिनी प्रेस क्लबका सल्लाहकार नरेश केसीले भने, ‘आगामी दिनमा सदस्यको क्षमता विकासलाई ध्यान दिनुपर्छ ।’ साधारणसभामा पूर्व उपाध्यक्ष श्यामशंकर पाण्डे, पूर्व कोषाध्यक्ष राधेश्याम विश्वकर्मा, पूर्वसचिव माधव न्यौपानेले पत्रकारको क्षमता विकासलाई जोड दिन आग्रह गरेका थिए ।
क्लबका सल्लाहाकार कुलमणि ज्ञवालीले संस्थाको गरिमा बृद्धि गर्दै सञ्चारमैत्री गतिविधिलाई निरन्तरता दिनुपर्ने बताए । संस्थाका सदस्यलाई आइपर्ने समस्या कसरी हल गर्न सकिन्छ भन्नेबारे गम्भीर हुन आग्रह गर्दै उनले भने, ‘संस्थाको अक्षयकोषलाई पनि बृद्धि गर्दै लैजानुपर्छ ।’
उपाध्यक्ष दीपेन्द्र बडुवालले क्लबका संस्थापक र सदस्यको निरन्तर योगदानका कारण संस्था अहिलेको अवस्थामा आइपुगेको बताए । ‘अग्रजको योगदानको उचित मूल्यांकन गर्दै क्लबलाई अगाडि लैजानुपर्छ,’ उनले भने, ‘प्रेस क्लबको गरिमालाई सधैं कायम राख्ने प्रमुख चुनौति हो ।’
साधारणसभामा महासचिव प्रकाश न्यौपानेले संगठनात्मक प्रतिवेदन पेश गरेका थिए । भने कोषाध्यक्ष विष्णुप्रसाद भट्टराईले आर्थिक प्रतिवेदन पेश गरेका थिए । महासचिव न्यौपानेका अनुसार गत माघ यताका क्लबका गतिविधि र कार्यक्रम समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको हो । साथैं आगामी दिनका लागि मुख्य एजेण्डा समेत पेश गरिएको थियो ।
‘साधारणसभाले क्लबको कार्यसमितिदेखि साधारण सदस्यले विधान र अनुशासनको पालना गर्ने कुरालाई निर्देशन गरेको छ,’ उनले भने, ‘संस्था व्यक्तिका लागि होइन । विधान अनुसार चल्ने भएकाले सबै क्लबप्रति जिम्मेवार हुनुपर्ने कुरामा साधारणसभाले विशेष निर्देशन गरेको हो ।’ साधारणसभामा गहन छलफलपछि महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको छ । अध्यक्ष रायमाझीले आफ्नो प्रतिवेदन पेश गर्दै संस्थालाई थप मजबुत बनाएर लैजाने प्रतिवद्धता जनाएका थिए ।
साधारणसभामा सल्लाहाकार शारदा मल्ल, शम्भु पन्त, कृष्णप्रसाद ढकाल लगायतले संस्थाको अहिलेसम्मको भूमिका उल्लेखनीय रहेको जनाउँदै आगामी दिनमा थप प्रभावकारी काम गरेर अगाडि बढनुपर्ने बताए । साधारणसभामा करिब ४० जना सदस्यको सहभागिता थियो ।








प्रतिकृया दिनुहोस्