October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

बाको पसिना

Advertisement

गाउँको पुछारमा एउटा सानो घर थियो । घरको आँगनसम्म आइपुग्ने बुढो काभ्रोको रूख थियो । त्यहीँ छहारीमा बसेर हरिप्रसादले धेरै पटक आफ्नो छोराको भविष्य कल्पना गरेका थिए । चलअचल सम्पत्ति धेरै थिएन । थोरै खेत, आकासे पानीको भर पर्ने पाखेबारी, एउटा पुरानो माटेघर र केही थान गाईबस्तु नै परिवारको जीवनको आधार थियो । तर हरिप्रसादले मनमा भने छोराका लागि ठूलो सपना बुनेका थिए । उनी आफूले नपाएको अवसर छोराले पाओस् भन्ने चाहन्थे ।

Advertisement

छोरो सुमन सानैदेखि पढाइमा राम्रै थियो । विद्यालयबाट फर्किएपछि ऊ बाबुसँग दिनभरिका कुरा सुनाउँथ्यो । हरिप्रसाद भने खेतबाट थाकेर फर्किए पनि छोराको कापी हेर्न कहिल्यै अल्छी मान्दैनथे । कहिलेकाहीँ राति बत्ती निभिसकेपछि पनि सुमन पढिरहेको हुन्थ्यो । छोराको अनुहारमा टल्किएको उज्यालो हेर्दै हरिप्रसाद मनमनै भन्थे, “यसले राम्रो पढ्न पायो भने मेरो दुःख खेर जाँदैन ।”

समयसँगै सुमनको पढाइ अगाडि बढ्दै गयो । गाउँमा कलेजको राम्रो व्यवस्था थिएन । शहरमा पढाउनुपर्ने भयो । खर्चको हिसाब गर्दा हरिप्रसाद केहीबेर मौन बसे । घरमा भएको आम्दानीले त्यो खर्च धान्न गाह्रो थियो । अन्ततः उनले आफ्नो खेतको एउटा टुक्रा बेच्ने निर्णय गरे ।

आमाले रोक्दै भनिन्, “त्यही खेतले त हामीलाई पाल्छ ।”

हरिप्रसादले लामो सास फेरे, “खेत फेरि जोडौँला । तर छोराको उमेर फर्केर आउँदैन ।”

त्यो दिन बेचिएको खेतको पैसा सुमनको पढाइमा लाग्यो । सुमन शहर गयो । बाबाले पैसा पठाइरहे । कलेजको शुल्क, किताब, लुगा र बसाइखर्च सबैको हिसाब हरिप्रसादले आफ्नै शरीरसँग मिलाएर राखेका थिए । आफूलाई नयाँ कपडा किन्न नसके पनि छोराका लागि कहिल्यै कमी हुन दिएनन् ।

तर केही वर्षपछि खर्च झन् बढ्दै गयो । सुमनले विदेश जाने कुरा गर्न थाल्यो । उसका साथीहरू विदेश गइरहेका थिए । ऊ पनि ठूलो सपना बोकेर बाबुसामु उभियो ।

“बा, यहाँ बसेर के नै हुन्छ र ? एक पटक विदेश गएँ भने केही वर्षमै राम्रो कमाउन सक्छु ।”

हरिप्रसादले छोराको अनुहार हेरे । उसलाई रोक्ने धेरै कुरा मनमा आए । विदेशमा दुःख हुन्छ भन्ने सुनेका थिए । आफ्नै जीवनमा भोगिसकेका थिए । तर छोराको आँखामा देखिएको सपना देखेर उनले आफ्ना शब्दहरू निले ।

“जाने हो भने राम्रोसँग जा,” उनले भने, “तर जहाँ पुगे पनि आफूलाई जन्माउने माटो र हुर्काउने मान्छे नबिर्सनू ।”

विदेश जाने खर्च जुटाउन फेरि पैसा चाहियो । घरको बाँकी जग्गामध्ये केही बेचियो । वर्षौँ लगाएर जोडेको सम्पत्तिको एउटा ठूलो हिस्सा छोराको हातमा पुग्यो । हरिप्रसादलाई त्यसको दुःखभन्दा छोराको भविष्यको चिन्ता ठूलो थियो ।

सुमन विदेश पुग्यो । सुरुका दिनहरू कठिन थिए । ऊ बाबालाई फोन गरेर आफ्ना दुःख सुनाउँथ्यो ।

“बा, काम साह्रै गाह्रो रहेछ ।”

हरिप्रसाद हाँस्दै भन्थे, “दुःखसँग डराएर त मैले तँलाई यहाँसम्म ल्याएको होइन नि । केही समय सहनू । दिन फेरिन्छ ।”

दिन फेरियो पनि । सुमनको काम राम्रो भयो । आम्दानी बढ्यो । नयाँ साथी बने । राम्रो कोठा भयो । घुमघाम बढ्यो । उसको जीवनमा नयाँ संसार थपिँदै गयो ।

फोन भने बिस्तारै घट्दै गयो ।

पहिले हरेक दिन आउने फोन हप्तामा पुग्यो । त्यसपछि कहिलेकाहीँ । हरिप्रसादले फोन गर्दा पनि धेरै पटक “अहिले व्यस्त छु बा, पछि गर्छु” भन्ने जवाफ आउन थाल्यो ।

त्यो “पछि” कहिल्यै आउँदैनथ्यो ।

उता हरिप्रसादको शरीर कमजोर हुँदै थियो । खेत घटिसकेको थियो । श्रीमती पनि बिरामी भइरहन्थिन् । घर सुनसान जस्तै अनि आँगनमा पहिलेको चहलपहल थिएन । साँझ पर्दा हरिप्रसाद ढोकातिर हेरेर बसिरहन्थे ।

एक दिन उनले सुमनलाई फोन गरे ।

“बाबु, धेरै दिन भयो तेरो आवाज सुन्न नपाएको ।”

उताबाट केहीबेर मौनता आयो ।

“बा, काम धेरै छ । तपाईंले औषधि खानुभएको छ ?”

“खाएँ । तिमी कहिले आउँछौ ?”

“अहिले त गाह्रो छ बा । बिदा मिल्दैन ।”

हरिप्रसादले फेरि केही भनेनन् । “ठीक छ, आफ्नो ख्याल राख्नु,” भनेर फोन राखे ।

त्यस रात उनले पुरानो बाकस खोले । सुमन सानो हुँदा लगाएको विद्यालयको पोसाक त्यहाँ अझै थियो । एउटा पुरानो कापीको पानामा बालकको अक्षरमा लेखिएको थियो—“म ठूलो भएपछि बाबालाई राम्रो घर बनाइदिन्छु ।”

हरिप्रसाद मुस्कुराए । आँखाको कुनामा आएको आँसु हातको पछाडिको भागले पुछे ।

त्यसपछि उनको स्वास्थ्य झन् बिग्रियो ।

छिमेकीहरूले अस्पताल लैजान खोजे । उनले मानेनन् ।

“छोरो टाढा छ,” उनले भने, “उसलाई दुःख नदिऔँ ।”

तर अन्तिम समय कसैको इच्छाअनुसार रोकिँदैन ।

एक बिहान हरिप्रसादको सास रोकियो ।

छिमेकीले सुमनलाई खबर गरे । फोनको अर्को छेउमा केहीबेर ऊ बोल्न सकेन । धेरै वर्षपछि उसले बाबाको आवाज सम्झियो, “जहाँ पुगे पनि आफूलाई जन्माउने माटो र मान्छे नबिर्सनू ।”

यस पटक त्यो आवाज सम्झनामा मात्र थियो ।

सुमन नेपाल आयो । घरको आँगन उस्तै थियो, काभ्रोको रूख उस्तै गरी घरलाई हेरिरहेको थियो, तर बा थिएनन् ।

अन्त्येष्टिपछि ऊ एक्लै बाबाको कोठामा पस्यो । खाटको छेउमा पुरानो चप्पल थियो । भित्तामा झुन्डिएको कमिजमा पसिनाले बनाएका फिक्का दागहरू थिए । टेबलमाथि एउटा पुरानो कागज थियो । उसले उठाएर हेर्‍यो ।

त्यो उसकै विदेश जाने बेलाको खर्चको हिसाब थियो- जग्गा बेचेर आएको रकम, ऋण, कलेजको शुल्क, टिकटको पैसा ।

सबैभन्दा तल बाबाको आफ्नै अक्षरमा एउटा वाक्य थियो- “छोराको भविष्यका लागि खर्चिएको पैसा खर्च होइन ।”

सुमनले कागज हातमा लिएर धेरैबेर टोलाइरह्यो ।

उसले अचानक आफ्नो विगत सम्झियो । बाबाले बेचिदिएको खेत, आफूले नचाहँदा पनि नयाँ जुत्ता किनिदिएको दिन, विदेश जानुअघि बाबाले हातमा राखिदिएको पैसा, बिरामी हुँदा पनि “म ठीक छु” भनेर ढाँटेको आवाज- सबै एकै पटक फर्किए ।

उसले बाबालाई पैसा पठाएको थियो । कहिलेकाहीँ महँगो सामान पनि पठाएको थियो । तर बाबाले चाहेको कुरा कहिल्यै पठाएको थिएन- आफ्नो समय ।

केही दिनपछि सुमनले घरको बाँकी कागजपत्र मिलाउन थाल्यो । बाबाले जोडेको सम्पत्तिको धेरै भाग उसको विदेश जाने खर्च र आफ्नै सुखसुविधामा सकिइसकेको रहेछ । हातमा बाँकी रहेको घर पनि उसलाई अब भारी लाग्न थाल्यो ।

विदेश फर्कने दिन उसले आँगन नजिकैको काभ्रोको रूखलाई हेर्‍यो । बाल्यकालमा त्यही रूखमुनि बसेर बाबासँग उसले संसारका कुरा सिकेको थियो ।

ढोकाबाट निस्कँदै गर्दा उसको आँखा फेरि बाबाको पुरानो चप्पलमा पर्यो । उसले केही क्षण त्यसलाई हेरिरह्यो, तर साथमा लैजान सकेन ।

बस गाउँको बाटो हुँदै तल झर्‍यो ।

सुमनको हातमा विदेशको टिकट थियो । साथमा बाबाले छोडेको केही कागज थियो । तर उसको मनमा एउटै कुरा घुमिरह्यो- बाको पसिनाले बनाएको जीवन उसले पाएछ, तर त्यो पसिनाको मूल्य बुझ्ने समय भने बासँगै सकिएछ । –sahityapost