भैरहवा बहुमुखी क्याम्पसलाई अझ शिक्षामैत्री बनाउँदै लग्ने प्रतिबद्धता



भैरहवा बहुमुखी क्याम्पसका प्रमुख लक्की प्रसाद जोशीले क्याम्पसलाई अझै शिक्षा–मैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शैक्षिक वर्ष २०८३ का लागि व्यवस्थापन संकायमा भर्ना भएका प्रथम वर्षका विद्यार्थीलाई क्याम्पसमा आयोजित स्वागत तथा अभिमूखि कार्यक्रममा बोल्दै जोशीले क्याम्पसमा विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको बताए । क्याम्पसको शैक्षिक पक्षमा कुनै समस्या वा कमजोरी देखिए प्रशासनलाई जानकारी गराउन आग्रह गर्दै उनले २०२४ सालमा स्थापना भएको क्याम्पसले स्वर्ण महोत्सव पनि मनाएको बताए ।
क्याम्पसबाट बिगतमा उतीर्ण भएका विभिन्न बिद्यार्थी बर्तमान अवस्थामा उद्योग व्यवसाय र उच्च ओहदाका कर्मचारी लगायत्का क्षेत्रमा रहेर राष्ट्रका लागि ठूलो योगदान पुर्याउँदै आएको उनले उल्लेख गरे । क्याम्पसमा उत्कृष्ट भएका कतिपय बिद्यार्थीलाई रोजगारीको प्रबन्ध समेत क्याम्पसले मिलाइदिएको भनाइ उनको थियो ।
एमबीएका निर्देशक डा.सहदेव भट्टले विगतमा भैरहवा बहुमुखी क्याम्पसमा पढाइ राम्रो हुँदैन भन्ने कुरा आफूहरूले सुन्ने गरेको भए पनि अहिले क्याम्पस उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास भएको दाबी गरे ।
विद्यार्थी कल्याण प्रमुख अरुणा भुसाल तिवारीले विद्यार्थीका समस्या समाधानका लागि क्याम्पस सदैव तयार रहेको बताइन् । क्याम्पसले विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गर्दै आएको भनाइ उनको थियो ।
क्याम्पसमा विगत ४५ वर्षदेखि व्यवस्थापन संकाय अन्तर्गत बीबीएस कार्यक्रम सञ्चालन हुँदै आएको छ । चार वर्षे बीबीएस अध्ययन पूरा गरेपछि विद्यार्थीले सोही क्याम्पसबाट उच्च शिक्षा अध्ययन गर्ने अवसरसमेत पाउने क्याम्पसले जनाएको छ । क्याम्पसमा स्नाकोत्तर एमबीएस, एमबीएम र एमबीए लगायतका कार्यक्रम सञ्चालनमा छन् ।
बिद्यार्थी स्वागत तथा अभिमूखिकरण कार्यक्रममा कार्यक्रम संयोजक तथा सहायक क्याम्पस प्रमुख दिवाकर पाण्डे, विभागीय प्रमुख उपप्राध्यापक रामराज शर्मा, एमबीएका निर्देशक प्रकाश भट्टराई, बीबीएका निर्देशक उज्वल अधिकारी, सहायक क्याम्पस प्रमुख गणेश पाण्डे लगायत्ले बिद्यार्थीलाई उच्च शिक्षा सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा नृत्य प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।








प्रतिकृया दिनुहोस्