लुम्बिनीमा पदाधिकारी नियुक्ति कहिले ?



भैरहवा– नियुक्ति खारेजी भएको पाँच महिनासम्म पनि बुद्ध जन्मस्थलस्थित लुम्बिनी विकास कोष पदाधिकारीबिहीन छ । सरकारले नियुक्ति खारेजी गरे पनि समयमै पदाधिकारी नियुक्ति गर्न सकेको छैन । यसले विश्व समुदायमा शान्ति र अहिंसाको छाप छोडिरहेको लुम्बिनीप्रति सरकारी बेवास्ता कति छ भन्ने पुष्टि गरेको छ ।
सरकारले अन्य निकायमा धमाधम नियुक्त गरिरहेको छ । तर, बुद्ध जन्मस्थल लुम्बिनी जस्तो पुरातात्विक र ऐतिहासिक ठाउँमा भने अझै नेतृत्व चयन गर्न सकेको छैन । नयाँ सरकार बनेपछि कोषमा नियुक्तिका लागि आवेदन माग गरिएको थियो । त्यसबेला ७ सय जनाले कोषको पदाधिकारीमा नियुक्तिका लागि आवेदन दिएका थिए ।
आवेदनकर्ता थाकिसक्दा समेत नयाँ नियुक्ति गरिएको छैन । यसले कोषको पदाधिकारी छनोटमा पुनः चलखेलको आशंकालाई बलियो बनाएको छ । लुम्बिनी बासिन्दाले सरकारी ढिला सुस्तीलाई लिएर आलोचना सुरु गरेका छन् ।
स्वच्छ व्यक्ति नियुक्त गरियोस् भनेर लुम्बिनी बचाउ महाअभियानले साढे दुर्ई महिनादेखि स्थानीय तहदेखि संघीय सरकारसम्म दबाब दिइरहेको छ । केही दिन अघि संसदमा बोल्दै रुपन्देही–४ का सांसद कन्हैया बनियाले कोषमा योग्य व्यक्ति नियुक्ति गर्न सरकारसँग गरेका थिए । उनले यस्तो नियुक्तिमा स्थानीयलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।
कोष नेतृत्वविहीन हुँदा नियमित कामसँगै नीतिगत निर्णय, दीर्घकालीन योजना तथा वार्षिक बजेट कार्यान्वयनसमेत प्रभावित भएको कर्मचारीहरु बताउँछन् । गत वैशाख १९ गते सरकारले जारी गरेको सार्वजनिक पदाधिकारीको विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै कोषका पदाधिकारी पदमुक्त भएका थिए ।
कोषका वरिष्ठ प्रशासनिक अधिकृत ज्ञानिन राईले निमित्त सदस्यसचिवको जिम्मेवारी निर्वाह गरिरहेका छन् । कामचलाउ परिषद्को संरचना पनि मन्त्रालयले बनाएको छ । निमित्त सदस्यसचिव राईले मन्त्रालयले छिट्टै पदाधिकारी नियुक्त गर्ने विश्वास व्यक्त गरे ।
उनले आफूहरुले कानूनको अधिनमा रहेर दैनिक कार्यसम्पादन गरेको बताए । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीका साथै बृहत् लुम्बिनी क्षेत्रअन्तर्गत पर्ने नवलपरासी पश्चिमको रामग्राम स्तुपा, रुपन्देहीको देवदह तथा कपिलवस्तुका तिलौराकोट, कुदान, निग्लिहवा, सगरहवा, गोटिहवा लगायतका महत्त्वपूर्ण बौद्धस्थलको संरक्षण, विकास तथा नियमन गर्दै आएको छ । महत्वपूर्ण धार्मिक तथा पुरातात्विक क्षेत्रको संरक्षण र व्यवस्थापनको जिम्मेवारी पाएको संस्थामै लामो समयदेखि पदाधिकारी नहुँदा नीतिगत काम प्रभावित भएको हो ।
गत हप्ता लुम्बिनी आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेश)ले आवेदकहरुबाटै पदाधिकारी नियुक्ति गरिने जनाउँदै छिट्टै टुंगिने बताएका थिए । उनले सरकारले लुम्बिनीको महिमा बुझेको र व्यवस्थापकीय क्षमता भएको योग्य व्यक्ति नियुक्त गर्ने भएकाले ढुक्क हुन आग्रह गरेका थिए । मन्त्री पौडेलले यस्ता आश्वासन दिए पनि कोषमा पदाधिकारी नियुक्ति प्रक्रिया भने गुपचुप छ । जसले गर्दा कस्तो व्यक्ति कहिले नियुक्ति हुन्छन् भन्ने आशंका पैदा गरेको छ ।
यसअघिका पदाधिकारीकै कारण लुम्बिनी लामो समय अशान्त थियो । पछिल्लोपटक निमित्तको भरमा संचालन हुन थालेको कोषमा अहिले कुनै विवाद छैन । पदाधिकारीले दलअनुसार आफूखुशी गर्दा यहाा सधैं विवाद हुन्छ । तर, राजनीतिककरण नहुँदा शान्त हुने गरेको छ ।








प्रतिकृया दिनुहोस्