भैरहवाको सामुदायिक कृषि बजार भद्रगोल, उपभोक्ता र व्यवसायी हैरान



भैरहवा– चार महिनादेखि सामुदायिक कृषि बजार (हाटबजार) का रूपमा सञ्चालन हुँदै आएको भवन व्यवस्थित नहुँदा सर्वसाधारण उपभोक्ता र व्यवसायीले अनेक खालका सास्ती खेप्न बाध्य भएका छन् ।
सिद्धार्थनगर नगरपालिकाद्वारा करोडौँ रुपैयाँको लगानीमा नगरपालिकाको कार्यालय सामुन्नेमै सञ्चालनमा ल्याइएको उक्त भवनलाई आवश्यकताअनुसार पूर्वाधार तथा संरचना तयार पारी व्यवस्थित बनाउनेतर्फ नगरपालिकाको ध्यान जान सकेको छैन ।
यतिसम्म कि, उक्त कृषि बजारका बारेमा प्रतिक्रिया लिन खोज्दा नगरपालिकाका जनप्रतिनिधिदेखि जिम्मेवार कर्मचारीसम्म पन्छिन खोज्ने प्रवृत्तिले उक्त भवनप्रति नगरपालिकाको चासो कस्तो छ भन्ने कुरालाई छर्लङ्ग पारेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले उक्त सामुदायिक कृषि बजार कहाँ लाग्छ भन्ने आफूलाई जानकारी नभएको बताए । ‘म नगरपालिकामा नयाँ नै छु, त्यसैले यसबारेमा थाहा भएन,’ उनले भने । उनले सिद्धार्थनगरमा असोज ५ गतेदेखि आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।
हाटबजार लागेको दिन दैनिक हजारौँ सर्वसाधारण उपभोक्ता र सयौँ व्यवसायीबीच व्यावसायिक कारोबार हुने गरेको विशाल सामुदायिक कृषि बजार भवन अव्यवस्थाको नमूना बनेको छ । भवन दिनप्रतिदिन अव्यवस्थित बन्दै गएको छ ।
भवनमा आवश्यक संरचना तथा पूर्वाधार तयार पार्नेतर्फ ध्यान दिनु त परै जाओस्, आइतबार र बिहीबार मात्र हाटबजार सञ्चालन हुने उक्त भवनको उचित संरक्षण र व्यवस्थापन गर्नेतर्फ पनि नगरपालिकाको ध्यान गएको छैन ।
उक्त भवनलाई व्यवस्थित ढंगले सञ्चालन गर्न वडा अध्यक्षकै संयोजकत्वमा समितिसमेत निर्माण गरिएको थियो । तर उक्त समितिको प्रभावकारिता पनि नगरवासीले अनुभूति गर्न पाएका छैनन् ।
‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड भएको भवनमा आवश्यक मर्मतसम्भारसमेत नगरी बजार सञ्चालन भइरहेको छ । करोडौँको लगानीमा निर्मित उक्त भवनको संरक्षणमा ध्यान नदिँदा अहिले विभिन्न भागबाट पानी चुहिने गरेको छ । वर्षातको समयमा भवनभित्र जलमग्न हुने गरेको छ ।
नगरपालिकाका इन्जिनियर तथा प्राविधिकको समेत यसतर्फ ध्यान गएको छैन । ठूला–ठूला परियोजना तथा योजनामा मात्रै उनीहरूको ध्यान केन्द्रित रहने गरेको नगरवासीको आरोप उनीहरूमाथि लाग्दै आएको छ ।
भवनको ग्राउन्ड फ्लोरमा सवारीसाधन पार्किङका लागि छुट्टै स्थान भए पनि सोही स्थानमा समेत बजार सञ्चालन हुने गरेको छ । पार्किङ तथा बजारका लागि पर्याप्त व्यवस्थापन नहुँदा आवतजावतमा समस्या हुने गरेको छ । गर्मी याममा किनमेल गर्न पुग्ने उपभोक्ता तथा व्यवसायी पसिना पुछ्दै सामान खरिद–बिक्री गर्न बाध्य हुँदै आएका छन् ।
गत आइतबारको हाटबजारको अवस्था झनै अस्तव्यस्त र भद्रगोल थियो । तीन दिनदेखि परेको अविरल वर्षाका कारण हाटबजार परिसरमा पानी पसेपछि बजार नै प्रभावित भएको थियो । पानीबाट जोगिन कतिपय उपभोक्ताले आफूले लगाएका कपडा सार्दै किनमेल गरिरहेका थिए ।
भवनमा बिजुली जडान गरिएको छ । तर विद्युत् आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक बत्तीको व्यवस्था नहुँदा भवन अन्धकारमय हुने गरेको छ । भवनमा सरसफाइ नहुँदा यत्रतत्र फोहोर थुप्रिएका छन् । खानेपानीको समेत कुनै व्यवस्था छैन ।
नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ केही दिनदेखि जारी नेपाली कांग्रेसको महाधिवेशनको तयारी तथा विभिन्न कार्यक्रमका कारण नगरपालिकामा सहज रूपमा भेटिँदैनन् । नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले उक्त भवनलाई व्यवस्थित बनाउन पालिकासँग बजेट नभएकाले प्रदेश र केन्द्र सरकारको मुख ताकेर बसेको प्रतिक्रिया दिइन् ।
सूचना अधिकारी देवप्रसाद ज्ञवालीले प्रतिक्रिया दिन सकभर उम्किने प्रयास गर्दै अन्यसँग जानकारी लिन आग्रह गरिरहे । हाटबजार आसपासमा हुने भीडभाड र अव्यवस्थित पार्किङका कारण सडकसमेत जाम हुने गरेको छ । विशेषगरी ई–रिक्साको अनियन्त्रित आवागमन र पार्किङका कारण अन्य सवारीसाधनलाई आवतजावत गर्न समस्या हुने गरेको छ ।
हाटबजार लाग्ने दिन नगरपालिकाकै सामुन्नेको सडक अवरुद्ध हुँदा ठूलो संख्यामा भर्ना गरिएका नगर प्रहरीको उपस्थिति सडकमा देखिँदैन । सडक अवरुद्ध हुन नदिन उनीहरूको परिचालन गरेको देखिँदैन ।








लेखकको सम्वन्धमा