बुटवल–गोरुसिंगे सडक निर्माण २८ प्रतिशत मात्रै, समयमै सक्न चुनौती



भैरहवा– निर्धारित मिति नजिकिँदै जाँदा समते पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाको काम सुस्त गतिमा छन् । सम्झौता अवधिको करिब ६० प्रतिशत समय बितिसक्दा आयोजनाको भौतिक प्रगति भने २८ प्रतिशत मात्रै छ । बाँकी अवधि अब १४ महिनामात्रै छ । तर, यो अवधिमा सकिने सम्भावना किनै न्युन छ ।
२०८१ कार्तिकमा ठेकदार कम्पनीसँग तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी आयोजाको सम्झौता भएको थियो । सोहीअनुसार २०८१ माघ १० गते आयोजनाको शिलान्यास भयो । सम्झौताअनुसार २०८४ साल कार्तिकसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने अवधि छ ।
आयोजनाका सूचना अधिकारी इन्जिनियर अशोक पौडेलले समयावधिमै सक्न कठिन रहेको बताउँछन् । ‘कहिले विटुमिन, कहिले नदीजन्य पदार्थ, कहिले माटो नपाउँदा समस्या भयो’, उनले भने, ‘यही कारण पनि समयावधि पछि धकेलिने देखिएको छ ।’ उनका अनुसार पछिल्लो समय कामको गति बेही बढेको छ ।
निर्माणाधीन ५० किलोमिटर सडकलाई दुई भागमा विभाजन गरेर काम भइरहेको छ । रुपन्देही र कपिलवस्तुतर्फ २५–२५ किलोमिटर क्षेत्रमा निर्माण भइरहेको आयोजनाले जनाएको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँमा ठेक्का लिएर सडक विस्तारको काम गरिरहेका छन् ।
कुल ६९ किलोमिटर लामो बुटवल–चन्द्रौटा सडकखण्डमध्ये हाल गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटर क्षेत्रमा निर्माण भइरहेको छ । बाँकी १९ किलोमिटर सडकको विस्तार प्रक्रिया पनि अघि बढाउने तयारी गरिएको छ । सडक विस्तार आयोजनाअन्तर्गत अहिले पुल, कल्भर्ट, भेहिकल अन्डरपास, नाली, एनिमल क्रसिङ तथा विभिन्न प्रकारका रिटेनिङ वाल निर्माणको काम भइरहेको छ ।
रुपन्देहीतर्फ जीतगढी–बेलबास चोक, नयाँगाउँ, तामनगर, सैनामैनाको मुर्गिया बजार र बुद्धनगरमा ‘भेहिकल अन्डरपास’ निर्माण भइरहेको छ । त्यस्तै कपिलवस्तुको चार नम्बर जीतपुर चोकमा पनि अन्डरपास निर्माणको काम जारी रहेको आयोजनाले जनाएको छ ।
आयोजनाका सूचना अधिकारी इन्जिनियर पौडेलका अनुसार कपिलवस्तुमा निर्माण गर्नुपर्ने १० वटा पुलमध्ये ९ वटा निर्माणाधीन अवस्थामा छन् । रुपन्देहीमा निर्माण गर्नुपर्ने ६७ वटा कल्भर्टमध्ये ५६ वटाको निर्माण कार्य जारी छ ।
त्यस्तै रुपन्देही र कपिलवस्तुमा निर्माण गर्नुपर्ने १८ वटा एनिमल क्रसिङमध्ये १६ वटा निर्माण सम्पन्न भइसकेका छन् । बाँकी दुई वटाको पनि निर्माण कार्य भइरहेको छ । रुपन्देही खण्डको भौतिक प्रगति २८ प्रतिशत र वित्तीय प्रगति करिब २३ प्रतिशत पुगेको छ । हाल दैनिक ४५० देखि ५०० जनासम्म मजदुर परिचालन गरेर निर्माणको काम भइरहेको छ । निर्माण सुरु भएको समयमा करिब ९ सय मजदुर परिचालन गरिएको थियो, तर बिचमा इन्धन तथा अन्य निर्माण सामग्रीको अभाव र लागत वृद्धिका कारण मजदुरको संख्या घटाएर १५० देखि २०० जनासम्ममा सीमित गरिएको थियो ।








प्रतिकृया दिनुहोस्