पहिरोको जोखिममा रहेका २० परिवारलाई स्थानान्तरण गरियो



पाल्पा– जिल्लाका ग्रामीण क्षेत्रमा अझैं बाढी पहिरोको जोखिम घटेको छैन । अधिकांश बस्ती चिरा परेकाले जोखिम रहेको छ । सदरमुकाम तानसेन–६, पानीटंकी टोल हुँदै सिद्धार्थ राजमार्गसम्मको जमिन चिराचिरा परेको छ । जसले गर्दा स्थानीय बासिन्दा रातदिन त्रासमा बाँचिरहेका छन् ।
चार दिनदेखिको निरन्तर वर्षाले पाल्पाका तानसेन, मदनपोखरा, रामपुर र माथागढीको झडेवा देउगिरमा गरी ६८ घरपरिवार पहिरोको जोखिममा परेका छन् । अधिकांश मोटरबाटो खनेका स्थानमा पहिरो खसेपछि बस्ती जोखिममा परेका हुन् । जमिनसँगै बसोबास गरिरहेका घरसमेत चिराचिरा परेपछि केही परिवार आफन्तको घरमा बसेका छन् भने कतिपय चर्किएकै घरमा बस्न बाध्य छन् ।
तानसेन–६ को जैसीचौपारीमा १४, तानसेन–९ को डाँडाडुममा ११, माथागढी गाउँपालिका–४ को झडेवा देउगिरमा २४ र रामपुर नगरपालिका–१० को होस्दीमा १९ घरपरिवार पहिरोको जोखिममा परेका हुन् । माथागढी–४ को देउगीर बगाले बस्तीका २४ घरपरिवार पनि त्रसित छन् । गाउँपालिका अध्यक्ष यमबहादुर चिदीका अनुसार बस्तीमा घर र जमिन दुवै चर्किएका छन् ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पठाएको प्रारम्भिक विवरणअनुसार असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बस्ती जोखिममा पर्नुका साथै मानवीय तथा भौतिक क्षति भएको हो । वर्षा र त्यसबाट उत्पन्न विपद्का कारण ३३ घरमा क्षति पुगेको छ भने ६८ घर जोखिममा छन् । १० गोठमा क्षति पुगेको छ भने थप आठ गोठ जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले जानकारी दिए । ‘३३ मध्ये १० घरचाहिँ पूर्णरुपमा क्षति भएको छ,’ उनले भने,‘बस्नै नमिल्ने भएको छ ।’
विपद्का कारण जोखिममा परेका २० परिवारका ९० जनालाई सुरक्षित स्थानमा सारिएको पाण्डेयले बताए । प्रशासनले भने जिल्लाका विभिन्न पालिकाबाट विवरण संकलन भइरहेको जनाएको छ । ‘क्षतिको पूर्ण विवरण अझै आएको छैन,’ पाण्डेयले भने, ‘सबै पालिकामा माग गरेका छौं । केही दिनमा तथ्यांक आउला । त्यसपछि विपद्को बैठक बसेर थप निर्णय गरिनेछ ।’








प्रतिकृया दिनुहोस्