November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

डुबान पीडित सुस्ताका बासिन्दा एक सातापछि घर फर्किए

Advertisement

परासी– नारायणीको बाढी पसेर बस्तीमा डुबान भएपछि विस्थापित पश्चिम नवलपरासीस्थित सुस्ताका बासिन्दा एक सातापछि घर फर्किएका छन् । नारायणीमा पानीको सतह कम भएपछि उनीहरु बस्तीमा फर्किएका हुन् ।

Advertisement

जिल्ला प्रशासनका अनुसार सुस्ता डुबानमा परेपछि त्यहाँका १ हजार ४ सय ५१ जनामध्ये १ हजार २८ जनालाई उद्धार गरेर नारायणी वारि रहेको बीपी माविमा राखिएको थियो । भारतसित जोडिएको सुस्तामा प्रत्येक वर्ष डुवान हुँदैं आएको छ । त्यसैले वस्ती जोगाउन नारायणीमा तटबन्धको काम भइरहेको छ ।

सुस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टका प्रहरी निरीक्षक टेकबहादुर घर्तीले उद्धार गरेर नारायणी नदीपारि लगिएका सबै परिवार बस्तीमा फर्किएको बताए । होल्डिङ सेन्टरमा रहेका थारू टोलका ७५ परिवार अझै त्यहीँ रहेका छन् । थारू टोलका अधिकांश घर बाढीको डुबानमा परेर भत्किएको र बस्न योग्य नभएका कारण थारू टोलका बासिन्दा अझै होल्डिङ सेन्टरमै आश्रय लिइरहेका छन् ।

सुस्ताका २ सय १० घरमध्ये अधिकांश घर डुबानमा परेका थिए । नारायणीको भेल सोझै सुस्तामा पस्दा कतिपय फुसका छाना भएका घरको छानासम्म बालुवाले पुरिएर बस्न नसकिने अवस्था रहेको छ । घर फर्केकाहरू पर्म लाएर सरसफाइमा लागेका छन् । अधिकांश घरभित्र नदीको बालुवा पसेका कारण स्थानीय बालुवा निकाल्न र सरसफाइ गर्न तल्लीन रहेको सुस्ताका मुन्सी हरिजनले बताए ।

‘धेरै घरको छानासम्म बालुवाले भरिएको छ,’ मुन्सीले भने, ‘खेतीबाली, अन्नपात, गोठसमेत काम नलाग्ने अवस्थामा छन् ।’ गत १० र ११ गते सुस्तामा नारायणी नदी पसेपछि सशस्त्र, नेपाली सेना र प्रहरीले सुस्ताका १,०२८ जनालाई डुंगामा राखेर र बोकेर साढे २ किलोमिटर पश्चिममा रहेको बीपी माविमा लगेका थिए । अन्य धेरै परिवार सुस्तामै रहेको होल्डिङ सेन्टर (अग्लो स्थानमा निर्मित सरकारी आवास) मा राखिएको थियो ।

सुस्ता गाउँपालिका वडा नम्बर ५ सुस्ता गाउँमा २ सय १० घरपरिवारमा १,४५१ जनाको बसोवास रहेको छ । सुस्ताको उत्तर र पश्चिममा नारायणी नदीले घेरेको छ भने दक्षिणतर्फ भारत पर्दछ । उनीहरू नेपाली भूभाग आउजाउ गर्न १ हजार ५ सय मिटर लामो झोलुंगे पुल तर्नुपर्ने बाध्यता छ । गत साताको बाढीमा झोलुंगे पुलसम्म पुग्न पनि डुंगा चढ्नुपर्ने बाध्यता थियो ।

‘सुस्तामा तटबन्धका लागि कम्तीमा ५ अर्ब बजेट आवश्यक छ, त्यसका लागि सरकारसँग जोडदार माग गर्दछु,’ सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भने, ‘सुस्ता जोगाउनु भनेको देश जोगाउनु हो । सुस्ताको झोलुंगे पुलदेखि पूर्व र दक्षिणतर्फ साढे २ किलोमिटर तटबन्ध तत्काल गर्न आवश्यक छ ।’ सुस्तामा तत्काल खाद्यान्नको अत्यावश्यकता रहेको उपाध्यायले सुनाए ।