बर्दियामा धानबालीमा हात्तीको रजगज



बर्दिया– बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्तीका बासिन्दालाई बाह्रैमास वन्यजन्तुले सताउने गरेका छन् । निकुञ्जबाट बस्तीमा आउने वन्यजन्तुका कारण धनजनको क्षति भइरहेको छ । यतिबेला जिल्लामा धानबाली पसाउने बेला भएको छ । यहीँ बेला निकुञ्जबाट बस्ती प्रवेश गर्ने हात्तीको धानबालीमा रजगज चलिरहेको छ । हात्ती धपाउन स्थानीय रातभर जाग्राम बस्न बाध्य छन् ।
निकुञ्जको मध्यवर्ती क्षेत्र र खाता जैविक मार्गमा हात्तीले धानबालीमा क्षति पु¥याउन थालेको छ । हात्तीले गेरुवा–४ र खाता क्षेत्रमा दिनहुँ धानबालीमा क्षति पुर्याउँदै आएको छ । खाता जैविक मार्ग र गेरुवा गाउँपालिका आसपासका क्षेत्रमा विगत तीन सातायता जंगली हात्तीले धानबालीमा क्षति पुर्याउँदै आएको स्थानीयले बताए ।
गेरुवा–४, को दंगपुरुवा, खल्लापुर, शान्तिपुर, ढुकुनेलगायत क्षेत्रमा हात्तीले धानबालीमा क्षति पुर्याएको मध्यवर्ती सामुदायिक वन, गोलाका अध्यक्ष दिनेश शाहीले बताए । हात्तीले शान्तिपुर ढुकुनेमा करिब ३ बिघा, राजीपुरमा २ बिघा, दंगपुरुवामा ४ बिघा, खल्लागाउँमा धान र मकैसहित ३ बिघा र गोलामा १ बिघा धानबालीमा क्षति पु¥याइसकेको छ,’ उनले भने, ‘हात्ती आएको जानकारी दिए निकुञ्जबाट कर्मचारी र सेनाको टोली आउने गरे पनि अन्य बेला आउँदैनन् ।’
रातभर जाग्राम बसेर टिन ठटाउने, राँको बाल्ने र होहल्ला गरी हात्ती भगाउने गरेको उनले बताए । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत महेश न्यौपानेले धान, मकै लगायत बालीमा वन्यजन्तुले क्षति पुर्याए क्षतिपूर्ति दिने गरेको जनाए । यहाँ ३ वटा हात्ती प्रायः आउने गरेको बर्दिया निकुञ्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फाहाम्फेले बर्दियाको कर्णाली नदी तटीय क्षेत्रको गेरुवा गाउँपालिका–४ स्थित ढिकपुर, दंगपुरुवा र गोला गाउँमा हात्तीले पाक्न लागेको धानमा क्षति पुर्याउँदै आएको बताए । तीन वटा हात्तीले यस क्षेत्रमा किसानको धानबालीमा क्षति पुर्याए पनि मानवीय क्षति भएको छैन ।
यसैगरी खाता जैविक मार्गको डल्ला क्षेत्रमा हात्तीले धानबालीमा क्षति पु¥याएको छ । खाता वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले जैविक मार्ग क्षेत्रमा अहिले हात्तीले डल्लालगायतका ठाउँमा धानबालीमा क्षति पुर्याउन लागेको बताए । धान पूर्णरूपमा पाक्न असोज महिनाको अन्तिम साताबाट ठूलो संख्यामा हात्ती खेतमा प्रवेश गरी क्षति पुर्याउने गरेको उनले जनाए । खाता जैविक मार्ग क्षेत्रमा हात्तीले तीन वर्षयता ३० वटाभन्दा धेरै घर क्षति पुर्याएको छ । बर्दिया निकुञ्जमा १ सय २० भन्दा बढी हात्ती रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत न्यौपानेले बताए ।








प्रतिकृया दिनुहोस्