पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी होटल संघ र उत्तर–पूर्व भारतीय पर्यटन महासंघबीच समझदारी



भैरहवा– बुद्ध जन्मस्थल र आसपासका पर्यटकीय गन्तव्य प्रवर्द्धनका लागि लुम्बिनी होटल संघ र उत्तर–पूर्व भारतीय पर्यटन महासंघबीच समझदारी भएको छ । दुबै मुलुकका गन्तव्यबीच दिगो पर्यटन प्रवर्द्धनका लागि रुपन्देहीको लुम्बिनीमा आयोजित संयुक्त कार्यक्रममा दुबै संस्थाबीच समझदारी भएको हो ।
पर्यटन प्रवर्द्धनका लागि भारतको उत्तर–पूर्वस्थित आठ राज्यका पर्यटन व्यवसायी र अगुवा मंगलबार बिहान लुम्बिनी आएका थिए । उनीहरुलाई लुम्बिनी होटल संघले स्वागत गर्नुका साथै आतिथ्यता प्रदान गरेको थियो । लुम्बिनी होटल संघको निमन्त्रणामा आएका उनीहरुलाई बुद्धस्थल भ्रमण गराइएको थियो । मंगलबार साँझ लुम्बिनी परिसरमा रहेको होटल कासाईमा आयोजित राउण्ड टेबल कार्यक्रममा पर्यटन प्रवर्द्धनका लागि समझदारी भएको हो ।
लुम्बिनी प्रवर्द्धनका लागि लुम्बिनी होटल संघ नेपालको अगुवाईमा लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयले सहकार्य गरेका थिए । लुम्बिनीबाट शाक्यमुनी होलिडेसका साथै पर्यटन व्यवसायी र साझेदार संस्थाले पूर्वी नाका काँकडभिट्टा पुगेर उत्तर–पूर्व भारतीय पर्यटन महासंघका पदाधिकारी र पर्यटनकर्मीलाई स्वागत गरेका थिए ।
लुम्बिनी प्रवर्द्धनका लागि दोस्रोपटक भारतीय पर्यटनकर्मीलाई बोलाएर यस्तो कार्यक्रम गरिएको हो । यसअघि भारतको बिहार र र उत्तर प्रदेशका पर्यटन व्यवसायीलाई लुम्बिनी आमन्त्रण गरेर मिलेर पर्यटन प्रवर्द्धन गर्ने समझदारी गरिएको थियो । दुबै मुलुकका संस्थाले सहत यातायात सञ्जाल, पर्यटन आवागमन विस्तार तथा पारस्परिक सांस्कृतिक आदान–प्रदानलाई थप सुदृढ बनाउने उद्देश्य रहेको जनाएका छन् ।
लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले दुबै संस्थाबीच महत्वपूर्ण मेमोरयाण्डम अफ अन्डरस्टाण्डिङ (एमओयु) मा हस्ताक्षर सम्पन्न भएको जनाए । ‘यस सहकार्यले लुम्बिनी र उत्तर–पूर्वी भारतबीच पर्यटन, संस्कृति, आतिथ्यता तथा व्यावसायिक सम्बन्धलाई अझ मजबुत बनाउँदै आगामी दिनमा नयाँ पर्यटन सम्भावनाका ढोकाहरू खोल्ने विश्वास लिएका छौं,’ अध्यक्ष शर्माले भने, ‘यस अभियानमा सहयोग पुर्याउने सम्पूर्ण साझेदार संस्था र व्यक्तिहरुलाई लुम्बिनी होटल संघको तर्फबाट धन्यवाद ।’
भारतबाट आएका पाहुनालाई लुम्बिनीमा रहेका होटल बुद्धमाया रिसोर्ट, होटल कासाई, होटल लिटिल बुद्ध, होटल पिस ल्याण्डले आतिथ्यता प्रदान गरेका थिए । ‘यो केवल समझदारीमा मात्र सिमित हुनेछैन,’ अध्यक्ष शर्माले भने, ‘लुम्बिनी र उत्तर –पूर्वी भारतको पर्यटन सम्बन्धमा दीर्घकालीन पुल बन्ने हाम्रो अपेक्षा छ ।’
सम्झदारी पत्रको प्रस्तावना ‘बुद्धको जन्मस्थलको रूपमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त छ र एक प्रमुख विश्वव्यापी आध्यात्मिक तथा सांस्कृतिक गन्तव्यको रूपमा रहेको’ उल्लेख छ । त्यस्तै उत्तर–पूर्वी भारतमा सांस्कृतिक सम्पदा, महत्वपूर्ण बौद्ध तथा हिन्दू तीर्थस्थल र जीवन्त इको–पर्यटन सम्भावना रहेको पनि उल्लेख छ । ‘नेपाल र उत्तर–पूर्वी भारतबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्न, सीमापार पर्यटनलाई प्रवर्द्धन गर्न, सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्न र क्षेत्रीय आर्थिक विकासलाई सहज बनाउन पक्षहरू बीच साझा इच्छा रहेको छ,’ समझदारी पत्रको प्रस्तावनामा उल्लेख छ ।
समझदारी पत्रको प्राथमिक उद्देश्य लुम्बिनी र उत्तर पूर्वी भारतलाई जोड्ने पर्यटन, तीर्थयात्रा र सामाजिक–सांस्कृतिक सहभागितालाई संयुक्त रूपमा बजार प्रवर्द्धन, विकास र प्रवद्र्धन गर्नु रहेको जनाइएको छ ।
यस्तो समझदारीपछि उत्तर पूर्वी भारतीय समुदाय, ट्राभल ट्रेड नेटवर्क र तीर्थयात्री मञ्चमा शाक्यमुनि बुद्धको पवित्र जन्मस्थल—लुम्बिनीको सक्रिय प्रवर्द्धनमा सहयोग गर्ने सहमती भएको छ । साथै दुबै पक्षहरूले संयुक्त रूपमा पर्यटकको बसाइँ अवधि लम्बयाउन पहल गर्ने, बुद्धको जीवन र सम्पदासँग जोडिएका वरपरका ऐतिहासिक स्थलहरूको भ्रमण गर्न प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।
उत्तर–पूर्वी भारत र लुम्बिनी बीचको उत्तम स्थलमार्ग र हवाई सम्बन्ध पहिचान तथा नक्सांकन गर्न सहकार्य गर्नेपनि समझदारी पत्रमा उल्लेख छ । सीमापार कनेक्टिभिटीलाई तीव्रता दिन, सीमा–पारगमन व्यवस्थापनमा सुधार गर्न र ‘वृहत्तर लुम्बिनी सर्किट’लाई प्रवर्द्धन गर्न आफ्ना सम्बन्धित राष्ट्रिय, प्रादेशिक र स्थानीय सरकारी अधिकारीहरूसँग संयुक्त वकालतका प्रयासहरू गर्ने दुबै संस्थाले प्रतिबद्धता व्यक्त गरेका छन् ।
व्यापक क्षेत्रीय यात्रा मार्गका लागि लुम्बिनीलाई केन्द्रीय ट्रान्जिट र वितरण हबको रूपमा स्थापना गर्ने सम्भाव्यताको मूल्याङ्कन गर्ने पनि जनाइएको छ । दुबै संस्थाले संयुक्त रुपमा दुई–गन्तव्य भ्रमण प्याकेजहरू निर्माण र बजार प्रवर्द्धन गर्न आफ्ना सम्बन्धित टुर अपरेटरबीच सहकार्यलाई सहज बनाउनेछन् सहमती जनाएका छन् । यस्ता प्याकेजहरूले नेपाल र उत्तर पूर्वी भारतभरका बौद्ध र हिन्दू तीर्थयात्रा सर्किटहरूलाई परिपूरक सांस्कृतिक र इको–पर्यटन आकर्षणहरूसँग सहज रूपमा एकीकृत गर्ने जनाइएको छ ।
पर्यटन उद्योगका सरोकारवाला, ट्राभल एजेन्सीहरू, मिडिया प्रतिनिधि र डिजिटल क्रिएटर–इन्फ्लुएन्सरका कार्यक्रम नियमित आदानप्रदान गर्न दुबै संस्था सहमत भएका छन् । आधिकारिक रूपमा आयोजना गरिएका भ्रमणहरूका लागि, आयोजक पक्षले पूर्व पारस्परिक लिखित सहमति र उपलब्ध स्रोतहरूको अधीनमा रही बसोबास, स्थानीय यातायात र निर्देशित भ्रमण मार्गहरू सहितको स्थानीय आतिथ्यता प्रदान गर्ने जनाइएको छ ।








प्रतिकृया दिनुहोस्