October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

सिद्धार्थनगर सिटी अस्पतालमा सुरु भयो आमा सुरक्षा कार्यक्रम

Advertisement

भैरहवा– निजी क्षेत्रबाट संचालित रुपन्देहीको ठूला अस्पतालमध्येको एक भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिमा नेपाल सरकारको ‘आमा सुरक्षा कार्यक्रम’ सुरु भएको छ । निजी क्षेत्रबाट सञ्चालित अस्पतालमा समेत सुरक्षित मातृत्व सेवा विस्तार गर्ने उद्देश्यले आइतबारदेखि उक्त हस्पिटलमा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।

Advertisement

आमा सुरक्षा कार्यक्रमअन्तर्गत अस्पतालबाट सामान्य प्रसूति, जटिल प्रसूति तथा सिजेरियन (शल्यक्रिया) सेवा निःशुल्क उपलब्ध हुने अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए । ‘सुत्केरी आमालाई यातायात खर्चबापत १ हजार रुपैयाँ तथा कम्तीमा चार पटक गर्भ जाँच (एएनसी) गराएका महिलालाई ८ सय रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइनेछ’, उनले भने ।

पौडेलले दक्ष स्वास्थ्यकर्मीमार्फत छिटो, सहज र गुणस्तरीय प्रसूति सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । ‘सर्वसुलभ र सहज सेवाकै कारण यहाँ धेरै विरामीले उपचार गर्न चाहनुहुन्छ’, उनले भने, ‘आमा सुरक्षा कार्यक्रम लागूपछि आमनागरिकको भरोसा अझ थप भएको मैले विश्वास लिएको छु ।’

अस्पतालजन्य संक्रमण नियन्त्रण, सरसफाइ र सुरक्षित वातावरणलाई विशेष प्राथमिकतामा राखिने सेवा उपलब्ध गराउँदै बताउँदै पौडेलले यसलाई अझ व्यवस्थित गरिने जनाए । यो अस्पताल पछिल्लो समय स्वदेशी तथा विदेशी विरामीको भरपर्दो रोजाइ बनिरहेको छ ।

ए सय शय्यामा सञ्चालन भइरहेको अस्पतालले प्रसूति तथा स्त्रीरोग सेवासहित विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । आमा सुरक्षा कार्यक्रम लागू भएसँगै आर्थिक अवस्थाका कारण सुरक्षित प्रसूति सेवाबाट वञ्चित हुन सक्ने महिलालाई समेत सहज रुपमा सेवा लिन थप सहयोग पुग्ने अस्पतालको अपेक्षा छ ।

अस्पतालका अध्यक्ष सुरज उप्रेतीले सुत्केरीपछिको अत्यधिक रक्तस्राव (पीपीएच) लगायत प्रसूतिसँग जोडिएका जोखिम न्यूनीकरणमा विशेष ध्यान दिई सेवा संचालनमा आफूहरु प्रतिबद्ध रहेको जनाए । ‘आमा सुरक्षा कार्यक्रमअन्तर्गत उपलब्ध सेवा तथा लागतसम्बन्धी दरलाई समयअनुकूल पुनरावलोकन गर्नुपर्ने देखिन्छ । यसमा हाम्रोतर्फबाट सबै पहल हुनेछन्’, उनले भने ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रतिनिधि सभा सदस्य ज्ञानु आमा सुरक्षा कार्यक्रम सञ्चालन हुनु मातृ तथा शिशु स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि महत्वपूर्ण कदम भएको बताइन् ।