कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्यो, चारजना घाइते



कपिलवस्तु– गुडिरहेको बसमाथि ढुंगा खस्दा कपिलवस्तुमा चार जना यात्रु घाइते भएका छन् । कपिलवस्तुको चोरखोलामा उक्त घटना भएको हो ।
चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३७७० नम्बरको बसमाथि शिवराज नगरपालिका–१ स्थित चोरखोलामा राति साढे १ बजे ढुंगा खसेको हो ।
सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठका अनुसार घाइते हुनेमा बर्दियाको गोरुवा गाउँपालिका–२ का ३७ वर्षीय द्ववारिकाप्रसाद थारू, ३५ वर्षीय सुरेशलाल थारू, चितवनको भरतपुर महानगरपालिका–११ का २० वर्षीया सलिना सुनार र कञ्चनपुरको भिमदत्त नगरपालिका–१० की ४० वर्षीया भगवती कँडेल छन् ।
बसमाथि ढुंगा खस्दा सिटले च्यापिएको अवस्थामा उनीहरूको उद्धार गरी उपचारका लागि दाङस्थित भालुवाङ अस्पताल पुर्याइएको उनले बताए ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. २९ ज्वालामाई गण दाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक बाबुराम थापाको कमाण्डमा खटिएको टोलीले सिटले च्यापिएको अवस्थाबाट उनीहरूको उद्धार गरेको हो । बसमा ३० जना सवार थिए ।








प्रतिकृया दिनुहोस्