कांग्रेसबाट विशालकुमार चौधरी दिए राजीनामा



भैरहवा– नेपाली कांग्रेस रुपन्देहीका युवा नेता विशालकुमार चौधरीले पार्टीको साधारण सदस्यता तथा आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।
मायादेवी गाउँपालिका–६, बसडिलवाका चौधरीले नेपाली कांग्रेस रुपन्देहीका सभापतिलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्। उनले राजीनामा दिएको विवरण आफ्नो आधिकारिक फेसबुकमा सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार उनले सोमबार राजीनामा पेस गरेका हुन् ।
उनले व्यक्तिगत तथा राजनीतिक परिस्थितिका कारण कांग्रेसमा रहेर आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिन उपयुक्त नहुने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्।
राजीनामा पत्रमा चौधरीले पार्टीमा रहँदा विभिन्न समयमा पार्टीले दिएको जिम्मेवारीलाई आफ्नो क्षमता, इमानदारी र निष्ठाका साथ निर्वाह गर्दै आएको बताएका छन्। पार्टीको संगठन निर्माण, सामाजिक सेवा तथा जनताको पक्षमा आफ्नो तर्फबाट निरन्तर योगदान गर्ने प्रयास गरेको पनि उनले उल्लेख गरेका छन्।
उनले पछिल्लो समय उत्पन्न व्यक्तिगत तथा राजनीतिक परिस्थितिका कारण अब नेपाली कांग्रेसमा रही आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिन उपयुक्त नहुने निष्कर्षमा पुगेको पनि जनाएका छन्। सोहीअनुसार राजीनामा पत्र बुझाएको उनको भनाइ छ।
चौधरीले पार्टीमा रहँदा आफूलाई विश्वास गरी विभिन्न जिम्मेवारी प्रदान गर्ने अग्रज नेताहरू, साथी, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। आगामी सामाजिक तथा राजनीतिक यात्रामा पनि सबैको सद्भाव, सहयोग र शुभेच्छा प्राप्त हुने अपेक्षा रहेको उनले बताएका छन्।
चौधरी मायादेवी गाउँपालिका–६ का क्षेत्रीय प्रतिनिधि, नेपाल तरुण दल रुपन्देहीका जिल्ला सदस्य, नेपाल थारु संघ मायादेवी अध्यक्ष तथा लुम्बिनी प्रदेशको पूर्व प्रदेश अधिवेशन प्रतिनिधि हुन् । उनले पछिल्लो समय आगामी स्थानीय तह निर्वाचनमा मायादेवी गाउँपालिकामा काँग्रेसबाट टिकटका आकांक्षी थिए । सोहीअनुसार उनी पार्टी गतिविधिमा क्रियाशील थिए । तर, उनले राजीनामा दिएका छन् ।








प्रतिकृया दिनुहोस्