November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

हावाहुरी र वर्षाले अन्नबालीमा क्षति

Advertisement

भैरहवा– हावाहुरीसँगै भएको वर्षाले अन्नबालीमा ठूलो क्षति पुर्याएको छ । लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा हावाहुरीले वितण्डा मच्याएको छ । निजी घर तथा सरकारी कार्यालय, विद्यालय र सार्वजनिक भवनहरुको छाना उडाउने, विभिन्न ठाउंँमा रुख ढल्ने भएको छ ।

Advertisement

कतिपय जिल्लामा किसानले काट्न ठिक्क पारेको धान निरन्तरको वर्षा र हावाहुरीले खेतमै ढलेपछि ठूलो क्षति व्यहोर्नुपरेको छ । पाकेको धान खेतमै भिज्नुका साथै अधिकांश खेत जलमग्न भएपछि किसान चिन्तित छन् । सिंचाइ सुविधा भएका कारण असारमै धान रोपेका किसान अहिले धान भित्र्याउने तयारीमा थिए ।

मौसमको पूर्वसूचनाअनुसार वर्षापछि धान काट्ने तयारी गरेका किसानलाई हावाहुरीसहितको निरन्तर वर्षाले समस्यामा पारेको हो । पाकेको धान खेतमै सुतेको छ भने पानीले खेत भरिएका छन् । प्यूठान र दाङमा धान खेतीमा बढी क्षति भएको छ । बाँकेमा १० प्रतिशत धान खेतीमा क्षति पुगेको छ ।

ठाउँठाउँमा रुख ढल्दा भित्री सडकहरु अवरुद्ध भएका छन् । पहाडी जिल्लामा कोदो, तरकारी खेती लगायतमा पनि क्षति पुगेको छ । पालिकाहरूले धानबालीमा भएको क्षतिको विवरण तत्काल संकलन सुरु गर्ने र सम्भव भएसम्म किसानलाई राहत उपलब्ध गराउने जनाएका छन् ।