अनियमितता र बेथितिको अन्त्यका लागि मेरो उम्मेदवारी होः महेन्द्रकुमार श्रेष्ठ



भैरहवा– नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३(क), रुपन्देहीको सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका काँग्रेस नेता तथा भैरहवाका व्यवसायी महेन्द्रकुमार श्रेष्ठले पार्टीभित्र देखिएको बेथिति, अनियमितता तथा असंगत अभ्यासको अन्त्य गर्दै संगठनलाई थप सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
भैरहवामा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले पार्टीभित्र युवाशक्तिको प्रभावकारी परिचालन गर्दै विगतमा भएका कमजोरी सुधार गरेर नेपाली कांग्रेसलाई संगठित र एकताबद्ध रूपमा अघि बढाउने बताए ।
‘विगतमा युवाको उचित परिचालन गर्न नसक्दा पार्टीको जग कमजोर हुन पुग्यो,’ उनले भने, ‘प्रदेश सभा क्षेत्रीय सभापतिको जिम्मेवारी पाएमा कुनै पनि कार्यकर्तालाई होच्याउने वा विभेद गर्ने काम गर्ने छैन । सबैलाई संगठित र एकताबद्ध बनाएर विकास निर्माणका काममा समेत सक्रिय गराउनेछु ।’
श्रेष्ठले नेपाली कांग्रेसभित्र रहेको नातावाद, कृपावाद, हुकुमवाद र अनियमितताको अन्त्य आवश्यक रहेको बताए । सिद्धार्थनगर क्षेत्रका आवश्यकता र सम्भावनालाई सम्बोधन गर्न सक्ने सशक्त नेतृत्व आवश्यक रहेको भन्दै उनले त्यसका लागि आफू सक्षम रहेको दाबी गरे ।
सिद्धार्थनगर क्षेत्रमा विद्यमान समस्या, आवश्यकता, सम्भावना तथा अवसरका विषयमा आफूलाई जानकारी रहेको उल्लेख गर्दै श्रेष्ठले विगतमा विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेकाले स्थानीय समस्या र जनचासोका विषयलाई नजिकबाट बुझेको बताए । स्थानीय समस्यालाई पार्टीको माध्यमबाट सरकारसमक्ष पुर्याएर समाधानका लागि पहल गर्ने उनको भनाइ थियो ।
‘पदमा रहेर पदको जिम्मेवारीअनुसार काम गर्न सकिनँ भने सहजै पद त्याग्नेछु,’ श्रेष्ठले भने, ‘सामाजिक सञ्जालमा मात्रै सक्रिय हुने होइन, अब हामीलाई नयाँ कांग्रेसका रूपमा हेर्नुहोस् ।’
श्रेष्ठ समूहले सभापतिसहित पदाधिकारीका उम्मेदवारसमेत घोषणा गरेको छ । समूहबाट उपसभापतिमा सुनिलराज बिष्ट, सचिवमा हुमलाल पौडेल, सहसचिवमा बिनिता श्रेष्ठ र गोकुल यादवले उम्मेदवारी घोषणा गरेका छन् । कोषाध्यक्ष पदमा भने पछि मनोनयन गर्ने व्यवस्था रहेको जनाइएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले पार्टीभित्र एकता र सहकार्यका लागि ढोका खुला रहेको बताए । कांग्रेस अब नयाँ ढंगबाट अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता भएको बताए । उनले श्रेष्ठ समूह सक्षम रहेको दाबीसमेत गरे ।
संविधानसभा सदस्य तथा सिद्धार्थनगरका नगरप्रमुख इश्तियाक अहमद खाँ, संविधान सभा सदस्य जैनुद्दिन निशा धुनिया तथा लुम्बिनी प्रदेशसभा सदस्य देवीप्रसाद चौधरीले नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतान्त्रिक अभ्यासको विशेषता भएको बताए । उनीहरूले श्रेष्ठ समूह सक्षम रहेको धारणा व्यक्त गरे ।
नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिका नवनिर्वाचित सभापति देवराज न्यौपानेले पार्टी संगठनभित्र आन्तरिक प्रतिस्पर्धा भइरहे पनि त्यसलाई शालीन र लोकतान्त्रिक ढंगले अघि बढाउनुपर्ने बताए । पार्टीभित्रको प्रतिस्पर्धालाई स्वस्थ लोकतान्त्रिक अभ्यासका रूपमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो ।
यसै कार्यसमितिको सभापति पदका लागि अर्को पक्षबाट लेखनाथ भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । उक्त समूहबाट उपसभापतिमा यामबहादुर थापा (माइला दाइ), सचिवमा दीपक श्रेष्ठ तथा सहसचिवमा डिल्लीराज अधिकारी र अर्पिता विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
प्रदेश सभा क्षेत्रीय कार्यसमिति ३ (क) रुपन्देहीको नेतृत्वका लागि दुई समूहबाट उम्मेदवारी घोषणा भएसँगै कांग्रेसभित्रको आन्तरिक निर्वाचन थप प्रतिस्पर्धात्मक बनेको छ ।








प्रतिकृया दिनुहोस्