November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

काँग्रेसलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउन लागिपर्छुः रेग्मी

Advertisement

भैरहवा– नेपाली काँग्रेस सिद्धार्थनगरका नेता संजीव शर्मा रेग्मीले पार्टीलाई नगरमा अझ बलियो, एकताबद्ध र जनमुखी बनाउन लागि पर्ने बताएका छन् । उनी गत हप्ता सम्पन्न काँग्रेस सिद्धार्थनगर समितिको निर्वाचनमा देवराज न्यौपानेसँग झिनो मतान्तरले सभापतिमा पराजित भएका थिए ।

Advertisement

रेग्मीले आइतबार धन्यवाद तथा आभार वक्तव्य जारी गर्दै काँग्रेसका नेता, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, वडा सभापति, क्रियाशील सदस्य, शुभेच्छुक तथा सम्पूर्णमा आफूलाई विश्वास गरी मतदान गरेकामा आभार व्यक्त गरेका छन् ।

‘यहाँहरूले प्रदान गर्नुभएको अमूल्य मत, विश्वास, माया, सद्भाव र हौसलालाई मैले व्यक्तिगत समर्थनका रूपमा मात्र नभई नेपाली काँग्रेसप्रतिको जिम्मेवारी र संगठनप्रतिको विश्वासका रूपमा ग्रहण गरेको छु। यसका लागि म सदैव कृतज्ञ रहनेछु’, उनले भनेका छन्, ‘अधिवेशनको परिणामलाई मैले पूर्ण रूपमा सम्मान गर्दछु। लोकतान्त्रिक प्रक्रियाबाट प्राप्त निर्णय नेपाली काँग्रेसको आन्तरिक लोकतन्त्रको सुन्दर अभ्यास हो। निर्वाचनमा प्राप्त सफलता वा परिणामभन्दा पनि पार्टीको एकता, संगठनको सुदृढीकरण र जनताको विश्वास कायम राख्नु हाम्रो साझा जिम्मेवारी हो।’

अब निर्वाचनको प्रतिस्पर्धालाई यहीँबाट समाप्त गर्दै सबै साथीहरूलाई समेटेर, आपसी सम्मान र सहकार्यका साथ नेपाली काँग्रेस सिद्धार्थनगरलाई अझ बलियो, एकताबद्ध र जनमुखी संगठनका रूपमा अघि बढाउन आफू निरन्तर साथ, सहयोग र सक्रिय भूमिकामा रहने उनले बताएका छन् ।

‘हिजो हामी फरक भूमिकामा थियौँ होला, तर आजदेखि हाम्रो साझा पहिचान नेपाली काँग्रेस र हाम्रो साझा लक्ष्य संगठनको मजबुती र जनताको सेवा हो। नयाँ नेतृत्वलाई सफल बनाउन आवश्यक सहयोग, सकारात्मक सुझाव र रचनात्मक भूमिकाका लागि म सदैव तयार रहनेछु’, उनले भनेका छन् ।

आगामी दिनमा पनि सुख–दुःखमा सधै सँगै रहने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । ‘म सधैंभरी यहाँहरूसँगै रहने, संगठनका हरेक सकारात्मक अभियानमा हातेमालो गर्ने र नेपाली काँग्रेसको विचार, सिद्धान्त र आदर्शलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दछु।
व्यक्ति फरक हुन सक्छन्, भूमिका फरक हुन सक्छन् तर हाम्रो पार्टी, हाम्रो विचार र हाम्रो लक्ष्य साझा हो’, उनले भनेका छन् ।