November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

विश्व पर्यटन दिवसः पर्यटकमैत्री वातावरण, गन्तव्यको विकास र विमानस्थल संचालनमा जोड

Advertisement

भैरहवा– ४७औं विश्व पर्यटन दिवस–२०२६ को अवसरमा रुपन्देहीको बेलहिया नाकामा आइतबार पर्यटन प्रवद्र्धन तथा पर्यटक स्वागत कार्यक्रम गरिएको छ । सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो नेपाल) लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रममा भारतबाट अन्नपूर्ण ट्रेकिङका लागि नेपाल आएका पाँच जना पर्यटकलाई मायाको चिनो, ढाका टोपी, खादा र टीका लगाएर स्वागतसहित सम्मान गरेर दिवस मनाइएको हो ।

Advertisement

यस वर्ष ‘डिजिटल एजेन्डा र आर्टिफिसियल इन्टेलिजेन्समार्फत् पर्यटनको पुनःपरिकल्पना’ नारासहति आइतबार विश्वभर यो दिवस मनाइएको छ । पर्यटन क्षेत्रमा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत पर्यटकको अनुभव, सेवा प्रवाह र गन्तव्य व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयलाई यस वर्ष प्राथमिकता दिइएको छ । बेलहियामा आयोजित कार्यक्रममा पनि बढ्दो प्रविधिको प्रयोग गरी पर्यटन प्रवर्द्धनमा लाग्नुपर्नेमा सरोकारवालाले जोड दिए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नाकादेखि नै पर्यटकलाई पर्यटनमैत्री व्यवहार हुनुपर्नेमा जोड दिए । उनले भारतीय पर्यटक नेपाल आउँदा उनीहरुले ल्याउने गाडी ३० दिन भन्दा बढी समय रहन नपाउने व्यवस्था सच्याउन माग गरे । ‘नाका राम्रोसँग व्यवस्थित हुन सकेको छैन’, उनले भने, ‘दुई तिहाईको सरकार छ, तत्काल निर्णय गरेर नाकालाई आकर्षक बनाउनुपर्छ ।’ उनले पर्यटकले बोकेर आउने पैसाको सीमितता तोक्न नहुने बताउँदै यसमा सरकारले ध्यान दिनुपर्ने बताए ।

विश्वको अहिलेको परिवेश अनुसारका प्रविधिहरुको प्रयोग गरेर प्रचार र प्रद्र्धन गरेर पर्यटक भित्र्याउनु पर्नेमा उनले जोड दिए । लुम्बिनी बौद्धिष्टले मात्रै नभई हिन्दू, मुस्लिम सबै समुदायले सम्मान गर्ने स्थान भएको जनाए । उनले विश्वका २ अर्ब बढी मानिसहरुले लुम्बिनीलाई उच्च सम्मान गर्ने भएकाले अब पहिला लुम्बिनीबाट भ्रमणको योजना बनाउन प्रचार र प्रवर्द्धनका कार्यक्रम गर्न जरुरी रहेको बताए । ‘कम्तिमा लुम्बिनी आएका पर्यटक लुम्बिनी आसपासमै पाँच दिन बस्ने वातावरण गराउनुपर्छ’, नगर प्रमुख खाँनले भने ।

नगर उपप्रमुख उमा अधिकारीले अझै पर्यटकी क्षेत्रमा प्रचार र प्रवर्द्धन कम भइरहेको जनाइन् । उनले जो जहाँ जान्छ, त्यस ठाउँको प्रचार गर्न सके यसले पर्यटकीय विकासमा केही टेवा पुर्याउने बताइन् । ‘हामीमा काम गर्ने इच्छा छ तर कहाँ, जाने, के गर्ने भनेर एकअर्कालाई कुरेर बस्छौं’, उनले भनिन्, ‘अब, सामूहिकताबाट पर्यटनको विकासमा लाग्नुपर्छ ।’ नेपाल हिमाल, पहाड र तराईको मनोरम दृश्यले सजिएको ठाउँ भएको जनाउँदै अधिकारीले सबैले आआफ्नो ठाउँबाट प्रचारप्रसार गर्नुपर्ने बताइन् ।

कार्यक्रममा वक्ताहरूले बेलहिया नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र भैरहवालाई केन्द्रमा राखेर रुपन्देहीको पर्यटनलाई अझ व्यवस्थित र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । वक्ताहरूले पर्यटकको पहिलो सम्पर्कस्थल नै सीमा नाका भएकाले त्यहाँको व्यवहार, सेवा र वातावरणले नेपालबारे पर्यटकको धारणा निर्माण गर्ने बताए । भारतीय पर्यटक नेपालका महत्वपूर्ण आगन्तुक भएकाले उनीहरूलाई नाकामा सहज, सम्मानजनक र पर्यटकमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिए ।

होटल संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पर्यटकीय क्षेत्रमा विभिन्न बहानामा हुने अनावश्यक चेकजाँच तथा छापा जस्ता गतिविधिले व्यवसायी र पर्यटकमा नकारात्मक सन्देश जान सक्ने भन्दै सहजीकरणको वातावरण बनाउनुपर्ने धारणा राखे । उनले लुम्बिनी, कपिलवस्तु, भैरहवा र रुपन्देहीका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्भावनालाई जोडेर पर्यटनको नयाँ प्याकेज विकास गर्नुपर्ने बताए । उनका अनुसार होटल संघले लुम्बिनी प्रदेशका होटलहरुमा आजदेखि लागू हुने गरी पर्यटकका लागि १५ प्रतिशत छुट दिएको छ ।

उनले बाढीले केही सीमित क्षेत्रमा प्रभाव पारे पनि देशका अधिकांश पर्यटकीय क्षेत्र सुरक्षित र घुम्नलायक रहेको सकारात्मक सन्देश विश्व बजारमा पुर्याउनुपर्ने बताए । सोट्टो नेपालका अध्यक्ष संजय बजिमयले पर्यटनलाई केवल घुमफिर र मनोरञ्जनमा सीमित नराखी रोजगारी, स्थानीय उत्पादन, होटल व्यवसाय, यातायात र समग्र आर्थिक गतिविधिसँग जोड्नुपर्ने बताए । रुपन्देहीमा लुम्बिनी, भैरहवा, बेलहिया, देवदह, सैनामैना लगायतका क्षेत्रलाई एकीकृत पर्यटन सर्किटका रुपमा विकास गर्न सकिने उनको भनाइ थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, सीमा नाकाको सुधार, पर्यटकको सहज आवागमन, सरसफाइ, सुरक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद घिमिरेले सांस्कृतिक, धार्मिक तथा ऐतहासिक हिसाबले भरिपूर्ण नेपालमा आउने पर्यटकलाई उनीहरुको चाहनाअनुसार सेवा र सत्कार दिनुपर्नेमा जोड दिए । उनले यसका लागि निजी सरकारी साझेदारीमा प्रवर्द्धनात्मक र विकासका काम गर्नुपर्ने उल्लेख गरे । सोट्टो नेपालका पूर्वअध्यक्ष श्रीचन गुप्ताले लुम्बिनीसँगै अन्य गन्तव्यलाई समेटेर विकास तथा प्रवर्द्धन गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने जनाए । यसका लागि सोट्टो नेपालले निरन्तर पर्यास गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा सम्मानित भारतीय पर्यटक विज्ञान शर्माले साथीहरूसँग मिलेर अन्नपूर्ण ट्रेकिङका लागि नेपाल आएको बताए । बेलहिया नाकामै स्वागतसहित सम्मान पाउँदा आफूहरू निकै खुसी भएको उल्लेख गर्दै उनले नेपाली आतिथ्यले यात्राको सुरुवातमै सकारात्मक अनुभूति दिएको बताए । उनले मौसमले साथ दिए आफूहरुको यात्रा रमाइलो हुने जनाए । नेपाल आउने आफ्नो पहिल्यैदेखिको चाहना भए पनि विविध कारणले नजुरेको बताउँदै यसपटक त्यो अवसर मिलेको उनले बताए ।

कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालाले बेलहियाबाट प्रवेश गर्ने पर्यटकलाई लुम्बिनीमा मात्र सीमित नराखी भैरहवा र समग्र रुपन्देहीका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यसम्म पुर्याउने वातावरण बनाउन सके स्थानीय पर्यटनले थप गति लिने बताएका छन् ।