लुम्बिनीमा विपदको केन्द्रमा पाल्पा, अत्यधिक वर्षासँगै क्षति



भैरहवा– लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै वर्षा पाल्पामा भइरहेको छ । जसले पाल्पा अन्तर्गत विभिन्न सडक अवरुद्ध हुनुका साथै धनजनको क्षति हुन थालेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा पाल्पामा सबैभन्दा धेरै पानी परेको छ । पाल्पाका तीन स्थान जल मापन केन्द्र तोकिएको छ । पाल्पाको निस्दी गाउँपालिका–६, अर्चले मापन केन्द्रमा २६३.८ मिलिमिटर वर्षा भएको छ । रामपुर नगरपालिका गाडाँकोट मापन केन्द्रमा १७९.२४ मिलिमिटर र रामपुर नगरपालिका–१०, कुमाल गाउँ जल मापन केन्द्रमा १५० मिलिमिटर वर्षा मापन भएको छ ।
यसबाहेक गुल्मीको भार्से, स्याङ्जाको पन्चमुल, बाँकेको ढकेरी र बैजापुर, तनहुँको अत्रौली टार, कास्कीको पन्चासे, अर्घाखाँचीको अर्घाखाँची र सिमलपानीमा पनि जल मापन केन्द्रमा बढी वर्षा भएकाले विभागले सतर्क रहन चेतावनी दिएको छ ।
वर्षापछि पाल्पाको रिव्दीकोट–६, ठिमुरे, गोलफानमा पहिरोले घर बगाउँदा एक जना बेपत्ता भएका छन् । निरन्तर रुपमा परिरहेको अविरल बर्षाका कारण गोलफानका केसुराम सारु मगरको ढुङ्गा माटोले बनेको ३ तले कच्ची घर पहिरोल पुरिँदा उनको श्रीमती ५९ वर्षीया कृष्ण कुमारी सारु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले दुई घरमा पूर्ण रुपमा क्षति पुगेको स्थानीय किरण रायमाझीले बताए ।
कालीगण्डकी करिडोर सडक अन्तर्गत रामपुर–१०, गेझा होस्दीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका ठाउँठाउँमा पहिरो खस्नुका साथै ठुला ढुंगा खसेको छ । पाल्पा–गुल्मी सडक अन्तर्गत ढुंगाखानी, मालमुल लगायतका स्थानमासमेत पहिरो खसेको छ । पाल्पा–अर्घाखाँची सडक अन्तर्गत रिब्दीकोट गाउँपालिकाको कुसुमखोलाका विभिन्न स्थानमा पहिरो खसेको छ । आर्यभन्ज्याङ–रामपुर सडक अन्तरगत हुमीन, सिलुवा लगायका स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले राजमार्गको पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरोको जोखिम बढेपछि बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन संचालनका साथै यात्रा गर्न रोक लगाएको छ । मौसममा आएको परिवर्तनका कारण पाल्पा जिल्लामा समेत निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म जति भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले बाढी, पहिरो, डुबान लगायतका विपदजन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारी साधनको सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
अविरल वर्षाले राजगका विभिन्न स्थानमा माथिल्लो भागबाट ढुंगा र पहिरो खस्ने समस्या रहेको छ । सिद्धार्थ राजमार्गको गौडेपुल, कालीमाटी, चर्चरे, चौविसमाइल, हिउँदेखोला, पानीमिल, दोभान, सिद्धबाबा लगायतका स्थानमा पहिरो खस्ने सम्भावना बढी रहेको प्रहरीले जनाएको छ । बुधबार रातीदेखि पाल्पा लगायतका क्षेत्रमा पानी परेको छ । कतिपयस्थानमा विद्युत् अवरुद्ध भएको छ भने ग्रामीण सडक अवरुद्ध भएको प्रहीले जनाएको छ ।
त्यस्तै सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पाको तिनाउ गाउँपालिका ५, केराबारी स्थित सडकमा माथिबाट गिट्ठी सहितको पहिरो खसि बाटो पूर्ण रुपमा अवरोध भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार जसिविका लागि सडक डिभिजन कार्यालय पाल्पा सँग समन्वय गरी बाटो खुलाउन पहल भईरहेको छ । राजमार्गमा शुक्रबार बेलुकी ७ बजेदेखि नै सवारी साधन संचालनमा जिल्ला प्रशासन कार्यालय पाल्पाले रोक लगाएको छ ।
पाल्पादेखि गुल्मी तथा अर्घाखाँची जाने सडकसमेत अवरद्द रहेको छ । कालीगण्डकी करिडोर सडकको दर्जन बढी स्थानमा पहिरो खसेर सडक अवरू्रझ भएको प्रहरीले जनाएको छ । पाल्पाका अधिकांश ग्रामीण सडक अवरूद्द्ध भएको छ भने विद्युत सेवासमेत अवरूद्द भएको छ । पाल्पाका अन्नभण्डार माडी फाँट र झडेवा फाँटका केही भाग डुबानमा परेपछि धान खेतमा क्षति पुगेको छ ।
पाल्पाको आर्यभञ्ज्याङ रामपुर सडक बिभिन्न ठाउँमा पहिरो खसेको छ । प्रहरी चौकी ताँहुका अनुसार अबिरल वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भएको जनाएको छ ।








प्रतिकृया दिनुहोस्