October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

पहिरोले गुल्मीमा तीन सडक अबरूद्ध

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशका पहाडी जिल्लामा अविरल वर्षाको असर देखिन थालेको छ । तीन दिन देखि भइरहेको वर्षाले गुल्मी अन्तर्गत कालिगण्डकी करिडोरसहित तीन सडक अवरूद्ध भएका छन ।

Advertisement

गुल्मी क्षेत्रका कालीगण्डकी करिडोर, मदन भण्डारी सहायक राजमार्ग र रिडी रूद्रवेनी सडक बन्द भएको लुम्बिनी प्रदेश राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

अबरूद्ध सडक मध्य मदन भण्डारी राजमार्ग खण्डको रिडी–तम्घास खण्ड गुल्मीको जिल्ला सदरमुकाम जोड्ने सडक हो । त्यस्तै कालीगण्डकी करिडोर र रूद्रवेणी वामिटक्सार जोड्ने सडक गण्डकी प्रदेशका बाग्लुङ जिल्ला जोड्ने सडक हुन् ।

प्रदेश राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख निशान थापाका अनुसार मदन भण्डारी सहायक राजमार्ग अन्तर्गतको गुल्मीको रिडी–तम्घास सडकको रूरू गाउँपालिकामा पर्ने सालबिसौना, र छत्रकोट गाउँपालिकाको श्रृङ्गा देउरालीमा लेदो सहितको पहिरो खसेपछि सडक बन्द भएको छ । रिडी–वामी सडक अन्तर्गत चन्द्रकोट गाउँपालिकामा पर्ने सिस्नेभिर र रूद्रवेणी–पुर्तीघाट सडक अन्तर्गत कालीगण्डकी गाउँपालिकामा पर्ने राक्सेमा सडक पूर्णरूपमा अवरुद्ध भएको हो । यी सडकहरूमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

अबरूद्ध सडक खुलाउन समय लाग्ने भएकाले त्यस क्षेत्रमा तत्काल यात्रा नगर्न र गर्नै परेमा सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।