बाणगंगा नदीमा एकजना बेपत्ता, खोजी जारी



कपिलवस्तु–कपिलवस्तुको बाणगंगा नदीमा हाम्फालेका एक पुरुष बेपत्ता भएका छन् । बाणगंगा नगरपालिका–८, मधुवनधामका करिब ५० वर्षीय नारायण बेल्वासे शुक्रबार दिउँसो नदीमा हाम्फालेपछि बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार बेल्वासेले दिउँसो करिब ३ बजे बाणगंगा नदीको पुलबाट कपडा खोलेर नदीमा हाम्फालेका थिए । नदीमा बगिरहेका उनलाई केही परसम्म स्थानीयले देखेपछि घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
सूचना पाएलगत्तै सुरक्षाकर्मीले नदी आसपासको क्षेत्रमा खोजी थालेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बेपत्ता बेल्वासेको खोजी कार्य जारी रहेको जानकारी दिए ।
खोजीका लागि इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा १५ जना प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प पिपराबाटपनि सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीको कमान्डमा ११ जना तथा मातहतका प्रहरीबाट प्रहरी नायब निरीक्षक इन्द्रप्रसाद सुवेदीको नेतृत्वमा १० जनाको टोली नदीमा खोजीमा खटिएको प्रहरीले जनाइएको छ ।
सुरक्षाकर्मीले नदीको विभिन्न क्षेत्रमा खोजी गरिरहे पनि साँझसम्म बेल्वासेको अवस्था पत्ता लागेको छैन । खोजी कार्य जारी छ । उनले किन नदीमा हाम्फाले ? भन्ने वारेपनि खुलेको छैन ।








प्रतिकृया दिनुहोस्