November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

लुम्बिनी प्रदेशका नटी तटमा विशेष सतर्कता

Advertisement

भैरहवा– लगातार वर्षा हुन थालेपछि लुम्बिनी प्रदेशका नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ । प्रदेशमा रहेका कर्णाली, बबई, राप्ती, तिनाउ, दानव, रोहिणी लगायत नदीमा बाढी आउने जोखिम रहेकाले स्थानीयलाई सुरक्षित रहन आह्वान गरिएको छ । ती क्षेत्रमा प्रशासन, सुरक्षाकर्मी, स्थानीय पालिका, युवा क्लब, स्वास्थ्यकर्मी, रेडक्रस लगायत संस्थालाई ‘एलर्ट’ राखिएको छ ।

Advertisement

प्रदेशका पहाडी जिल्लामा पहिरोका कारण सडक अवरुद्ध भएका छन् । कतै स्थानीय प्रशासनले धनजन क्षति कम गर्न यातायात सञ्चालनमा रोक लगाएका छन् । सडक अवरुद्ध भएपछि अधिकांश जिल्लाबाट लामो दूरीका बस सञ्चालन गरिएका छैनन् । पाल्पा, गुल्मी, अर्घाखाँचीमा पहिरोका कारण स्थानीय सडक अवरुद्ध भएका छन् । दाङमा विहीबारदेखि लगातार वर्षा भइरहे पनि दाङस्थित पश्चिम राप्ती नदीको जलसतह हाल सामान्य अवस्थामा छ ।

मौसम पूर्वानुमान अनुसार शुक्रबारदेखि आइतबारसम्म लुम्बिनी प्रदेशसहित पश्चिम नेपालका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो । पश्चिम राप्तीको जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेकाले नदीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले निगरानी बढाएका छन् ।

नदीको जलसतह र आसपासका बस्तीको अवस्थाबारे नियमित सूचना संकलन तथा आवश्यक परे तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई परिचालन गरिएको छ । पश्चिम राप्तीको माथिल्लो जलाधार क्षेत्रमा हुने वर्षा र त्यसको प्रभावले केही घण्टामै नदीको बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएकको छ भने सम्बन्धित निकायले जलसतहको निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाएको जनाएको छ । दाङका विभिन्न स्थानीय तहले पनि नदी, खोला तथा डुबानको जोखिम रहेका क्षेत्रको निगरानी बढाएका छन् । सम्भावित बाढी, डुबान र कटानबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय तह, प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सरोकारवाला निकायबीच समन्वय गरिएको जनाएको छ ।

प्रशासनले नदीमा पानीको बहाव बढ्नसक्ने भएकाले नदी किनारमा अनावश्यक रूपमा नजान, माछा मार्न, दाउरा संकलन गर्न वा पशुचौपाया चराउन नदी तथा खोलाको बगरमा नजान आग्रह गरेको छ ।

बाँँकेका आठवटै पालिकामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार मौसम विभागले दिएको पूर्व सूचनालाई ध्यानमा राख्दै जिल्लाका आठवटै स्थानीय तहलाई पूर्वतयारी र स्रोतसाधन व्यवस्थापन गर्न निर्देशन दिइएको छ । विपद् न्यूनीकरणका लागि जिल्लास्थित सरोकारवाला सरकारी कार्यालयका प्रमुखको बैठक गरी जोखिमन्यूनीकरणका लागि आवश्यक पूर्व तयारी पूरा गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका कमान्ड पोस्टलाई तयारी अवस्थामा राखिएको छ । जिल्ला विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिले रुपन्देहीस्थित तिनाउ, दानव र रोहिणी नदी तटीय क्षेत्रलाई जोखिमयुक्त किटान गरेर खोज, उद्धार, राहत र पुर्नस्थापनाको योजना अघि बढाएको छ । जिल्ला प्रशासनमा बिहीबार बिहान बसेको बैठकले असोज ९ देखि ११ गतेसम्म यी क्षेत्रमा धनजनको क्षति न्यूनिकरण गर्न आवश्यक तयारी बढाउने निर्णय गरेको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार बैठकले विपद सामना गर्न विभिन्न निर्णय गरेको छ । उनका अनुसार रुपन्देही र पाल्पाको सिद्धबाबा–दोभान हुँदै दक्षिणमा रहेका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, मायादेवि गाउँपालिकादेखि दक्षिण तिनाउ दायाँ बायाँ क्षेत्र, तिनाउ नदि करिडोर आसपासका बजार तथा बस्ती, दानव नदि करिडोर आसपास रहेको शुद्धोधन, गैडहवा, मायादेवी गाउँपालिका तथा दक्षिणसम्म जोखिमयुक्त क्षेत्र मानिएको छ । रोहिणी तटीय क्षेत्रका साथैं सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, देवदह र सैनामैना नगरपालिकामा क्षेत्रका खोला–नदी आसपास डुबान–कटान हुन सक्ने औल्याएर तयारी अगाडि बढाइएको छ ।

यस्ता क्षेत्रमा रहेका प्रहरी चौकी तथा सुरक्षा बेसमा रहेका वाइरलेस सञ्चार सेटका अतिरिक्त व्याक्ट्रिहरु तत्काल पूर्ण चार्ज गरिएको अवस्थामा राख्ने, विद्युत नभएको अवस्थाना जेनेरेटर तथा इन्भर्टरको व्यवस्था गर्ने, मोवाइल नेटवर्क तथा सोलार पावर बन्द हुने सम्भावना उच्च भएकाले गाउँवस्तीबाट वडा कार्यालयसम्म सूचना पुर्याउन प्रत्येक टोलमा स्थानीय स्वंयसेवक वा यूवा क्लबका सदस्यलाई सूचनादुतको रुपमा सम्बन्धित पालिकाले तोक्ने निर्णय बैठकले गरेको छ ।

पाल्पाका स्थानीय तहले विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेका छन् । बिहीबार र शुक्रबार बिदा दिएका हुन् । पाल्पाका तानसेन, रामपुर नगरपालिका साथै अन्य गाउँपालिका शाखाले सूचना जारी गर्दै असोज ८ र ९ गते सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा बन्द रहने जनाएको छ । पािलकाले बालबालिकालाई सुरक्षित राख्न, खोला किनार तथा जोखिमपूर्ण क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन पाल्पाका सबै स्थानीय तहहरुले आग्रह गरेका छन् । रुपन्देहीका पनि अधिकांश पालिकाले शुक्रबार विदा दिएका छन् ।