October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

रूपन्देहीमा कहाँ–कहाँ छ बाढी–पहिरो र डुवानको जोखिम, कस्तो छ तयारी ?

Advertisement

भैरहवा– जिल्ला विपद् व्यवस्थापन समिति, रुपन्देहीले जोखिमयुक्त क्षेत्रको पहिचान गर्दै पूर्वतयारीका काम अघि सारेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय, भैरहवामा बसेको समिति बैठकले जिल्लाका ९ ठाउँलाई बढी जोखिमयुक्त क्षेत्र मानेको छ ।

Advertisement

मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न भू–भागमा मेघगर्जन, चट्याङ र भारी वर्षाको सम्भावना छ । रुपन्देहीमा बाढी, डुबान र कटानबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि तत्काल चाल्नुपर्ने रणनीतिक कदम तयारी गरी कार्यान्वयन गर्ने विपद् समितिको बैठकले निर्णय गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले रुपन्देहीका उच्च जोखिम क्षेत्र पहिचान गरी सम्बन्धित निकायलाई आवश्यक तयारी तथा सतर्कता अपनाउन निर्देशन समेत दिएको छ ।

कहाँ बढी जोखिम ?
विपद् व्यवस्थापन समितिको निर्णयअनुसार रुपन्देही र पाल्पाको सिद्धबाबा दोभान क्षेत्रको बुटवलस्थित तिनाउ नदी क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ । त्यस्तै, तिनाउ नदीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र मायादेवी गाउँपालिकादेखि दक्षिणसम्मका तिनाउ नदीका दायाँ–बायाँ आसपासका क्षेत्र पनि जोखिममा रहेको समितिको निष्कर्ष छ ।

यसैगरी तिनाउ नदी करिडोर आसपासका बजार तथा बस्ती क्षेत्र, दानव नदी करिडोर आसपासका शुद्धोधन गाउँपालिका, गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका तथा दक्षिणसम्मका नदी आसपासका क्षेत्रलाई समेत उच्च जोखिममा राखिएको छ । रोहिणी नदी आसपासका तटीय क्षेत्र, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका र सैनामैना नगरपालिका क्षेत्रका खोला तथा नदी आसपासका डुबान र कटान हुन सक्ने क्षेत्रलाई पनि जोखिमयुक्त क्षेत्रका रूपमा तोकिएको छ ।

यसैगरी, मर्चवार र मझगाँवासहित दशगजा आसपासका डुबान तथा कटान हुन सक्ने क्षेत्र, कञ्चन खोला तथा नदी आसपासका कटान र डुबान हुने सम्भावित क्षेत्र तथा पूर्व–पश्चिम राजमार्ग, सडक र आसपासका डुबान तथा कटान भई अवरोध हुन सक्ने क्षेत्रलाई समेत उच्च जोखिममा राखेर तयारी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जनाए ।

सञ्चार र ऊर्जा व्यवस्थापनमा विशेष तयारी
विपद्को समयमा सञ्चार सेवा अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यान दिँदै जिल्लाका सबै प्रहरी चौकी तथा सुरक्षा बेसहरूमा रहेका वायरलेस सञ्चार सेटका अतिरिक्त अन्य सञ्चार उपकरण तत्काल पूर्ण चार्ज अवस्थामा राख्न भनिएको छ । विद्युत् नभएको अवस्थामा जेनेरेटर तथा इन्भर्टरको व्यवस्था गर्नसमेत निर्देशन दिइएको छ ।

मोबाइल नेटवर्क तथा सोलार पावर बन्द हुने सम्भावना उच्च भएकाले गाउँबस्तीबाट वडा कार्यालयसम्म सूचना ल्याउन प्रत्येक टोलमा स्थानीय स्वयंसेवक वा युवा क्लबका सदस्यलाई सूचनादूतका रूपमा सम्बन्धित पालिकाले तोक्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन र सुरक्षा निकायका मुख्य केन्द्रहरूमा वैकल्पिक रेडियो फ्रिक्वेन्सी तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र २४ सै घण्टा निरन्तर खुला राख्ने निर्णय पनि गरिएको छ ।

सम्बन्धित निकायलाई जिम्मेवारी
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिले २४ सै घण्टा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय राख्नेछ । भारी वर्षाको अवधिमा जोखिमयुक्त सडकखण्डमा रात्रिकालीन तथा अत्यावश्यक बाहेकका यातायातका साधन रोक्ने व्यवस्था मिलाइनेछ ।

स्थानीय तह तथा वडा कार्यालयहरूले स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र र वडा स्तरीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई सक्रिय गराई जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा, जस्तै विद्यालय तथा पक्की भवनमा अस्थायी स्थानान्तरण गराउने र वडा स्तरमै उद्धार सामग्री तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।

सुरक्षा निकाय—नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान—ले ‘कोर रेस्पोन्स टिम’लाई खोज तथा उद्धारका आवश्यक औजारसहित तयारी अवस्थामा राख्ने तथा मुख्य बाढी तथा डुबान प्रभावित क्षेत्र आसपास आवश्यक सामग्रीसहित सुरक्षाकर्मी परिचालन गर्नेछन् ।

स्वास्थ्यकर्मी तथा अस्पताललाई आकस्मिक औषधि, सलाइन, एन्टिबायोटिक्स तथा प्राथमिक उपचार सामग्रीको पर्याप्त मौज्दात सुनिश्चित गर्न र एम्बुलेन्सलाई इन्धनसहित तयारी अवस्थामा राख्न भनिएको छ ।

नेपाल रेडक्रस तथा गैरसरकारी संस्थाहरूले गैरखाद्य राहत सामग्री—त्रिपाल, कम्बल, भाँडाकुँडा तथा शुद्धीकरण चक्की—को मौज्दात तत्काल अद्यावधिक गरी स्वयंसेवक परिचालनका लागि तयारी अवस्थामा राख्नेछन् ।

त्यस्तै, सञ्चारकर्मी तथा पत्रकारहरूले अनावश्यक अफवाह नियन्त्रण गरी आधिकारिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा सुरक्षात्मक उपायहरू निरन्तर स्थानीय भाषाशैलीमा प्रवाह गर्ने निर्णय गरिएको छ ।

नेपाल टेलिकम तथा नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणका काम कुन–कुन स्थानमा सञ्चालनमा छन्, कुन–कुन स्थानमा अवरुद्ध छन् र विद्युत् अवरुद्ध भएमा कसरी शीघ्र सञ्चालनमा ल्याउने भन्नेबारे तयारी गर्ने तथा नेपाल टेलिकमले भरपर्दो सूचना प्रणालीमार्फत सूचना सम्प्रेषण गरी नागरिकलाई सचेत गराउनेछ ।

सडक अवरोध हटाउन आवश्यक उपकरणसहित तयारी
सडक डिभिजन कार्यालय, हेभी इक्युमेन्ट डिभिजन कार्यालय, बुटवल तथा बुटवल–गोरुसिङ्गे सडक आयोजनाले आपसमा समन्वय गरी राजमार्ग, सडक, खोला तथा माटोको थुप्रो, खोलामा थुप्रिएका सामग्री, पुल नजिक थुप्रिन गएको नदीजन्य पदार्थका कारण पूर्व–पश्चिम राजमार्ग तथा सडक–बाटो अवरुद्ध भएमा तत्काल खोल्न आवश्यक उपकरणसहित तयारी अवस्थामा रहने निर्णय गरिएको अर्यालले बताए ।

नदी तथा खोलाको बहाव बढ्न सक्ने र डुबान तथा कटान हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै माइकिङ वा स्थानीय सूचना संयन्त्रमार्फत नदी किनार तथा जोखिम स्थानका बासिन्दालाई सतर्क गराई आवश्यकतानुसार व्यवस्थापन गर्ने भनिएको छ ।

खाद्य तथा इन्धनको आपूर्ति तथा भण्डारण सुनिश्चित गर्न सम्पूर्ण स्थानीय तहले आवश्यक व्यवस्था गर्नेछन् । मौसमको अवस्थालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्नुपर्ने भएमा सम्बन्धित स्थानीय तहले विपद्को अवस्थालाई हेरी सार्वजनिक बिदाका लागि आवश्यक निर्णय गर्न सक्नेछन् ।

त्यस्तै, असोज ९ देखि ११ गतेसम्म लामो दूरीको यात्रा नगर्न–नगराउन तथा अत्यावश्यक कामबाहेक यातायातका साधन सञ्चालन नगर्न सम्बन्धित यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहले सम्भावित जोखिम क्षेत्र तथा स्थानका बस्तीलाई समयमै जानकारीमूलक सूचना सम्प्रेषण गरी उचित व्यवस्थापन गर्नेछन् ।

निर्णय कार्यान्वयनमा कुनै द्विविधा भएमा सरोकारवाला सबैले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ र मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ बमोजिम निर्णय कार्यान्वयन गर्ने भनिएको छ ।

विपद् पूर्वतयारीमा गरिएको थोरै लगानी र प्रभावकारी समन्वयले ठूलो धनजनको क्षति रोक्न सकिने भएकाले सम्बन्धित सरोकारवाला निकायहरूले तत्काल निर्णय कार्यान्वयनमा ल्याउनुपर्नेमा समेत जोड दिइएको छ ।