October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

बँदेलको उपद्रोले अर्घाखाँचीका किसान हैरान

Advertisement

अर्घाखाँची–बसाइँसराइ, वैदेशिक अध्ययन तथा रोजगारीका कारण पहाडी जिल्लाका ग्रामीण बस्तीहरू क्रमशः रित्तिँदै गएका छन् । सडक, विद्युत् र खानेपानीजस्ता पूर्वाधार गाउँसम्म पुगे पनि खेती गर्ने जनशक्ति अभाव हुँदा धेरै घर खाली हुन थालेका छन् ।

Advertisement

अधिकांश घरमा वृद्धवृद्धा मात्रै बस्ने अवस्था छ भने खेतीयोग्य जमिन बाँझिँदै जाँदा कतिपय स्थानमा खेतबारी झाडी र जंगलमा परिणत भएका छन् ।

त्यसमाथि जंगली जनावरको बढ्दो प्रकोपले गाउँमा बाँकी रहेको खेतीपाती पनि संकटमा परेको छ । यस खालको समस्याबाट प्रताडित हुन पुगेको जिल्ला हो, अर्घाखाँची । अर्घाखाँचीका ग्रामीण क्षेत्रमा दिनहुँ बाँदर र रातको समयमा बँदेलले अन्नबाली, तरकारी तथा फलफूलमा क्षति पु¥याउन थालेपछि किसान थप समस्यामा परेका छन् ।

बँदेलको उपद्रो नियन्त्रण गरी बालीनाली जोगाउन अर्घाखाँचीमा २९ जनाले सिकार अनुज्ञापत्र (लाइसेन्स) का लागि आवेदन दिएका छन् । तर आवेदन दिएको लामो समय बितिसक्दा पनि अनुज्ञापत्र स्वीकृत नहुँदा किसानहरू चिन्तित छन् ।

डिभिजन वन कार्यालय अर्घाखाँचीले वन्यजन्तुबाट हुने बालीनालीको क्षति न्यूनीकरणका लागि हातहतियार राख्ने अनुमति भएका इच्छुक नेपाली नागरिकबाट सिकार अनुज्ञापत्रका लागि आवेदन माग गरेको थियो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले अनुज्ञापत्रका लागि आवेदन दिने २९ जनामध्ये जिल्लाभित्रका भने तीन जना मात्रै रहेको जनाए । उनका अनुसार, सङ्कलित निवेदन जिल्ला सुरक्षा समितिमा छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । समितिले सिकारका लागि कुन क्षेत्र तोक्ने र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा माथिल्लो निकायमा लेखी पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवश जिसीले प्रक्रिया पूरा भएका कागजात माथिल्लो निकायमा पठाइएको जनाए ।

मालारानी गाउँपालिका–५ आरुखोरका शोभाकर खत्रीले रातको समयमा बँदेल बारीमा पसेर पाक्दै गरेको अन्नबाली नष्ट गर्ने गरेको बताए । ‘बँदेल राति कतिबेला बारीमा पस्छ थाहै हुँदैन । कुरेर बस्दापनि आँखा छलेर छिनभरमै बाली खाइदिन्छ’ खत्रीले भने ।

दिउँसो बाँदरको समूहले अन्नबालीमा क्षति पु¥याउने र राति बँदेलले नोक्सान गर्ने गरेका कारण खेती जोगाउन निकै मुस्किल परेको किसानको भनाइ छ । वर्षभरि मेहनत गरेर उत्पादन गरेको बाली जंगली जनावरले नष्ट गर्न थालेपछि किसान खेतीप्रति नै निराश बन्न थालेका छन् ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्काले किसानको समस्यालाई ध्यानमा राखेर कानुनले दिएको अधिकारभित्र रहेर प्रक्रिया अगाडि बढाइएको बताए । उनका अनुसार बँदेलको सिकारका लागि क्षेत्र, समय र दिन तोकेर मात्रै अनुमति दिइनेछ ।

कार्यालयले जारी गरेको सूचनाअनुसार अनुज्ञापत्रका लागि सात हजार रुपैयाँ राजस्व तिर्नुपर्नेछ । त्यसबाहेक एउटा बँदेल मारेबापत थप पाँच हजार रुपैयाँ राजस्व तिर्नुपर्ने व्यवस्था छ । अनुज्ञापत्र प्राप्त गरेपछि तोकिएको क्षेत्र, दिन र समयमा तोकिएका सर्त पालना गरेर मात्रै सिकार गर्न पाइनेछ ।