October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

केरा खेतीमा फैलियो ब्ल्याक सिगाटोका रोग, किसान चिन्तित

Advertisement

भैरहवा– केरा खेतीमा रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन् । पश्चिम नवलपरासीमा केराखेतीमा ब्ल्याक सिगाटोका रोग देखिएको हो । जसका कारण किसान चिन्तित बनेका हुन् । सुस्ता र प्रतापपुर क्षेत्रमा व्यावसायिक रूपमा लगाइएको केराखेतीमा अहिले रोगको समस्या व्याप्त छ । करिब दुई महिनाअघिसम्म यहाँका किसानले उत्पादन गरेको केराले राम्रो मूल्य पाएको थियो । उसबेला एक दर्जन केराको मूल्य ८० रुपैयाँसम्म पाएको किसानहरू बताउँछन् ।

Advertisement

राम्रो मूल्य पाएपछि किसान केराखेती विस्तार गर्न उत्साहित भएका थिए । तर, अहिले भने अवस्था फेरिएको छ । धेरैजसो केराका बगैँचामा ब्ल्याक सिगाटोका रोग देखिएको छ । कतिपय बगैँचामा रोग धेरै फैलिएको छ भने कतिपयमा आंशिक रूपमा मात्रै देखिएको केरा किसान तथा केरा जोन संचालक समिति संयोजक युवराज मौर्याले बताए । ‘केराले राम्रो बजार पाइरहेका बेला रोगको प्रकोपले लागत पनि डुब्ने अवस्था आयो’, उनले भने ।

यो रोग लागेपछि सुरुमा केराको पातमा साना खैरा वा कालो धर्सा र धब्बा देखिन्छन् । रोग बढ्दै जाँदा ती धब्बा फैलिँदै जान्छन् । त्यसपछि पात पहेँलिँदै सुक्न थाल्छ । बोटमा हरिया पातको संख्या घट्दै जाँदा केराको वृद्धि र फलको विकासमा समेत असर पुग्ने कृषि प्राविधिकहरू बताउँछन् । बोटका पात माथिबाट सुक्दै जाने र विस्तारै तलतिर पनि सुक्दै जाँदा बोट कमजोर हुने समस्या देखिएको छ । यसले किसानलाई थप चिन्तित बनाएको प्रतापपुर गाउँपालिकाका केरा किसान नारायण कोइरीले जनाए । ‘रोगले सबै किसानले लगाएको व्यवसायिक केरा खेती धव्स्त भयो’, उनले भने, ‘सरकारले रोग नियन्त्रण र किसानलाई सहयोग गर्न विशेष ध्यान देओस् ।’

रोगका कारण समयअगावै पाकेका केरा व्यापारीले नकिन्ने समस्या पनि देखिएको छ । त्यसपछि किसानले आफैँ नजिकका बजारमा लगेर कम मूल्यमा बिक्री गर्नुपरेको छ । अहिले रोग लागेको केरा कतिपय किसानले प्रतिदर्जन २० देखि २५ रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । सिगाटोका लागेको केरा खान मिल्ने कृषि प्राविधिकहरुको भनाई छ । रोग नलागेको केराको मूल्य पनि पहिलेको तुलनामा घटेको छ । किसानका अनुसार अहिले राम्रो केराको मूल्य करिब ४० रुपैयाँ प्रतिदर्जनसम्म छ ।

रोग देखिएपछि केही किसानले भारतबाट विषादी ल्याएर प्रयोगसमेत गरेका थिए । तर, त्यसबाट अपेक्षित रूपमा रोग नियन्त्रण नभएपछि किसानले प्राविधिकलाई जानकारी गराएका हुन् । किसानले जानकारी गराउँदा केरामा रोग देखिएको डेढ महिना भइसकेको बताइएको छ । त्यस अवधिमा रोग धेरै क्षेत्रमा फैलिसकेको थियो । समस्या बढ्दै गएपछि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीले बाली उपचार शिविर सञ्चालन गरेको छ ।

शिविरमार्फत किसानलाई केरामा देखिएको रोगको पहिचानबारे जानकारी दिइएको छ । त्यस्तै, रोग फैलिने कारण र बगैँचा व्यवस्थापनका विषयमा पनि किसानलाई जानकारी गराइएको छ । रोग नियन्त्रणका उपायबारे जानकारी दिनुका साथै आवश्यक विषादी वितरण गरिएको छ । विषादी कसरी र कुन विधिबाट प्रयोग गर्ने भन्नेबारे पनि किसानलाई सिकाइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीका प्रमुख सालीकराम पौडेलले बताए ।

‘रोगको वास्तविक अवस्था पहिचान गर्न बाली रोग विशेषज्ञसहितको प्राविधिक टोलीले केराका बोट र पातको नमूना संकलन गरेको छ । नमूना परीक्षण र रोगको अवस्था हेरेर आवश्यक उपचार तथा व्यवस्थापन विधिबारे किसानलाई जानकारी गराइएको छ’, उनले भने । कृषि प्राविधिकका अनुसार ब्ल्याक सिगाटोका नियन्त्रणका लागि रोग लागेका पात र बोटको उचित सरसफाइ महत्वपूर्ण हुन्छ । त्यस्तै, बगैँचामा हावाको आवतजावत र चिस्यान व्यवस्थापनमा पनि ध्यान दिनुपर्छ । विषादी प्रयोग गर्दा प्राविधिकको सिफारिसअनुसार मात्रै उपचार गर्न आवश्यक हुन्छ । रोग लागेका पात हटाउँदा रोग फैलाउने स्रोत कम गर्न सहयोग पुग्छ । यसले समयअगावै फल पाक्ने समस्या पनि कम गर्न सहयोग गर्ने बाली रोग विशेषज्ञ तथा वरिष्ठ कृषि वैज्ञानिक लक्ष्मण अर्यालले बताए ।

तर, किसानले आफैँ अनुमान गरेर विषादी प्रयोग गर्ने गरेका छन् । यसले समस्या समाधान हुनुको साटो केराखेतीमा रोग हरेक वर्ष बढ्दै गएको कृषि प्राविधिकहरू बताउँछन् । एकातर्फ राम्रो मूल्य पाएपछि किसानले केराखेती विस्तार गरिरहेका छन् । अर्कोतर्फ रोगका कारण अहिले उत्पादन र बजार दुवैतर्फ समस्या देखिएको छ । केराखेतीको क्षेत्र विस्तार भइरहेका बेला रोग नियन्त्रणका लागि समयमै प्राविधिक सेवा र प्रभावकारी व्यवस्थापन आवश्यक देखिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सुस्ता र प्रतापपुर क्षेत्रमा सञ्चालनमा रहेको केरा जोन पछिल्लो पाँच वर्षमा ९४० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । यति ठूलो क्षेत्रमा फैलिएको केराखेतीमा देखिएको रोग नियन्त्रणका लागि किसान, प्राविधिक, स्थानीय तह र सम्बन्धित निकायबीचको समन्वय अझ महत्वपूर्ण देखिएको छ ।