लुम्बिनीमा भारी वर्षा, बाढी–पहिरो र डुबानको जोखिम, कस्तो छ सरकारको तयारी ?



भैरहवा– मौसम विज्ञान विभागले असोज ९ गतेदेखि केही दिन लुम्बिनी प्रदेशसहित विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरे पनि लुम्बिनी सरकारले तयारी थालेको छ । मुख्यमन्त्रीले अपिल जारी गर्दै सतर्कता रहन आग्रह गरेका छन् ।
यस्तै, लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानुन, कृषि तथा यातायात मन्त्रालयले पनि विशेष मौसम बुलेटिनका आधारमा प्रदेशमा भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
मन्त्रालयले रातिको समयमा अत्यधिक वर्षा भइरहेको अवस्थामा जोखिमयुक्त सडकमा सवारीसाधन नचलाउन तथा यात्रा गर्नुअघि सडकको अवस्था र स्थानीय प्रशासन तथा यातायातसम्बन्धी सूचना बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
त्यस्तै, सम्बन्धित जिल्ला, स्थानीय तह, तीनै तहका सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालाले आम सर्वसाधारणलाई सुसूचित गराई आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।
सडकमा पहिरो, ढुंगा खस्ने, सडक भासिने वा पानीको बहाव बढेको अवस्था देखिएमा जोखिम मोलेर बाटो पार नगर्न तथा सुरक्षित स्थानमा रोकिन र सम्बन्धित निकायलाई जानकारी गराउन भनिएको छ। सम्भव भएसम्म सम्बन्धित निकायले जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा डोजर, एक्स्काभेटर, लोडरलगायत आवश्यक उपकरण तथा साधनहरू तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ।
जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, वडा कार्यालय, आपत्कालीन कार्य सञ्चालन केन्द्र तथा सुरक्षा निकायबाट जारी हुने निर्देशनको सबैले पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ। जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकहरूले पूर्वसूचनाका आधारमा जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा घरपरिवारलाई विपद् हुनुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक पहल गर्न भनिएको छ।
असुरक्षित तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने बासिन्दाले विशेष सावधानी अपनाई सुरक्षित स्थानमा बस्न, नदी तथा खोलाको किनारमा पानीको सतह तीव्र रूपमा बढेको, पानी धमिलो भएको, ढुंगा वा रुख बगाउँदै आएको देखिएमा वा असामान्य आवाज सुनिएमा तुरुन्तै अलमल नगरी सुरक्षित स्थानतर्फ जान मन्त्रालयले आग्रह गरेको छ।
जोखिममा रहेका गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सहयोग आवश्यक पर्ने व्यक्तिको पहिचान गरी विपद्को अवस्थामा उनीहरूलाई सुरक्षित स्थानान्तरण गर्न आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ।
यस्तै, पशुपन्छी, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न, नेपाल मौसम विज्ञान विभाग, गृह मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीबारे नियमित जानकारी लिन र निर्देशनको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले मौसमको सूचना अनुसार खेती–किसानीमा समेत ध्यान दिन अनुरोध गरेको छ । आपत्कालीन अवस्थामा वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्को समयमा सहयोग आवश्यक परेमा १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल नेपालको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सबैलाई “सतर्क रहौं, पूर्वतयारी गरौं र सम्भावित विपद्को जोखिम न्यूनीकरणमा सहयोग गरौं” भन्ने अनुरोधसमेत गरेको छ।








प्रतिकृया दिनुहोस्