October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

कोहलपुरमा अनलाइन सट्टेबाजीको आरोपमा ४२ जना पक्राउ

Advertisement

नेपालगन्ज–बाँकेको कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा प्रहरीले छापा मारेर अनलाइन जुवा तथा सट्टेबाजीमा संलग्न रहेको आरोपमा ४२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० जना भारतीय नागरिक र दुई जना नेपाली नागरिक छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार मंगलबार राति करिब ८ बजे होटलमा अनलाइन जुवा खेलाउने कार्य भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको हो ।

पक्राउ परेकाहरूको साथबाट २८ वटा ल्यापटप र ७८ वटा मोबाइल फोन बरामद गरेको उनले जनाए । होटलबाट अन्य विद्युतीय उपकरणसमेत बरामद गरिएको र ती सामग्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरू अनलाइन सट्टेबाजीसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको खुलेको प्रहरीको भनाइ छ । यद्यपि उनीहरूको बिगतको पृष्ठभूमि लगायत विषयमा विस्तृत अनुसन्धान प्रहरीले गरिरहेको छ ।

राठौरले घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि मात्रै सार्वजनिक गर्न सकिने बताएका छन् । बरामद भएका विद्युतीय उपकरणको समेत सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलाइन जुवा तथा सट्टेबाजीको प्रचारप्रसार बढ्दै गएको र प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको उनले बताए ।