बाँकेमा गत आव ८ सय २४ वटा विपद्का घटनामा ७३ जनाको मृत्यु



नेपालगन्ज–गत आव बर्ष २०८२–०८३ मा बाँके जिल्लामा विभिन्न बिपद्का घटनामा परेर ७३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । बिपद्मा परेर ८४५ जना घाइते भएका थिए ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को २०औँ अद्यावधिक विवरण अनुसार, गत आवमा ८ सय २४ वटा विपद्का घटनाबाट ६५ वटा घर प्रभावित भएका थिए । ४ वटा घर पूर्ण र ६१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका थिए । विपद्का कारण ४३ चौपायाको मृत्यु र ६ वटा घाइते भएका थिए ।
जिल्ला विपद व्यवस्थापन समिति बाँकेका सूचना व्वयवस्थापन अधिकृत रुपन ज्ञवालीले गत आवको एक वर्षको अवधिमा सबैभन्दा धेरै सडक दुर्घटनाका ७७४ वटा घटना भएको जनाए ।
सडक दुर्घटनामा ६९ जनाको मृत्यु र ५४० जना घाइते भएका थिए । आगलागीबाट २३ चौपायाको मृत्यु भएको विवरणमा उल्लेख छ । बाढी तथा डुबानका ६, पानीमा डुबानका तीन, करेन्टका तीन, हावाहुरीको एक र चट्याङको एक घटना भएका थिए । विपद्बाट भएको कुल अनुमानित भौतिक क्षति एक करोड ८४ लाख ८८ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ । तथ्यांकले बाँकेमा बाढीलाई हरेक वर्ष दोहोरिरहने प्रमुख विपद्का रूपमा देखाएको छ ।
गर्मीयाम सुरु भएसँगै बाँकेमा आगलागीको जोखिम बढ्ने गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को २०औँ अद्यावधिक विवरणले जिल्लामा आगलागी पनि निरन्तर रूपमा दोहोरिने प्रमुख विपद्का रूपमा रहेको देखाएको छ ।
विपद् व्यवस्थापन समितिको विवरणले डुडुवा गाउँपालिकाका होलिया र बेतहनी क्षेत्र तथा नैनापुर गाउँपालिकाका गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कट्कुइया क्षेत्रमा आगलागीका घटना बढी हुने गरेको देखाएको छ ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष दिलकुमार तामाङका अनुसार पश्चिम राप्ती नदीमा आउने बाढी, गर्मीयाममा हुने आगलागी तथा हिउँदमा चल्ने शीतलहरका कारण जिल्लाका अधिकांश परिवार तथा समुदाय विपद्को जोखिममा छन् ।








प्रतिकृया दिनुहोस्