रसुवा बाढीपछि भदौमा रूपन्देहीमा मात्रै दुई सय बढी बुकिङ रद्ध



भैरहवा– रसुवा बाढी पछि पर्यटन क्षेत्रमा नकारात्मक असर परेको भन्दै व्यवसायीले सरकारले नै अन्तर्राष्ट्रिय बजारमा नेपाल सुरक्षित छ भनेर प्रचार गर्नुपर्ने माग गरेका छन् । सीमित क्षेत्रमा गएको बाढीबारे भारत लगायत तेस्रो मुलुकमा नेपालभरी बाढीले प्रभाव पारेको अफबाह फैलाइँदा पर्यटन क्षेत्रले सिजनै ठूलो क्षति व्यहोरेको व्यवसायीको भनाई छ ।
‘हाम्रो होटलका मात्रै २०–२५ वटा बुकिङ रद्ध भए’, भैरहवास्थित चारतारे मौर्य होटल प्रालिका महाप्रबन्धक ओमप्रकाश पाण्डे भन्छन्, ‘केही भारतीय मिडियाले नेपाल असुरक्षित रहेको प्रचारले पनि प्रभाव पारेको छ । यसमा हामी सबैले हातेमालो गरेर भ्रम चिर्न लाग्नुपर्छ ।’ उनले यसपटक तीजमा पनि कुनै होटलले कार्यक्रम नगरेको जनाए ।
व्यवसायीका अनुसार रसुवा बाढीपछि रुपन्देहीका बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रका होटलमा मात्रै विदेशी पर्यटकले अग्रिम बुकिङ गरेका करिब २ सय बुकिङ रद्ध गरेका छन् । जसले पर्यटन क्षेत्रमा ठूलो क्षति भएको व्यवसायी बताउँछन् । यहाँका पर्यटन व्यवसायीले भदौ १० मा रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।
‘बाढी कारण नेपाल असुरक्षित रहेको सन्देश विश्वबजारमा फैलिएपछि प्याकेजमा नेपाल भ्रमणमा आउने पर्यटकले बुकिङ रद्ध गरेका हुन्’, पाण्डेय भन्छन्, ‘छोटो अवधिका लागि आउने भारतीय पर्यटक देखिए पनि रुपन्देही हुँदै मुलुकमा प्रमुख गन्तव्यमा जाने पर्यटकले भ्रमण योजना रद्ध गरेका छन् ।’
भदौमा मात्रै रुपन्देहीमा भारतीय तथा तेस्रो मुलुकका पर्यटकले करिब २ सय बुकिङ रद्ध गरेको व्यवसायी बताउँछन् । यस्तो प्रभाव मुलुकभर रहेकाले ठूलो नोक्सानी पर्यटन क्षेत्रले व्यहोरोले व्यवसायीको दुखेसो छ । ‘धेरै दिनका लागि नेपाल आउने तय गरेका पर्यटकले बुकिङ रद्ध गरेको र पुनः त्यस्ता बुकिङ आउन छाडेका छन्’, नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रबहादुर थापा भन्छन्, ‘सीमित ठाउँमा भएको घटनाले अन्य ठाउँमा प्रभाव नपर्नु पर्नेमा सबै क्षेत्र प्रभावित भएको छ । यसैले सरकारी तहबाटै पुनर्जागरण जरुरी छ ।’
व्यवसायीका अनुसार यतिबेला नेपालमा पर्यटक आउने प्रमुख सिजन हो । ‘यही बेला पर्यटकले बुकिङ रद्ध गरेपछि पर्यटन क्षेत्रमा गम्भीर असर परेको छ । चाडपर्व सुरु भइसकेकाले अधिकांश होटलमा पर्यटकले बुकिङ र जमघटका कार्यक्रम तय गरेका थिए । ती धेरै रद्ध भएका छन्’, थापा भन्छन्, ‘हामीले हाम्रो संयन्त्रबाट विश्वबजारमा नेपाल सुरक्षित छ भनिरहेका छौं । सरकारले पनि यसमा पहल गरोस् ।’
प्रकोपका कारण नेपाल सुरक्षित नरहेको खबर फैलिएपछि आन्तरिक र बाह्य पर्यटकले भैरहवा, लुम्बिनी, बाँके, बर्दिया, पोखरा र चितवनका होटलमा बुकिङ रद्ध धेरै मात्रामा गरेका थिए । जसले पर्यटकीय याममै मुख्य गन्तव्य र होटल सुनसान भइरहेको व्यवसायी बताउँछन् ।
दैनिक सवारी लिएर सीमा क्षेत्रका सहरमा खानपिन र रमाइलो गर्न आउने भारतीयहरु समेत भदौभर सीमा खासै आएनन् । ‘असोज लागेपछि सीमावर्ती सहरमा भारतीय पर्यटक आउने क्रममा केही सुधार भए पनि प्याकेजमा घुम्न आउने ह्वात्तै घटेका छन्’, होटल संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ भन्छन्, ‘बाढीले पर्यटन क्षेत्र प्रभावित भएकाले अन्य क्षेत्र सुरक्षित छ भन्ने सन्देश सरकारी तहबाटै प्रभाव हुनुपर्ने देखिन्छ । यसमा निजी क्षेत्रले हातेमालो गर्ने नै छ ।’
मुख्य सिजन अक्टोबर–नोभेम्बरका लागि गरिएका बुकिङ रद्ध भएपछि व्यवसायी चिन्तित भएका हुन् । सरकारले अग्रसरता लिएर नेपालस्थित विदेशी दुताबास र अन्तर्राष्ट्रिय संचारमाध्यम मार्फत् मुलुकको अवस्था सहज बन्दै गएर विदेशी पाहुनालाई स्वागत गर्न आतुर रहेको सन्देश दिनुपर्ने होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका केन्द्रीय महासचिव राजेश महोत्रा क्षेत्र बताउँछन् । ‘मुलुकमा सहज अवस्था रहेकोबारे तत्काल सरकारले अन्तर्राष्ट्रिय स्तरमा सन्देश दिन नसके पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुनसक्छ’, उनले भने, ‘पछिल्ला दिनमा विभागीय मन्त्रीले केही प्रयास गरेको जस्तो देखिन्छ । तर त्यो पर्याप्त छैन । यसमा ध्यान दिनुपर्छ ।’








प्रतिकृया दिनुहोस्