जीर्ण बन्दै लुम्बिनी गेट



भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको भैरहवास्थित बुद्धचोकको ‘लुम्बिनी गेट २०११’ अहिले चरम जिर्ण र उपेक्षित बनेको छ । कुनै समय पर्यटकीय सहरको शानका रूपमा उभिएको यो गेटको माथिल्लो भाग उक्किएर क्षतिग्रस्त बनेको छ भने संरचना दुई स्थानमा भत्किएर जोखिमपूर्ण अवस्थामा पुगेको छ ।
विश्वभरका पर्यटक, बौद्ध धर्मालम्बी र आन्तरिक यात्रीहरू लुम्बिनी प्रवेश गर्ने मुख्य मार्गमै रहेको यो गेट अहिले स्थानीय, प्रदेश र सङ्घीय तीनवटै सरकारको बेवास्ताका कारण अलपत्र परेको छ । जिल्लाकै शान मानिने यस स्थलमा आयोजना हुने प्रमुख धार्मिक तथा सांस्कृतिक कार्यक्रममा यो गेट सधैँ साक्षी रहँदै आएको छ ।
समय–समयमा आयोजना हुने धम्म यात्रा, सामूहिक ध्यान शिविर तथा विभिन्न जनचेतनामूलक कार्यक्रमहरूमा प्रमुख जिल्ला अधिकारी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, उप–प्रमुख उमा अधिकारीलगायत सरकारका प्रतिनिधि, स्थानीय उद्योगी, व्यवसायी तथा विदेशी पर्यटकहरूको बाक्लो उपस्थिति रहने गर्छ ।
विडम्बनाको कुरा, दैनिक जसो उच्चपदस्थ अधिकारीहरू, जनप्रतिनिधिहरू र दूरदराजका पर्यटकहरू यही गेटमुनिबाट आउजाउ गर्ने गरे पनि कसैको ध्यान यसको संरक्षण, मर्मत–सम्भारतिर जान सकेको छैन । नगरको मुख्य चोकमा रहेको यो ऐतिहासिक धरोहर दिनानुदिन विग्रँदो अवस्थामा पुग्दा पनि सम्बद्ध निकाय मौन बस्नुले स्थानीय सरकार तथा सरोकारवालाको बेवास्ता उजागर भएको छ । ठुलाठुला भाषण ठोक्ने स्थानीय सरकारका प्रमुख–उपप्रमुखको ध्यान किन जान सकेको छैन ? स्थानीयले प्रश्न गरेका छन् ।
लुम्बिनीको पहिचानसँग जोडिएको यो प्रवेशद्वारलाई समयमै मर्मतसम्भार र पुनःनिर्माण नगर्ने हो भने यसले सहरको सौन्दर्यता बिगार्नुका साथै जुनसुकै बेला ठूलो दुर्घटनाको जोखिम निम्त्याउन सक्छ । त्यसैले, सरकार र जनप्रतिनिधिहरूले अब भने आँखा चिम्लेर बस्नुको सट्टा तत्काल जिर्ण लुम्बिनी गेटको संरक्षण र जीर्णोद्वारमा ध्यान दिनु अत्यावश्यक रहेको स्थानीय सुमन न्यौपाने बताउँछन् ।








प्रतिकृया दिनुहोस्