October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

संसदीय समितिहरू पुरानै पारामा चलेः सांसद ढकाल

Advertisement

भैरहवा– गुल्मी–१ का प्रतिनिधिसभा सदस्य सागर ढकालले संसदीय समितिहरू पुरानै पारामा चलेको भन्दै आक्रोश व्यक्त गरेका छन् । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद ढकालले सो कुरा बताएका हुन् ।

Advertisement

‘अबको केही दिनमा हामी सांसद भएको ६ महिना पुग्छ, यो भनेको ५ वर्षे कार्यकालको १० प्रतिशत समय हो । यत्तिको समयसम्म पनि हामीले के काम गर्‍यौँ । संसदीय समितिहरूले सरकारलाई निर्देशन कति दिन सक्यो, सभापतिज्यू निर्णय गरौँ,’ ढकालले समितिका सभापति अशोक कुमार चौधरीलाई इङ्गित गर्दै भने ।

उनले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कर्मचारीले दिएको सुझाव र विषय समितिमा छलफल गरेर मात्रै नहुने भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘यहाँ समितिका नार्कका कर्मचारीले यति राम्रो सुझाव र विषय उठाएका छन् तर कार्यान्वयनको पाटो हाम्रो जिम्मेवारी हो । त्यसमा चुक्नुहुँदैन,’ उनले भने ।

कृषि तथा प्राकृतिक स्रोत समितिमा नार्क अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायका सम्बन्धमा छलफल भइरहेको छ ।