October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

संविधान कार्यान्वयन, संवाद र सहकार्यमा मुख्यमन्त्रीको जोड

Advertisement

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकमा देखिएको वर्तमान जटिल परिस्थितिको समाधान संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक प्रक्रिया, संवाद र सहकार्यबाट खोजिनुपर्ने बताएका छन् ।

Advertisement

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले संविधानले प्रत्याभूत गरेका नागरिक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । संवैधानिक व्यवस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनले उल्लेख गरेका छन् ।

नेपालको संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको महत्वपूर्ण आधार भएको र संविधानबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै यसको मर्मअनुसार राज्यका सबै तह अघि बढ्नुपर्ने उनको भनाइ छ । यसका लागि राष्ट्रिय एकता, सहकार्य र जिम्मेवारीबोधलाई थप सुदृढ गर्न आवश्यक रहेको उनले जनाएका छन् ।

लुम्बिनी प्रदेश सरकारले संविधानले दिएको अधिकार र जिम्मेवारी कार्यान्वयन गर्दै सङ्घीयतालाई थप बलियो बनाउने तथा नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्ने नीति लिएको मुख्यमन्त्री आचार्यले उल्लेख गरेका छन् । सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखिएको उनले जनाएका छन् ।

प्रदेश सरकारले भौतिक पूर्वाधारसँगै कृषि, उद्यमशीलता, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा समेत प्राथमिकताका साथ काम गरिरहेको उनले बताएका छन् ।

नेपालको संविधान नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको महत्वपूर्ण उपलब्धि भएकोे उल्लेख गर्दै आचार्यले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै मौलिक हक, सामाजिक न्याय, समानता, समावेशिता, कानुनी शासन तथा लोकतान्त्रिक मूल्य मान्यतालाई सुनिश्चित गरेको उनको भनाइ छ ।