नागरिकता बनाउन जाँदा…



बर्दिया—जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय सुनाइएपछि फरार रहेका एक प्रतिवादी नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका बेला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–७ का २९ वर्षीय कृष्ण चमार रहेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार नयाँ नागरिकता बनाउन कार्यालय पुगेका चमारलाई गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउपछि चमारलाई जिल्ला प्रहरी कार्यालयमार्फत जिल्ला अदालत बर्दियामा पेस गरिएको थियो। अदालतको आदेशपछि उनलाई शुक्रवार नै बर्दिया कारागार चलान गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए।
ढकालका अनुसार बर्दिया जिल्ला अदालतले २०७२ फागुन १० गते जबरजस्ती करणी मुद्दामा चमारलाई १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध चमारले उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा पुनरावेदन गरेका थिए ।
उच्च अदालत तुलसीपुरले चमारलाई पाँच वर्ष कैद हुने फैसला गरेको थियो । पीडित पक्षले उच्च अदालतको फैसलामा असहमति जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । सर्वोच्च अदालतले जिल्ला अदालत बर्दियाको फैसला सदर गरेपछि चमार फरार रहेका थिए।








प्रतिकृया दिनुहोस्