बुटवलमा वामपन्थी दलहरूबारे शनिबार विचार गोष्ठि हुँदै, भीम रावल मुख्य वक्ता



बुटवल– संविधान दिवसका दिन शनिबार बुटवलमा ‘वर्तमान राजनैतिक परिस्थितिमा बापन्थी दलहरुको भूमिका’ बिषयक विचार गोष्ठि हुने भएको छ ।
गोष्ठिलाई वैचारिक तथा देशभक्ति एव् नेकपाका नेता भिम रावलले सम्बोधन गर्नेछन् । पुष्पलाल मित्रता केन्द्रको आयोजनामा बुटवल योगिकुटी स्थित सिद्धार्थ कटेजमा लुम्बिनी प्रदेश स्तरीय विचार गोष्ठि हुनेछ ।
उक्त गोष्ठिमा भिम रावल प्रमुख वक्ता हुन् भने नेकपाका नेता चक्रपाणि खनाल, नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम, क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य कृष्ण पौडेल, वाम बुद्धिजिवी घनश्याम पाठक, पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले आफ्नो विचार राख्ने छन् ।
४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा फेरिएको राजनैतिक परिदृश्यमा वामपन्थी एकता र लोकतान्त्रिक शक्तिविचको सहकार्य गराउने उदेश्यले देशैभर विचार गोष्ठि गरिएको पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले बताए ।
मुलुकमा प्रतिक्रान्तिमा अगाडि बढिरहेको बेला कम्यूनिष्ट जोडने अभियान स्वरूप लुम्बिनीमा शनिबार कार्यक्रम गर्न लागिएको खतिवडाले बताए । कम्यूनिष्टहरू एकजुट नभए देश दीर्घकालिन संकटमा जान सक्ने भएकाले देशव्यापी रूपमा कार्यक्रम गरेको उनको भनाई छ । यसअघि पुष्पलाल मित्रता केन्द्रले साउन ७ गते पुष्पलाल स्मृति दिवसको सन्दर्भ पारेर बाग्मती प्रदेशबाट यो अभियानको सुरुवात गरेको थियोे ।
बाग्मतीमा नेकपाका संयोजक प्रचण्डले सम्बोधन गरेका थिए । यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा देव गुरूङ, सुदुरपश्चिमको धनगढीमा भएको कार्यक्रmमा नारायणकाजी श्रेष्ठ, मधेश प्रदेशको जनकपुरमा भएको कार्यक्रममा नेकपा सहसंयोजक माधव कुमार नेपाल, कोशी प्रदेशको इटहरीमा भएको कार्यक्रममा राजेन्द्र प्रसाद पाण्डे र गण्डकीको पोखरामा भएको कार्यक्रमलाई एमाले नेता सुरेन्द्र पाण्डेले सम्बोधन गरेका थिए ।
कार्यक्रमले वैचारिक रुपमा कम्युनिष्ट पार्टी र लोकतान्त्रिक शक्तिलाई जोड्न आयोजना गरिएकाले इच्छुकहरुलाई सहभागी हुन नेकपा लुम्बिनीका संयोजक अब्दुल हुसेनले आग्रह गरे । उनका अनुसार कार्यक्रम विहान ११ बजेदेखि बुटवल योगिकुटी स्थित सिद्धार्थ कटेजमा हुनेछ ।








प्रतिकृया दिनुहोस्