October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

कार्यशाला गोष्ठीः रूपन्देहीलाई प्रदेशकै क्रिकेट केन्द्र बनाउन सुझाव

Advertisement

भैरहवा– रुपन्देही क्रिकेट संघको आयोजनामा जिल्लाको क्रिकेट विकास, व्यवस्थापन, खेलाडी उत्पादन तथा आगामी रणनीतिका विषयमा केन्द्रित रहेर पहिलोपटक एकदिवसीय कार्यशाला गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

कार्यशालामा नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट विकास प्रबन्धक तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासले जिल्ला क्रिकेट संघको व्यवस्थापन, क्रिकेट विकासको आगामी मार्गचित्र, खेलाडी उत्पादन तथा प्रतिभा पहिचान, खेलाडी व्यवस्थापन, डाटा अपडेट, खेलाडी प्रोत्साहन, नियमित प्रतियोगिता तथा खेल सञ्चालन, मैदान व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

दासले जिल्ला तहबाटै योजनाबद्ध रुपमा खेलाडी उत्पादन र विकास गर्न सके मात्र राष्ट्रिय टोलीका लागि आवश्यक प्रतिभा तयार हुने भएकाले स्थानीय स्तरमा नियमित खेल, प्रतियोगिता र प्रशिक्षणको वातावरण बनाउनुपर्ने विषयमा जोड दिएका थिए । उनले जिल्ला क्रिकेट संघलाई व्यवस्थित तथ्यांक र खेलाडीको अभिलेख व्यवस्थापनमार्फत दीर्घकालीन योजना निर्माण गर्न सकिने विषयमा समेत प्रशिक्षण दिएका थिए । उनले रुपन्देहीको क्रिकेट जिल्लागत रुपमा अब्बल रहेको बताउँदै अब प्रदेशको केन्द्र बनाउनुपर्नेमा जोड दिए । साथै विगतमा जस्तै जिल्ला संघका अझै व्यवस्थित भई पहिलो स्थान हासिल गरिरहन योजनाबद्ध थप काम गर्न सुझाए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय म्याच रेफ्री तथा नेपाल क्रिकेट अम्पायर तथा स्कोरर संघका अध्यक्ष समीर खानले क्रिकेटमा अम्पायरिङ, स्कोरिङ तथा खेल सञ्चालनका प्राविधिक पक्षबारे प्रशिक्षण दिएका थिए । उनले आधुनिक क्रिकेटमा अम्पायर तथा स्कोररको भूमिका, खेल सञ्चालनको शुद्धता र प्राविधिक दक्षता विकासको आवश्यकताबारे जानकारी गराएका थिए ।

त्यस्तै अधिवक्ता तथा पत्रकार कुलमणि ज्ञवालीले क्रिकेट संघको कानुनी प्रक्रिया, संस्थागत व्यवस्थापन, विधान, जिम्मेवारी तथा संघ सञ्चालनका कानुनी पक्षबारे प्रशिक्षण दिएका थिए । क्रिकेटको विकाससँगै संघको संस्थागत सुशासन र कानुनी प्रक्रियालाई पनि व्यवस्थित बनाउनु आवश्यक रहेको उनको प्रशिक्षणको मुख्य विषय थियो ।

कार्यशालामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान सहायक प्रशिक्षक तथा हाल लुम्बिनी प्रदेश क्रिकेट टोलीका प्रमुख प्रशिक्षक रहेका वसन्त शाही ठकुरीले खेलाडी उत्पादन तथा क्रिकेट एकेडेमीको विकासका विषयमा प्रशिक्षण दिएका थिए ।

विभिन्न उमेर समूहका महिला तथा पुरुष खेलाडीलाई प्रशिक्षण दिइसकेका शाहीलाई रुपन्देही क्रिकेट संघले रुपन्देही क्रिकेट एकेडेमीको हेड कोच तथा निर्देशकका रुपमा नियुक्त गरेको छ । उनले एकेडेमीलाई जिल्लाबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने व्यवस्थित आधारका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए ।

उनका अनुसार एकेडेमीमा उमेर समूहअनुसार वैज्ञानिक प्रशिक्षण, फिटनेस, प्राविधिक सीप, खेलाडीको प्रदर्शन मूल्यांकन, नियमित अभ्यास तथा प्रतियोगितासँग जोडिएको प्रशिक्षण प्रणाली विकास गर्न सके रुपन्देहीबाट प्रदेश हुँदै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिनेछ । एकेडेमीलाई केवल प्रशिक्षण दिने स्थान मात्र नभई खेलाडीको समग्र विकास गर्ने संरचनाका रुपमा अघि बढाउनुपर्नेमा उनले जोड दिएका थिए ।

कार्यशालाको उद्घाटन सत्रमा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले जिल्लाको क्रिकेट विकासका लागि संघले दीर्घकालीन योजना बनाएर अघि बढिरहेको बताए । खेलाडी उत्पादनसँगै नियमित प्रतियोगिता, पूर्वाधार विकास, प्रशिक्षक तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि र क्रिकेट गतिविधिलाई निरन्तरता दिन संघ केन्द्रित रहेको उनको भनाइ थियो । उनले संघलाई अझै व्यवस्थित बनाउन कार्यशाला तथा प्रशिक्षण प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा क्रिकेटको सम्भावना बढ्दै गएकाले खेल पूर्वाधारको विकासमा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए । विशेषगरी सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्न सके रुपन्देहीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने आधार तयार हुने उनको धारणा थियो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले स्थानीय तहबाट खेलकुद विकासमा गर्न सकिने सहयोग तथा पूर्वाधार विकासका विषयमा धारणा राखेका थिए । क्रिकेटको विकासका लागि संघ, स्थानीय तह, प्रदेश तथा निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरीले जिल्लामा क्रिकेटको जग निर्माण गर्न विगतमा भएका प्रयासलाई निरन्तरता दिँदै नयाँ पुस्ताका खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए । उनले क्रिकेटको संस्थागत विकास र खेलाडीको भविष्य निर्माणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राखे । सिद्धार्थ रंगशालालाई तत्काल अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा उनको जोड थियो ।

संघका सल्लाहकार महेश भूर्तेलले रुपन्देहीको क्रिकेट विकासमा आवश्यक सहयोग र सहकार्यका लागि आफूहरू तयार रहेको बताए । जिल्लामा उपलब्ध स्रोतसाधनलाई प्रभावकारी रुपमा परिचालन गर्दै खेलाडी र क्रिकेट संरचनाको विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए । विद्यालय तहमा धेरै प्रतीभा रहेकाले ती खोजीको विषय बन्नुपर्नेमा उनको सुझाव छ ।

नेपाल क्रिकेट संघका निवर्तमान सचिव प्रशान्त विक्रम मल्लले जिल्ला क्रिकेट संघहरु नेपाली क्रिकेटको विकासको आधारस्तम्भ भएकाले स्थानीय स्तरमा क्रिकेट गतिविधि विस्तार गर्नुपर्ने बताए । जिल्ला तहमा बलियो संरचना र नियमित प्रतियोगिता निर्माण गर्न सके त्यसको प्रत्यक्ष प्रभाव प्रदेश र राष्ट्रिय क्रिकेटमा पर्ने उनको भनाइ थियो । उनले विगतदेखि नै रुपन्देही नेपालकै क्रिकेटमा अब्बल सावित रहेको जनाउँदै प्रशिक्षणपछि थप व्यवस्थित बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसन लुम्बिनी प्रदेशका प्रमुख हरिचन्द्र श्रेष्ठ, क्यानका पूर्व केन्द्रीय सदस्य आशा गुरुङ, रुपन्देही क्रिकेट संघका सचिव उदयकुमार मल्लिक तथा पूर्वअन्तर्राष्ट्रिय खेलाडी नितु थापालगायतले क्रिकेट विकासका विभिन्न पक्षमा धारणा राखेका थिए ।

उनीहरुले कार्यशालाबाट क्रिकेट संघको व्यवस्थापनदेखि खेलाडी उत्पादन, प्रशिक्षण, प्रतियोगिता सञ्चालन, प्राविधिक पक्ष र संस्थागत विकाससम्मका विषयमा महत्वपूर्ण जानकारी प्राप्त भएको बताएका थिए ।

रुपन्देही क्रिकेट संघले पहिलोपटक आयोजना गरेको एकदिवसीय कार्यशालालाई जिल्लाको क्रिकेट विकासका लागि आगामी योजनाको आधार तयार गर्ने कार्यक्रमका रुपमा लिएको छ । संघले आगामी दिनमा रुपन्देही क्रिकेट एकेडेमीलाई व्यवस्थित र प्रभावकारी बनाउने, उमेर समूहका महिला तथा पुरुष खेलाडी उत्पादन गर्ने, नियमित प्रतियोगिता सञ्चालन गर्ने, प्रशिक्षक तथा प्राविधिक जनशक्तिको क्षमता विकास गर्ने, खेलाडीको डाटा तथा अभिलेख व्यवस्थित गर्ने र जिल्लाका क्रिकेट पूर्वाधारको स्तरोन्नति गर्ने योजनालाई प्राथमिकतामा राख्ने जनाएको छ ।

रुपन्देहीमा क्रिकेटप्रतिको बढ्दो आकर्षण र प्रतिभालाई संस्थागत प्रशिक्षण तथा प्रतियोगितासँग जोड्न सके जिल्लाबाट लुम्बिनी प्रदेश हुँदै राष्ट्रिय टोलीसम्म खेलाडी उत्पादन गर्ने आधार थप बलियो बन्ने अपेक्षा गरिएको छ ।

त्यसका लागि सिद्धार्थ रंगशालाको स्तरोन्नति, आधुनिक क्रिकेट प्रशिक्षण संरचना, गुणस्तरीय पिच तथा मैदान, नियमित प्रतियोगिता र व्यवस्थित क्रिकेट एकेडेमीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता कार्यशालामा औंल्याइएको थियो ।

रुपन्देही क्रिकेट संघले जिल्ला क्रिकेटको विकासलाई खेलाडी उत्पादनमा मात्र सीमित नराखी पूर्वाधार, प्रशिक्षण, व्यवस्थापन, प्राविधिक जनशक्ति र संस्थागत सुशासनलाई एकसाथ अघि बढाउने रणनीति बनाएको जनाएको छ । यसबाट रुपन्देहीलाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण क्रिकेट केन्द्रका रुपमा विकास गर्दै नेपाली क्रिकेटको समग्र विकासमा योगदान पुर्याउने लक्ष्य लिइएको अध्यक्ष थापाले जनाए । गोष्ठीमा उठेका विषयहरुलाई समेटेर संघले केही दिनमै आगामी योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।