लुम्बिनीमा शुक्रबारबाट तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन



लुम्बिनी– लुम्बिनी भ्रमणमा आउने पर्यटकको बसाइँ लम्याउने र सम्पदा संरक्षणका लागि रणनीति तयार गर्न शुक्रबारबाट लुम्बिनीमा तीन दिने ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुँदैछ । पहिलोपटक बुद्ध जन्मस्थल र आसपासका सरोकारवालासहित सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा सरकारी उच्चपदस्थकासाथै बौद्ध धर्मगुरु, सम्पदाविद, पर्यटनविद्, विकास साझेदार तथा स्थानीय प्रतिनिधि लुम्बिनी र आपपासका गन्तव्यसित सरोकार समेत १ सय ५० जनाको सहभागिता रहने युनेस्कोकी संस्कृति क्षेत्र प्रमुख नभा बस्न्यात थापाले बताइन् । । अनलाइनबाट एक सय जना सहभागी हुनेछन् । विभिन्न विषय विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । लुम्बिनी र तिलौराकोट–कपिलवस्तुको स्थलगत अवलोकन कार्यक्रम छ । कार्यपत्रमाथि छलफलमात्र नगरेर स्थानीयको भावना बुझ्न स्थलगत भ्रमण राखिएको आयोजकले जानकारी गराए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, युनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलन लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा हुनेछ । सम्मेलनको शुक्रबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल (गणेश) ले उद्घाटन गर्ने कार्यक्रम छ । थापाका अनुसार सम्मेलनमा बृहत्तर लुम्बिनी क्षेत्रको रूपान्तरण, सम्पदा संरक्षण, पर्यटक व्यवस्थापन, पर्यटन पूर्वाधार तथा सेवा सुदृढीकरण र समावेशी स्थानीय आर्थिक विकासका बारेमा छलफल गरिने जनाइएको छ ।
सम्मेलनमा भारत, श्रीलंका, इन्डोनेसिया, म्यानमार, बेलायत, अष्ट्रेलिया, थाइल्याण्डलगायतका देशका विज्ञ सहभागिता रहने जनाइएको छ । सम्मेलनले सैद्धान्तिक बहसलाई ठोस कार्यदिशामा परिणत गर्ने लक्ष्य राखेको थापाले बताइन् । बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत बुद्धजन्मस्थल लुम्बिनी, प्राचीन तिलौराकोट दरबार, मायादेवीको माइतीघर देवदह, बुद्धको अस्तुधातु रहेको रामग्राम तथा पण्डितपुर लगायतका महत्त्वपूर्ण पुरातात्विक तथा धार्मिक स्थल छन् ।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राइले विश्व बैंकको सहयोगमा अघि बढाइएको परियोजना अन्तर्गत सम्मेलन हुन लागेको बताए । उनकाअनुसार सरकारले अघि बढाएको परियोजना कार्यान्वयनलाई केन्द्रमा राखेर बृहत्तर लुम्बिनी क्षेत्रका पर्यटनसम्बन्धी पूर्वाधार तथा सेवामा सुधार, स्थानीय रोजगारी प्रवद्र्धन र सम्पदामैत्री विकासलाई प्राथमिकता दिने गरी सम्मेलनमा विज्ञले छलफल गर्नेछन् ।
लुम्बिनी सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको सम्पदा स्थल हो । विश्व सम्पदा समितिले सन् २०२६ मा लुम्बिनीको संरक्षणसँग सम्बन्धित विभिन्न विषयमा नेपाललाई थप काम गर्न आग्रह गरेको छ ।
तीनदिने सम्मेलन साझा घोषणापत्र जारी गरी आइतबार सम्पन्न हुनेछ । सम्मेलनले वृहत्तर लुम्बिनी क्षेत्रको रूपान्तरणका चार विषयमा केन्द्रित भएर साझा कार्ययोजना तयार पार्नेछ । कार्यक्रमको समापनमा ‘साझा घोषणापत्र’ जारी गरिने छ । सम्मेलनका निष्कर्षले नेपाल सरकारका आगामी कार्यक्रम तथा विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालित ‘वृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनालाई प्रत्यक्ष मार्गदर्शन गर्ने आयोजकको विश्वास छ ।








प्रतिकृया दिनुहोस्