October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

यसरी गरिन्छ पुतली गणना

Advertisement

भैरहवा – घर–आँगनमा फुर्र–फुर्र उडिरहने पुतलीले देखेर नलोभिने कमै होलान । पुतली एउटै रुप रंगका पनि हुँदैनन् । थरी–थरी पुतली बगैँचाका सुन्दरता हुन् । मुलुकभर साना–ठूला पुतलीको प्रत्येक वर्ष गणना गरिन्छ । तर, पुतलीको गणना कसरी गरिन्छ भन्ने कमैलाई जानकारी होला ।

Advertisement

पुतलीको गणना गर्दा सुरुमा पुतलीको तस्बिर खिचिन्छ । त्यसपछि उक्त तस्बिर, पुतलीको प्रजाति र बासस्थानको अवस्थासहितको विवरण ‘आई न्याचुरलिस्ट’ प्लेटफर्ममा अपलोड गरिन्छ । अझैं जानकारी आवश्यक परे ग्रीनालयलाई इमेल पठाएर पनि विवरण लिन सकिन्छ । यसका साथैं आवश्यकताअनुसार स्वदेशी तथा अन्तर्राष्ट्रिय विज्ञ र विशेषज्ञसँग समन्वय गरिन्छ ।

गणना सकिएको केही दिनपछि अपलोड गरिएका तस्बिर र विवरणको अध्ययन तथा विश्लेषण गरेर ‘आई न्याचुरलिस्ट’ले पुतलीको संख्या र प्रजाति सार्वजनिक गर्छ । नेपालमा पनि पुतलीका प्रजाति, संख्या र बासस्थान पहिचान गर्न बटरफ्लाई वाचर्स नेपाल र ग्रीनालय नेपालको सहकार्यमा १६ भदौदेखि १४ असोजसम्म ‘बिग बटरफ्लाई काउन्ट’ भइरहेको छ ।

नेपालका २५ स्थानमा एक सय भन्दा बढी गणक सहभागी अभियानमा तस्बिरसहितका विवरण ‘आई न्याचुरलिस्ट’मा अभिलेख गर्ने काम भइरहेको छ । जसले पुतलीको विविधता, आनीबानी र संरक्षण योजना निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा ६ सय ९५ प्रजाति अभिलेख भए पनि करिब ७ सय प्रजाति पाइने बिज्ञको दाबी छ । पुतलीले परागसेचन, स्वस्थ वनको संकेत तथा पर्यापर्यटनमा महत्वपूर्ण भूमिका खेल्छ ।

ग्रीनालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, दोलखा, सुनसरी, धनुषा, कास्की, तनहुँ, रुपन्देही, सुर्खेत, कञ्चनपुरलगायतका २५ स्थानमा पुतली गणना भइरहेको छ । अभियानमा सयभन्दा बढी गणक संलग्न छन् । वातावरण विज्ञान, प्राणीशास्त्र र वन विज्ञान अध्ययनरत स्नातक तथा स्नातकोत्तर विद्यार्थीका साथै वन्यजन्तु फोटोग्राफर र पुतलीप्रेमी फोटोग्राफर पनि गणनामा सहभागी छन् ।

यसअघिको तेस्रो गणनामा मुलुकभर एक सय २९ भन्दा बढी प्रजातिका पुतली ‘रेकर्ड’ गरिएको थियो । ग्रीनालय नेपालले पुतलीको अध्ययन–अनुसन्धान, संरक्षण, सचेतना र शिक्षामूलक काम गर्दै आएको छ । मौसमका हिसाबले पुतली बढी देखिने समयमा अभियान सञ्चालन गरेर बढीभन्दा बढी सूचना संकलन गर्न खोजिएको रुपन्देहीकी पुतली गणना संयोजक सिजा थापाले बताइन् । उनका अनुसार पोस्ट मनसुन भएकाले चारैतिर हरियाली हुँदा धेरै पुतली देखिन्छन् ।

नेपालमा पाइने पुतलीबारे अद्यावधिक विवरण नभएकाले गणनाले त्यसमा सहयोग पु¥याउने मकवानपुर पुतली गणनाका संयोजक कृष्णद्विप चौधरीले बताए । पुतलीका आनीबानी र आवागमनबारे सूचना संकलन गर्न पनि गणना आवश्यक रहेको उनको भनाइ छ । पुतलीको विविधताबारे पर्याप्त सूचना नहुँदा आवश्यक नीति, योजना र कार्यक्रम बनाउन पनि गणनाले सहयोग पुग्ने उनले बताए ।

नेपालमा ६ सय ९५ प्रजातिका पुतली पाइएको अभिलेख छ । पाँच दशकदेखि पुतलीबारे अध्ययन–अनुसन्धान गरिरहेका महेन्द्रसिंह लिम्बु भने नेपालमा ७ सय प्रजातिका पुतली पाइने दाबी गर्छन् । नेपालमा सबैभन्दा बढी ३ सय ९२ भन्दा बढी प्रजातिका पुतली अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइएको अभिलेख छ । त्यसपछि काठमाडौं उपत्यकाको गोदावरीमा ३ सय ५० भन्दा बढी प्रजातिका पुतली अभिलेख गरिएको छ