October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

मजदुर कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

Advertisement

अर्घाखाँची– मजदुर कुटपिट आरोपमा अर्घाखाँचीको भूमिकास्थान–८, का वडाध्यक्ष राजकुमार श्रेष्ठ पक्राउ परेका छन् । मजदुर र स्थानीयबीच झगडा भएपछि गाउँलेले श्रेष्ठलाई बोलाएका थिए । झगडा साम्य पार्न गएको दावी गरिरहेका श्रेष्ठ आठ दिनपछि पक्राउ परेका हुन् ।

Advertisement

सन्धिखर्कस्थित घरबाट मंगलबार साँझ प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको थियो । गत भदौं २३ गते साँझ पाल्पाका मजदुर र स्थानीयबीच झगडा हुँदा १३ जना घाइते भएका थिए । प्रहरीका अनुसार घाइते मध्ये लुम्बिनी प्रादेशिक अस्पतालमा ९ जना,सन्धिखर्कको छाँया अस्पताल प्रालिमा २ र अर्घाखाँची अस्पतालमा २ जनाको उपचार भएको थियो । घाइतेहरु डिस्चार्ज भइसकेका छन् । पाल्पाबाट दुई दिनअघि मात्र मजदुरीका केही व्यक्रि त्यहाँ पुगेका थिए ।

प्रहरी नायब उपरीक्षक दिवस जिसीले घाइते दिलबहादुर रास्कोटीले इलाका प्रहरी बुटवलमा जाहेरी दिएपछि श्रेष्ठलाई नियन्त्रणमा लिएको बताए । ‘लात्तेबाँज घटनामा श्रेष्ठसहित ७ जना स्थानीयले मजदुरमाथि आक्रमण गरेको भन्दै किटानी जाहेरी छ,’ उनले भने, ‘त्यसैको आधारमा हामीले श्रेष्ठलाई अनुसन्धानका लागि पक्राउ गरेका हौं । ५ दिने म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

श्रेष्ठ बाहेक अरुलाई पनि पक्राउ गरिने उनले बताए । जाहेरी दिने व्यक्तिसहित घाइतेलाई प्रहरी कार्यालयमा बोलाइएको छ । पाल्पा निर्वाचन क्षेत्र–२ का सांसद डा. माधवबहादुर थापाले आफ्नो क्षेत्रका मजदुर कुटिएको विषयमा संसदमा कुरा उठाएका थिए ।

‘सामान्य भनाभनको विषयलाई लिएर स्थानीयले मजदुरलाई घाइते हुने गरी कुटपिट गर्नु राम्रो होइन,’ उनले इकान्तिपुरसँग भने, ‘निमुखा मजदुरलाई यसरी कुट्नु हुँदैन ।’ मजदुर कुट्ने माथि जाहेरी दिँदा पनि प्रहरीले लिन नमानेको उनको आरोप छ । उनले मजदुर माथि स्थानीय प्रशासनले अन्याय गरेको बताए ।