October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

पाल्पा अस्पतालको भवन जीर्ण भएपछि सेवा प्रभावित

Advertisement

पाल्पा—पाल्पा अस्पतालको भवन जीर्ण भएपछि सेवा प्रभावित भएको छ । एक सय १५ वर्ष पुरानो भवनका कारण सेवा प्रदान गर्न अप्ठयारो भइरहेको छ । शताब्दी पुरानो भवन भएपनि नयाँ निर्माणका लागि चासो दिइएको छैन । जग्गा अभाव देखाउँदैं प्रत्येक वर्ष भवन निर्माणको बजेट फिर्ता गइरहेको छ ।

Advertisement

राणाकालीन समयदेखि यो अस्पताल सञ्चालनमा छ । अस्पतालमा मापदण्ड अनुसारक पूर्वाधार नहुँदा सेवा लिने बिरामी र सेवा दिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि उपचारमा कठिनाइ हुने गरेको देखिने तानसेन–३, की सुनिता श्रेष्ठले बताइन् । भवनका अधिकांश स्थान टालटुल गरिएको छ । फार्मेसी तथा स्टोरमा पानी चुहिने गरेको छ ।

जीर्ण संरचनामै अस्पतालले सेवाका प्रकार बढाएपछि बिरामीको चाप धान्न धौधौ भएको छ । बिरामी परीक्षण गर्ने कोठा सहज र पर्याप्त नभएको, टिकट काउन्टरदेखि उपकरण राख्ने स्थानको पनि अभाव रहेको छ । बिरामी बस्ने तथा पालो कुर्ने स्थानसमेत पर्याप्त नभएको, साँघुरो भवनका कारण उपचार लिन सकस हुने गरेको तानसेनका महेशलाल बज्राचार्यले बताए ।

अस्पताललाई आर्थिक वर्ष २०७७-७८ बाट लुम्बिनी प्रदेश सरकारले ५० शय्याको अस्पतालका रुपमा स्तरोन्नति गरेको छ । तर अहिलेसम्म त्यसका लागि आवश्यक जनशक्ति र पूर्वाधारको व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या भएको पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शान्तबहादुर रोका मगरले बताए । ‘अस्पतालमा सीमित जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने अवस्था छ,’ डा. रोकामगरले भने, ‘दैनिक बिरामीको संख्या बढ्दै गएको छ तर भौतिक पूर्वाधार अभावको समस्या जहाँको तँही छ ।’

पाल्पा अस्प्तालमा ६४ जनाको दरबन्दी रहेको छ । कन्सल्टेन्ट चिकित्सक ११ जनाको दरबन्दी छ । एक जना एघारौं तहका चिकित्सक कार्यरत रहे पनि उनीसमेत दाङको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा काजमा खटिएका छन् । मेडिकल अफिसर ६ जनाको दरबन्दीमा चार जना आए पनि तीन जना अध्ययन विदामा छन् । हाल ६ जना मेडिकल अफिसर छात्रवृत्ति र दरबन्दी करारका छन् । अस्पतालको हाल ७ रोपनी ३ आना जग्गा रहेको छ । यसअघि यो जग्गा हेल्थ सेन्टरको नाममा थियो ।