सांसद अमरेश सिंहले किन गरे रूपन्देही र कपिलवस्तु भ्रमण ?



भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद अमरेशकुमार सिंहको पछिल्लो समयको कपिलवस्तु र रुपन्देही भ्रमणलाई राजनीतिक चासोका रुपमा हेर्न थालिएको छ । ५ दिनदेखि कपिलवस्तु रुपन्देहीका विभिन्न पार्टीका नेता कार्यकर्तालाई उनले भेटघाट गर्दै हिंड्नु अर्थपूर्ण मानिएको छ । उनले छठ पछि आफूले मधेश पदयात्रा गर्ने भन्दै पूर्व तयारीका लागि आएको बताएका छन् ।
सत्तारुढ रास्वपाका सांसद सिंहले केही दिनअघि प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङसहितका पार्टीका नेताहरुमाथि कडा आलोचना गर्दै आएर मधेशमा पदयात्राको घोषणा गर्नुले ठूलो बहस र चर्चाको विषय बनेको छ । सरकार बनेयता पार्टी र सरकारसँग असन्तुष्ट रहेको उनले यहा काँग्रेस संस्थापन इतर पक्ष र मधेशबादी दलका नेता कार्यकर्तालाई भेटघाट गरेका छन् ।
उनको बाक्लो भेटघाटले भने राजनितीक बृत्त तातिएको छ । शुक्रबार कपिलवस्तु आएका सांसद सिंह पूर्व राजदुत दीपकुमार उपाध्यायको मेजमानीमा उनकै घरमा बसेका थिए । त्यसै गरि उनले पूर्वमन्त्री बृजेशकुमार गुप्तालाई समेत भेटघाट गरेका थिए । गुप्ता गत फागुन २१ मा सम्पन्न निर्वाचनमा नेकपा माओबादीबाट उम्मेदवार भए पनि आफूलाई स्वतन्त्र भन्न रुचाउँछन् ।
गुप्तासँगको भेटघाटमा पूर्व राजदूत उपाध्यायका छोरा आशिष शर्मा समेत सहभागी रहेको तस्बिर सामाजिक संजालमा सार्बजनिक भए पछि विभिन्न अड्कलबाजी सुरु भएको छ । पूर्वमन्त्रीद्वय उपाध्याय र गुप्ता पुराना प्रतिस्प्रर्धी हुन् ।
त्यसैगरि सिंहले जिल्लाका बिभिन्न मधेसबादी दलका नेता कार्यकर्ता, पुर्वमन्त्री दानबहादुर चौधरी, रास्वपाका युवा नेता रासिद मिर्जालाई समेत भेटेका थिए । यहि बसाईंमा कृष्णनगर पुगेका सिंहले नेपाली काँग्रेस पार्टीका संसदीय दलका उपनेता अभिषेकप्रताप शाहसँग पनि भेटघाट गरेको तस्विर शाहले आफ्नो सामाजिक सञ्जालमा राखेका छन् ।
त्यस्तै सिंहले एमाले कोटाबाट मुस्लिम आयोगका सदस्य रहेका मिर्जा अरसद बेगसँग पनि भेटघाट गरेका छन् । सिंह आइतबार दिउँसोदेखि लुम्बिनीमा पार्टीका नेता कार्यकर्ताबीच अन्तरक्रियामा देखिए । त्यहाँ उनले रास्वपा रुपन्देही–५ का सांसद तौफिक अहमद खाँनसँग भेटघाट गरे । उनले आफू पार्टीलाई बलियो बनाउन भेटघाटमा निस्किएको र जनताका कुरा सुन्न आएको बताएको नेताकार्यकर्ताह बताउँछन् ।
उनले सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानलाई समेत भेटघाट गरेर न्यानो स्वागत थापेका छन् । सिंह जहाँ पुग्छन्, त्यहाँ भब्य स्वागत हुने गरेको छ । सिंहको भ्रमणलाई पदयात्राको तयारी वा अन्य कुनै राजनीतिक योजना हो भन्नेमा उत्तिकै चासो बढेको देखिएको छ ।
काँग्रेसका सभापति गगनकुमार थापालाई हराएर सांसद भएका सिंहलाई कांग्रेस नेता तथा पूर्वराजदुत उपाध्याय परिवारबाट कपिलवस्तुमा गरिएको स्वागत र आथित्यताले कांग्रेसजनमा कौतुहलता थपेको छ । सिंहले रुपन्देही आएर रुपन्देही–४ का सांसद कन्हैया बनियाँसँग पनि भेटघाट गरे । सांसद बनियाँको घरमै पुगेको र त्यहाँ सिंहलाई बनियाँले स्वागत गरेको तस्बिरहरु सार्वजनिक भएका छन् ।
सिंहले रुपन्देहीमै चर्चित क्षेत्र नम्बर ४ स्थित मर्चवारीमाई मन्दिरको समेत दर्शन गरी पुजाआजा गरेका छन् । चुनाव अघि यो मन्दिरमा प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने पनि पुगेका थिए । मर्चवारको राजनीतिलाई प्रभाव पार्नसक्ने यो मन्दिरमा मधेशका नेताहरु आउँदा सधैंजसो पुग्ने गरेका छन् । पछिल्लो समय सरकारको कटु आलोचक बनिरहेका रास्वपाकै सांसद सिंहले खासगरी सीमा क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद तथा भिन्नभिन्न दलका नेताहरु भेट्दै हिंडेपछि विभिन्न लख काट्न थालिएको छ । कतिले अमरेसले अब मधेशमा आन्दोलनको तयारी गरेको समेत दावी गरेका छन् ।








प्रतिकृया दिनुहोस्