कटुवा पेस्तोलसहित दुईजना पक्राउ



भैरहवा–रुपन्देहीको ओमसतिया गाउँपालिका–६, नारायणपुरबाट प्रहरीले कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ओमसतिया गाउँपालिका–६, नारायणपुर निवासी २३ वर्षीय अमन कुमार धवलको घरमा कटुवा पेस्तोल लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलवार बिहान करिब ७ बजे धवलको घरमा रीतपूर्वक खानतलासी गर्दा एक थान कटुवा पेस्तोल र २५ राउण्ड छर्रा बरामद गरेको हो ।
घटनामा संलग्न रहेको आशंकामा धवलसँगै सोही स्थानका २० वर्षीय सुनिल केवटलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्तक सूचना अधिकारी आशिष बिश्वकर्माले बताए ।








प्रतिकृया दिनुहोस्