हरितालिका तीजले महिलाहरूलाई अब्बल बनाउन अभिप्रेरणा प्रदान गरोस्ः सभामुख घर्तीमगर



भैरहवा- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजले महिला दिदीबहिनीहरूमा राजनीतिक, आर्थिक , सामाजिक हरेक दृष्टिकोणले अब्बल र सक्षम बनाउन अभिप्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
सोमबार तीज पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घर्तीमगरले देश विदेशमा रहेका लुम्बिनी प्रदेशवासी आमा–बुवा, दाजु–भाइ, दिदी–बहिनीहरूमा शुभकामना व्यक्त गरेका छन् । तीज पर्व नेपालमा पौराणिक समयदेखि नै मनाउँदै आएको पाइन्छ। हाम्रो समाजमा यो पर्वको छुट्टै मौलिक परम्परा विकास भएकोले तीज विशुद्ध नेपाली पर्व हो।
‘पूर्वीय सभ्यता अर्थात् हिमाली दर्शनधारामा आधारित ऐतिहासिक संस्कार र संस्कृतिहरुमा आधारित हाम्रा चाडपर्व मध्ये नेपाली जनजीवनको सामाजिक–सांस्कृतिक पहिचान व्यक्त गर्ने यो पर्वको आफ्नै विशेषता र महत्व रहेको छ। तथापि पछिल्लो समय आधुनिकीकरणको नाममा भड्किलो कार्यले सांस्कृतिक पक्षलाई ओझेलमा पारेको छ भने मौलिकता कमजोर बन्दै गएको छ । सामाजिक मूल्यमान्यता बोकेको मौलिक सांस्कृतिक पर्वहरूमा विकृतिहरू घुस्न नदिनु हामी सबैको दायित्व हो,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।
पुँजीवादले जगेल्टिँदै लगेको हाम्रा सामाजिक तथा सास्कृतिक चाडपर्वलाई आफ्नै मौलिकतामा मनाउनु पर्ने उनले जनाएका छन् । ‘तीजको नाममा हाम्रो समाजमा भित्रिएको भड्किलो पन जस्ता नकारात्मक र गलत प्रवृत्ति बढ्दै जाँदा आर्थिक भार मात्र होइन मौलिक संस्कृतिमा पनि असर पुगेको छ। तसर्थ तीज पर्वलाई सभ्य , शालिन ,श्रद्वा र समर्पण भावका साथ मौलिक पर्वको रूपमा मनाउन म अनुरोध समेत गर्दछु,’ उनले भनेका छन् ।
धर्म, संस्कृति, परम्परासँग जोडिएका हाम्रा पर्वहरूले एकता, सामाजिक सद्भाव, सह–अस्तित्व, मानवताको विकास र सम्बन्ध सुदृढ गर्दै आएको घर्तीमगरको भनाई छ । ति पर्वहरूको संरक्षण गर्नु सबै नेपालीहरूको दायित्व पनि उनले जनाएका छन् ।
’जनयुद्ध, जनआन्दोलन तथा विभिन्न आन्दोलन, संघर्ष र क्रान्तिको परिणाम स्वरूप मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको उल्लेख गर्दै सभामुख घर्तीमगरले राजनीतिक परिवर्तनमा नेपाली वीर महिलाहरूको अतुलनीय योगदान रहेको स्मरण गरेका छन् । म यो अवसरमा ती महान् चेलीहरूको योगदानलाई उच्च सम्मान व्यक्त गर्दछु। लुम्बिनी प्रदेश सभा महिलाहरूको हकअधिकार स्थापित गराउने सन्दर्भमा सकारात्मक भूमिकाको साथमा नीति तथा कानून निर्माण गर्दै आएको छ।महिलाहरूलाई राजनीतिक नेतृत्वसँगै आर्थिक पहुँचको वृद्धि गरी सबल र सक्षम बनाउन जारी नीति तथा कानून निर्माणको लागि पहल गरिरहेको र आगामी दिनमा पनि पहल गरिने समेत प्रतिबद्धता व्यक्त गर्दछ’, शुभकामना सन्देशमा भनिएको छ ।
तीज पर्वले महिला दिदीबहिनीलाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक रुपमा सशक्तीकरणमा गर्न अभिप्रेणा प्रदान गरोस् भन्ने कामना गर्दै गरेका छन् ।








प्रतिकृया दिनुहोस्