October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

बुकिङ रद्ध भएपछि व्यवसायी निराश

Advertisement

भैरहवा– रसुवाको भोटेकोशी बाढीपछि पर्यटकले धमाधम बुकिङ रद्ध गरेपछि व्यवसायी निराश बनेका छन् । नेपालमा पर्यटनका लागि सेप्टेम्बर र अक्टुबर मुख्य महिना हुन् । यही बेला बुकिङ रद्ध भएपछि पर्यटन व्यवसाय प्रभावित बनेको उनीहरुको भनाई छ । बाह्य पर्यटन मात्र होइन, आन्तरिक रुपमा एक महिनासम्म आयोजना हुने तिजका कार्यक्रम यसपटक भएका छैनन । जसले गर्दा कार्यक्रमका लागि बुकिङ गरिएका होटलका हल सुनसान छन् ।

Advertisement

रुपन्देहीको बेलहियास्थित पर्यटन व्यवसायी विष्णुप्रसाद शर्माले सेप्टेम्बरका लागि २७ ग्रुपले होटल बुकिङ रद्ध गरेको बताए । ‘२७ समूहले होटल बुकिङ गर्नु भनेको ठूलो घाटा हो,’ उनले भने, ‘नेपाल सुरक्षित छ भनेर सन्देश दिन नसक्दा नोक्सान भयो, अब ढिलाई गर्नु हुँदैन ।’ उनका अनुसार सेप्टेम्बर र अक्टोबरमा भारत लगायत मुलुकबाट पर्यटक घुम्न आउँछन् । समुहमा प्याकेज खरिद गरेर आउने भएकाले व्यवसायीका लागि यी दुई महिना मुख्य सिजन रहेको उनले बताए ।

‘विपदका कारण नेपाल सुरक्षित छैन भनेर धेरै प्रचार भयो, त्यसको शिकार हामी पर्यटन व्यवसायी भयौं,’ उनले भने, ‘सेप्टेम्बरका लागि २७ ग्रुप थिए, सबैले रद्व गरे ।’ उनका अनुसार अहिले भारतीय सीमा रहेको भन्सार मध्यरात १२ बजेसम्म खुला राख्न थालिएको छ । नेपालले पनि पर्यटक लक्षित गरेर मध्यरातसम्म सेवा दिनुपर्ने उनले बताए । सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्याम मार्फत नेपाल सुरक्षित रहेको जानकारी दिन ढिलाई गर्न नहुने उनले बताए ।

भैरहवास्थित होटल पौवाका महाप्रवन्धक निशान खरेलका अनुसार तिजमा कार्यक्रम आयोजनाका लागि भदौं ९ देखि २९ गतेसम्म ४० भन्दा बढी महिला समूह र संस्थाले हल गरेका थिए । ‘सबैले बुकिङ रद्ध गरेपछि हल सुनासान छन,’ उनले भने, ‘भैरहवा पौवाको मात्रै आधा करोडको व्यापार नोक्सान भयो ।’ पौवा मात्र होइन तिज लक्षित गरेर रुपन्देहीका अन्य होटलमा गरिएका बुकिङ समेत रद्ध भइसकेका छन् । होटलले पनि तिज लक्षित गरेर आकर्षक प्याकेज कार्यक्रम ल्याएका थिए । ‘तिज पनि हाम्रो मुख्य कमाईको सिजन हो,’ उनले भने, ‘यसपाली नोक्सान भयो ।’

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले विपद्का बेला बेलहिया हुँदै आउने पर्यटक लक्षित गरेर मध्यरात सम्म नाका खुलै राख्न थालिएको बताए । उनका अनुसार नाका खुला राख्ने कुरा एउटा मात्र देशको निर्णय हुँदैन । दुबै मुलुकका समकक्षीबीच सल्लाहा आधारमा यस्तो सहुलित प्रदान गरिएको हो । ‘स्थानीय स्तरबाट हल गर्न सकिने विषयमा सधैं तयार छौं,’ उनले भने, ‘कतिपय नितिगत कुरा यहाँबाट समाधान गर्न सम्भव हुँदैंन । त्यसका लागि लविङ जरुरी हुन्छ । यहाँको आवश्यकता हेरेर त्यसका लागि सहजीकरण गर्न तयार छौं ।’