October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

भाग्यमा लेखिएको…

Advertisement

‘नयाँ बसपार्क ! नयाँ बसपार्क !’ भन्दै गाडीको सहचालक भाइ कराएपछि मेरो निद्रा खुल्यो । राजधानीको व्यस्त ठाउँ नयाँ बसपार्क । कैयौँ मानिस बिहानीको मधुर घामजस्तै सुन्दर सपना बोकेर यहाँ भित्रिने गर्छन् । कैयौँ मानिस सपना मारेर काठमाडौंबाट बाहिरिन्छन् !

Advertisement

कैयौँ भेटिन्छन् हातमा नाम्लो बोकेर कामको खोजीमा कुरिरहेका मजदुरहरू । यतै भेटिन्छन् घर छोडेर हतारिँदै विमानस्थलतिर  दौडिरहेका युवा ।

नाकानाकाबाट जनलहर उर्लिएपछि काठमाडौं कुर्लिन्छ । शासकको कुर्सी  हल्लिन्छ । सत्ता फेरिन्छ । शासक फेरिन्छ । तर, यो नयाँ बसपार्कमा  पुरानै व्यथा लिएर आउने नयाँ अनुहारहरू मात्र फेरिइरहन्छ ।

बिदाको दिन, घरमा छु यति बेला । झ्यालबाट देख्छु बाटोमा चम्पा र  चमेली आउँदै गरेको बिहानको व्यापार सकेर ।

थर्मसभरि चिया बोकेर ३ बजे नै उनीहरू बसपार्क पुग्छन् । अनि, ६ बजे चिया बेचेर फर्किन्छन् । यिनको आफ्नैखालको दैनिकी छ । आफ्नै कथा छ ।

चम्पाको बुढो जनआन्दोलनमा घाइते भएर भाँचिएको करङ र खुस्किएको घुँडो बोकेर वैशाखीमा रूपान्तरित भएको छ ।

दुई छोराछोरी र विकलांग लोग्नेको जिम्मेवारी चम्पाले उठाएकी छे, बिहान बसपार्कमा चिया बेचेर, दिउँसो अर्काको घरमा काम सघाएर ।

कहिलेकाहीँ गाह्रो, अप्ठ्यारोमा मलाई पनि काम सघाउँछे चम्पा । त्यसबापत मैले उसको कोठाको भाडा मिनाहा गरिदिएको छु ।

अर्काे पात्र छे, चमेली । सोह्रसत्र वर्षकी । गाउँमा पढ्दापढ्दै  अन्तरजातीय केटासँग प्रेम बस्यो उसको । बिहेअघि नै रहेको गर्भले विक्षिप्त बनेर रमेशसँग गाउँ छोडेर काठमाडौं भागेकी ऊ ।

जातको कारणले कतै कोठा नपाएपछि मेरो घरमा आए उनीहरू । रगत सबैको रातो हो, मान्छेको दुःखमा मान्छे नै काम नलागे अरू को लाग्छ र ! यस्तै सोचेर कोठा दिएँ मैले ।

रमेश विष्णुमतीमा बालुवा झिक्ने काम गर्दाे रहेछ । दिउँसो अनि राति अबेरसम्म ऊ खोलातिरै काममा व्यस्त हुन्थ्यो । कहिलेकाहीँ त पुलिसले समातेर लैजान्थ्यो । अनि, ठेकेदारले दाम चढाएपछि ऊ घर फर्किन्थ्यो ।

महिनामा कति कमाउँदा होलान् ? त्यसमा पनि जोगाएर राखेको पैसा  मलाई राख्न दिन्छन् उनीहरू । मैले त्यो पैसा चमेलीको नाममा सहकारीमा जम्मा गरिदिएकी छु ।

एक किसिमको गहिरो माया छ त्यो परिवारसँग । भावनाको नाता पनि  यति गहिराइसम्म पुग्दो रहेछ, चुडिँदा दुख्ने, भेटिँदा मन खुसी हुने । घरबेटी र भाडावालाको यो कस्तो आत्मीय नाता !

कोठाअगाडिको बरन्डामा प्रायः परेवाहरू चर्न आइपुग्छन् । आज पनि एक हुल परेवा बरन्डाभरि छरिए । अनि, चारो टिपेर उडी गए ।

बाहिर जाडो अचम्मैसित बढेको छ यो वर्ष । हुस्सु डम्मै लागेको छ । जाडोमा पटक्कै उठ्न मन छैन । सिरकभित्र घुस्रिएको छु ।

त्यसै बेला ईशाले फोन गरी अमेरिकाबाट । फोन उठाएँ ।

उसलाई मेरो जन्मदिनको हेक्का छ, त्यसैले बिहानै फोन गरेर शुभकामना दिएकी ।

“बहिनी, तँलाई कस्तो छ ?,” यसै फुस्कियो मेरो मुखबाट ।

मेरो रुन्चे स्वर सुन्नेबितिकै ऊ पनि फोनमा रोई । ऊ रोएपछि मैले सम्हालिँदै आँसु पुछेँ । र, उसलाई सम्झाएँ ।

हामी दिदीबहिनी धेरै बेर फोनमा रोयौँ । गला अवरुद्ध भएपछि उसैले उताबाट फोन काटी ।

०००

आज आमाको सम्झना साहै्र आयो । कोठाको भित्तामा टाँगिएको आमाको तस्बिरमा आँखा पुगे । जन्मदिनको दिन आमाले मन्दिरमा लगेको, मिठाई  किनिदिएको अनि साथीहरूलाई स्कुलमा चकलेट बाँडेको सम्झना भयो ।

आमाले किनिदिएको नयाँ मिडी लगाएर फुरुंग हुँदै नाचेको सम्झना पनि हुलमा मिसियो, मन बिथोल्ने गरी ।

मन भारी भएर दुख्यो, आमा सम्झिएर ।

‘यही शरद् ऋतु हो, तिमी जन्मिएकी ! बारीभरि सयपत्री, मखमली फुलेको थियो, फूलको मौसममा फूलजस्तै सुन्दर छोरी जन्मिएकोमा म साह्रै खुसी थिएँ । तिम्रो बा पनि खुसीले दंग हुनुहुन्थ्यो । हामी त खुसी थियौ नै, तर घरमा तिम्रा हजुरबा, हजुरआमा भने खुसी हुनु भएन ! उहाँहरूलाई छोरी होइन, छोरा चाहिएको थियो । छोराभन्दा कुनै कुरामा कमी हुनु हुँदैन छोरी !’ आमा मलाई फुर्काउनुहुन्थ्यो ।

आमाको सम्झनामा म बतासिँदै धेरै पर पुगेँ । बीस वर्ष पहिले आमा बितेका ती घटना आँखाभरि आए । आमा बित्दा म भर्खर सत्र वर्षकी थिएँ, बहिनी दश वर्षकी । यही शरद् ऋतु हो आमा बितेको पनि ।

दसैँको बेला सबैको घरमा रमाइलो थियो । खुसियाली थियो । घरआँगनभरि सयपत्री फूल ढकमक्क फुलेका थिए । त्यसै बेला दैवको लाठो हामीमाथि बर्सियो । सातौँ दिन घरमा फूलपाती भित्र्याउने तयारी हुँदाहुँदै आमा एक्कासि लड्नुभयो र बेहोस हुनुभयो । हामी दिदीबहिनी  आमालाई समातेर रोयौँ, करायौँ । बाबा घरमा हुनु हुन्थेन । बहिनीले काकालाई बोलाई । उहाँ ढिला गरी आउनुभयो ।

मान्छे बोलाउँदा बोलाउँदै आमाले प्राण छोडिसक्नुभएछ । अस्पताल पुर्‍याउँदा शरीर लास बनिसकेको डाक्टरले सुनाए । छिटो अस्पताल  पुर्‍याउन सकेको भए आमा बाँच्नुहुन्थ्यो कि भन्ने मनमा आज पनि  खड्किरहन्छ ।

आमाविनाको मेरो जन्मदिनको कुनै महत्त्व छैन । म जाँतोजस्तै बोझिलो बनेर हरेक साल आफ्नो उमेर पिनिरहेकी हुन्छु ।

हजुरबाको पालामा ढुंगामाटोले बनेको कच्ची घर । देख्दा आकर्षक थियो हाम्रो पुर्ख्यौली घर । ठूलो आँगन । आँगनको डिलभरि अनेकथरीका फूलका बोटहरू ।

घरअगाडि सानो फलफूलको बगँैचा, पूर्वको पारिलो घाँम लाग्ने । पूर्व मोहडा फर्किएको त्यो घर पछि अंशबन्डा हुँदा बाको भागमा परेको  थियो ।

आमाको मुत्युपछि त्यो प्रिय घरमा बस्न पटक्कै मन लागेन । त्यहाँका हरेक वस्तुमा आमाको अनुहार आउने गर्थ्यो । आमाले सारेका धुपीका बोटहरू, गुलाफका बोटहरू, चमेलीका फूलहरू फुल्दा आमाको यादमा फूलका बोटहरू समातेर रुन्थ्यौँ हामी ।

यो हाम्रो पागलपन थियो । हरेक चिजमा आमाको सम्झना ! आमाले प्रयोग गर्ने सामान र सुत्ने कोठामा आमाको कपडा जस्ताको तस्तै थियो ।

आमाले दिनदिनै औषधि प्रयोग गर्नुहुन्थ्यो, तर उहाँलाई के भएको हो थाहा थिएन । पछि बाबाले भन्दा थाहा भयो, उहाँ मुटुरोगी हुनुहुँदो रहेछ ।

यी सबै कुरा हामीलाई किन लुकाउनुभयो आमाले ? आज पनि मनले सोध्छ ।

आमालाई मृत्युको आभास भयो कि क्या हो ! एक दिन उहाँ मेरो कोठामा पस्नुभयो । त्यस दिन उहाँलाई अलिक उदास देखेँ मैले र सोधेकी थिएँ, ‘आमा, हजुरलाई के भयो ? टाउको दुख्यो ? म टाउकोमा मालिस गरिदिऊँ ?’

उहाँले अलि रिसाएझैँ गरी भन्नुभयो, ‘पर्दैन । भो पर्दैन । मेरो केको चिन्ता तिमीहरूलाई !’

मलाई अचम्म लाग्यो । कहिले नरिसाउने मेरी आमा, त्यो दिन किन रिसाउनुभयो ? सोचेँ, बाबासँग झगडा परेर पो हो कि ? यस्तै ठानेर म चुप बसेँ ।

एकछिनपछि आमाले मौनता भंग गर्दै भन्नुभयो, ‘मनीषा, राम्रोसँग पढ्नू । बहिनीलाई पनि पढाउनू । झगडा कहिले नगर्नू । दराजमा मेरा गहनाहरू छन्, दिदीबहिनी बाँडेर लिनू । घरको जेठी छोरी तिमी, तिम्ले सबै व्यवहार मिलाउनुपर्छ बुझ्यौ ! बहिनी अलि भनेको मान्दिन, अटेरी  छे, सम्झाउनू ।’

आमाले किन त्यसो भन्नुभयो ! मैले बुझ्नै सकिनँ । गएका दिनहरूले जीवनलाई बोझिलो र रापिलो पारेर गएका छन् । मन धेरै दुखाएका छन् ।

धुपीको बोटमा बिहानै चरा आएर कराउँदा आमा आएर बोलेजस्तो लाग्ने र हरेक चिजमा आमाको छाया देख्न थालेपछि उहाँको याद भुलाउनै पनि हामीले त्यो घर बेचेर हिँड्यौँ ।

त्यो घरबाट आएको रकमले पछि ईशालाई डाक्टर पढाउन काम लाग्यो । आज ईशा अमेरिकामा डाक्टर भएर उतै काम गर्छे । डाक्टरसँगै बिहे गरेकी छे । सुखी छे । खुसी छे ।

नागर्जुन डाँडामाथि घाम अस्ताउने सुरसार गर्दै थियो । समय गएको पत्तो भएन । त्यसै बेला इशाले फेरि फोन गरी ।

“दिदी, तपाईंको लागि हामीले राम्रो मान्छे खोजेका छाँै, बिहे गर्नुस् !”

ईशाको कुरा नसकिँदै ज्वाइँ बोल्नुभयो, “दिज्यु, कसैलाई कसैको वास्ता नहुने । कसैले कसैलाई नचिन्ने साँघुरो गल्ली र गल्छेडा हुँदै कहिले  भीडमा कहिले एक्लै ठोक्किँदै हिँड्नुभयो, यो पचास वर्षमा उक्लिँदै गर्दा एउटा उपहार दिँदै छौँ, नाइँ नभन्नु है ।”

०००

म कोठामा छु । ऐनाअगाडि ढिंग उभिन मन लाग्छ । र, आफैँसँग प्रश्न गर्छु— यो उमेरमा कसले बिहे गर्छ मसँग ?

ऐेनाअगाडि आफ्ना सक्कली छाया देखा पर्छन् । केशहरू फुलेका, निधारमा प्रस्ट देखिएको चाउरी । मैले कहिल्यै आफूलाई यसरी नियालेकी थिइनँ । आज आफ्नै प्रतिविम्ब आफ्नो होइन झैँ लाग्न थाल्यो ।

यो उमेरसम्म आइपुग्दा कुनै दिन सोचे पनि हुँला, कसैको घर बसेको देखेर, कसैले माया बाँडेको देखेर– मेरा पनि भइदिएका भए बाआमा, मेरो पनि घरजम हुने थियो, कोख भरिने थियो, रुने, हँसाउने आफ्ना हुने थिए ।

मनले सोध्यो समयलाई, लालुपाते लाल बनेर फुल्यो । बेलीचमेली फुले अनि झरे । फेरि फुले अनि फेरि पनि झरे । आँगनीको पारिजात रातभरि फुल्यो र उषासँगै झर्‍यो । यो मन कुन बेला फुल्यो अनि झर्‍यो, थाहा नै भएन !

यथार्थको धरातलमा आज म एक्लो थिएँ । ईशाले एउटा फोटो पठाई म्यासेन्जरमा । त्यो फोटोले मलाई झस्कायो । मैले फेसबुक आईडी सर्च गरेर हेरँे । ऊ हरियो थोप्लोमा देखापर्‍यो ।

मैले ईशालाई म्यासेज गरेँ— तैले कसरी चिनिस् उसलाई ईशा ?’

उसले सबै कुरा बताई ।

मेरो सम्झनामा आयो ऊ । ऊसँग मेरो छिमेकी दिदीको घरमा  सत्यनारायणको पूजामा भेट भएको थियो । उनै दिदीको भाइ रहेछ ऊ । भलाद्मी थियो । उसका तार्किक कुराहरू मन पर्थ्यो मलाई । मिठो बोल्ने कला । सहयोगी बानी उसको व्यक्तित्व चिनाउने सुगन्ध थिए ।

हामी नजिक भयौँ । मेरो जीवनको अप्ठ्यारा दिनहरूमा कहिले अभिभावक बनेर कहिले साथी बनेर मलाई साथ दिएको थियो उसले ।

एक दिन उसले बिहे गरेर अमेरिका जाने कुरा गर्‍यो । मैले उसको प्रस्ताव इन्कार गरेँ । मनभरि उसलाई राखेर ऊबाट म टाढा भएँ ।

धेरै वर्षपछि छिमेकी दिदीसँग भेट हुँदा भन्नुभएको थियो, ‘मनीषा, तिमीलाई मेरो भाइले धेरै माया गर्दाे रहेछ, सधैँ सोधिरहन्छ । हालखबर बुझिरहन्छ । तकदिरमा नहुनेहरू मनमा बस्दा रहेछन् हगि !’

मनमा गाँठो परेर आयो । सकीनसकी बोलेँ, ‘खोइ दिदी, त्यो त म के जानौँ ! अनि, उसको चाहिँ के छ हालखबर ?’

‘खोइ के कारण पर्‍यो, एउटी खैरेनीसँग लिभिङ टुगेदरमा बसेको थियो । पछि उसले छोडेर गई । त्यसपछि हामीले धेरै कर गर्‍यौँ, नेपाली केटीहरू हेर्‍यौँ, उसले बिहे गर्नै मानेन । अहिले अमेरिकामा छ ।’

मैले ‘ए…’ मात्र भनेँ । त्यसपछि हामी छुट्टियौँ ।

बहिनीको ठूलो जिम्मेवारी थियो मेरो काँधमा । मैले मेरो प्रेम त्यागेँ र बहिनीको भविष्य रोजेँ । त्यसपछि सम्पर्कविहीन बनेको ऊ ईशासँग कसरी भेटिन आइपुग्यो ! म सोचमग्न भएँ ।

समयको रफ्तारमा म त धेरै पर पुगिसकेकी रहिछु ! –baahrakhari