October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

मपदण्ड पूरा गर्नेले चौबीसै घण्टा व्यवसाय चलाउन पाउने

Advertisement

भैरहवा– गृह मन्त्रालयबाट स्वीकृत मापदण्ड पालना गरेका व्यवसायिक प्रतिष्ठानले रुपन्देहीमा चौबीसै घण्टा सेवा दिन पाउने भएका छन् । त्यसका लागि पूर्ण समय व्यवसाय संचालन गर्ने सम्बन्धी कार्यविधि २०७९ को मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने निर्णय गरिएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकपछि यस्तो निर्णय गरिएको छ । यस्तो व्यवसाय सञ्चालनका लागि मापदण्ड पूरा गर्नुपर्ने र भविष्यमा कुनै दुर्घटना भए सम्बन्धित पक्ष जिम्मेवार हुने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको गत साउन गतेको निर्णय अनुसार जिल्लामा रात्रीकालीन व्यवसाय सञ्चालनका लागि नयाँ समय सीमा लागू गरिएको थियो । स्थानीय प्रशासनको अनुमतिमा राती १ बजेसम्म व्यवसाय चलाउन दिइएको थियो ।

प्रशासनले नयाँ समय सीमा तोकी अनुमति दिइएकोमा सम्बन्धित स्थानीय तह, सम्बन्धित व्यवसायिक संघसंस्था प्रतिष्ठान र सरोकारवालाले आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गरी आर्थिक रुपले चलायमान बनाउन र रोजगारी सृजना गरी मुलुकको अर्थतन्त्रमा थप टेवा पुर्याउन साउनमा तोकिएको समय सीमामा पुनरावलोकन गर्न माग गर्दै आएका थिए । यही विषयमा व्यवसायीले प्रशासनको ध्यानाकर्षण गराएका थिए । सरोकारवाला निकाय, संघसंस्थाका प्रतिनिधि वीच छलफल हुँदा प्रचलित कानूनको प्रतिकूल नहुने गरी व्यवसाय चलाउन दिने निर्णय भएको हो ।

यसरी पूर्ण समय व्यवसाय संचालन गर्न चाहने व्यवसायिक प्रतिष्ठानले पूर्ण समय व्यवसाय संचालन गर्ने सम्बन्धी कार्यविधि २०७९ को अनुसूची १ बमोजिमको अनुगमन सूचक सहितको फारम भरी कुन समय सम्म व्यवसाय संचालन गर्ने हो भन्ने स्पष्ट उल्लेख गरेर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ । कार्यविधिमा स्वास्थ्य, सुरक्षा, कर्मचारी, सरसफाई, पेशागत आचरण लगायत व्यवस्था छन् । पूर्ण समय व्यवसाय सञ्चालनका लागि कार्यविधिमा उल्लेख सम्पूर्ण नियम पालना गरिएको हुनुपर्ने प्रशासनले जनाएको छ ।

त्यस्तै कार्यविधिको दफा १३ बमोजिम सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको अनुगमन समितिले निवेदन परि अनुगमन गर्न बाँकी रहेका व्यवसायको मापदण्ड पूरा भएनभएको सम्बन्धमा यथासिघ्र अनुगमन गर्ने र मापदण्ड पूरा भएका व्यवसायलाई मात्र जिल्ला प्रशासन कार्यालयले पूर्ण समय व्यवसाय संचालन अनुमति दिने पनि जनाइएको छ । पूर्ण समय संचालन अनुमति पाएका होटल, डिस्को, डान्सवार लगायतबाट निस्किने ग्राहकले सडक पेटिमा अनावश्यक जम्मा भई अपाच्य र अश्लिल शब्द प्रयोग गर्ने, एक आपसमा वादविवाद गर्ने जस्ता गतिविधिले समाज र व्यवसायबीच विवाद सृजना हुने भएकाले यस्ता गतिविधि हुन नदिन सम्बन्धित स्थानीय तहले नियमित अनुगमन गर्ने पनि जानकारी गराइएको छ ।

कहिलेकाँही विवाद उत्पन्न भइहालेमा सहजीकरण गराउनुपर्ने पनि निर्णयमा उल्लेख छ । डान्स रेष्टुरेण्ट, बार दोहोरी, लाइभ व्याण्ड, पव, डिस्को, क्लव लाउञ्ज, मसाज पार्लर जस्ता व्यवसाय धेरै स्थानमा छरिएर संचालन हुँदा सुरक्षा व्यवस्थापनमा जटिलता हुने भएकाले स्थानीय तहले निश्चित स्थानमा त्यस्ता व्यवसाय संचालन गर्न प्रेरित गर्नुपर्ने उल्लेख गरिएको छ । अनुमति नलिई वा मापदण्ड पूरा नगरी संचालन गरिएका व्यवसायलाई स्थानीय तहले अनुगमन गरी बन्द गराउनु पर्ने निर्णय भएको छ ।

सर्वपक्षीय बैठकमा पूर्ण समय व्यवसाय संचालनमा रहेका स्थानीय तहहरुले रातीको समयमा नगर प्रहरी खटाई नियमित गस्ती पट्रोलिङ गर्ने व्यवस्था मिलाउनु पर्ने निर्णय गरिएको छ । पूर्ण समय व्यवसाय संचालन अनुमति लिई संचालनमा रहेको व्यवसायबाट रातीको समयमा मादक पदार्थ सेवन गरी निवासतर्फ जाने सेवाग्राहीलाई सम्बन्धित प्रोपराईटर आफैले राख्ने व्यवस्था मिलाउने वा आफ्नै सवारी साधनबाट गनतव्य तर्फ पुरÞ्याउने व्यवस्था मिलाउनु पर्ने छ । केहीगरि दुर्घटना हुन गएको प्रमाणित भएमा त्यसको जिम्मेवार सम्बन्धित प्रतिष्ठान हुनुपर्नेपनि उल्लेख गरिएको छ । यसअघि २०७९ सालमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पहलमा रुपन्देहीमा रात्रीकालीन व्यवसाय सञ्चालन सुरु भएको थियो ।