October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

उद्योग, व्यवसाय र कृषिको केन्द्र मायादेवी गाउँपालिका

Advertisement

भैरहवा– भैरहवा–लुम्बिनी सडक खण्ड अन्तर्गत रहेको रुपन्देहीको मायादेवी गाउँपालिका तीन नदीको संगम छ । जिल्ला प्रमुख दानव, तिनाउ, घाघरा यही पालिका भएर बग्छन् । पालिका उद्योग, व्यवसाय, खेतीपातीका लागि केन्द्र छ ।

Advertisement

मायादेवी धेरै पालिकासित जोडिएको छ । यहाँबाट बुद्ध जन्मस्थल लुम्बिनी नजिकै रहेको छ । पूर्वतर्फ सदरमुकाम भैरहवासित जोडिएको छ । पछिल्लो समय मायादेवी–८, होटल तथा रेष्टुरेन्टको हब बनिरहेको छ । गाउँपालिकाको अधिकांश भूभाग खेती योग्य छ । ‘उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको छ,’ गाउँपालिका अध्यक्ष धुव्रनारायण चोधरीले भने, ‘जिल्लाको मध्य भागमा रहेकाले मायादेवी धेरै कुराको केन्द्र बनेको छ ।’

रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा गाउँपालिका अवस्थित छ । साविकका ४ हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली गाबिस मिलाएर पालिका बनाएको छ । गाउँपालिका समुन्द्र सतह देखि करिब ९२ दशमलब २ मिटरको उचाइमा छ । यसको क्षेत्रफल ७२.४४ वर्ग किलोमिटर र लम्बाई सरदर १८ किलोमिटर रहेको पालिकाले जनाएको छ ।

गाउँपालिकाको पूर्वतर्फ सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिका, पश्चिमतर्फ लुम्बिनी साँस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिका, उत्तरतर्फ सियारी र शुद्धोधन गाउँपालिका र दक्षिणतर्फ कोटहीमाई गाउँपालिका र भारत छ । गाउँपालिकामा ८ वडा छन् । उत्तरबाट बग्ने तिनाउ र दानव नदीसँग प्राकृतिक, भौगोलिक तथा साँस्कृतिक मनोरमता एवम् कृषि क्षेत्रले पालिका सधै हराभारा रहने गाउँपालिकाकी उपाध्यक्ष नर्वदादेवी उपाध्यायले बताइन । पालिकामा ९ जार ९ सय ९० घर परिवारको बसोबास छ ।

२०७८ को गणना अनुसार मायादेवीको कुन जनसंख्या ५६ हजार १ सय ७० छ । ती मध्ये महिला २३ हजार ३ सय ९८ र पुरुष २३ हजार ७ सय ९८ रहेको गाउँपालिकाका प्रवक्ता शैलेन्द्र कुमार पाण्डेयले बताए । उनका अनुसार जनसंख्या वृद्धीदर १.८७ प्रतिशत रहेको छ । पालिकाको जनघनत्व ७ सय ७५ जना प्रति वर्ग किलोमिटर छ ।

गाउँपालिकामा धार्मिक पर्यटकीय स्थलका रुपमा प्रकटेश्वर मन्दिर र मायादेवी पार्क रहेका छन् । गाउँपालिका अध्यक्ष चौधरीका अनुसार पालिकामा यादव, थारु, ब्राह्मण, क्षेत्री, लोध, कुर्मी, हरिजन, मुसलमान समुदायको बसोबास छ । यहाँ लोपउन्नमुख पथरकट्टा जाती पनि रहेको छ । मायादेवीमा दशै, तिहार, छठ, रामनवमी, शिवरात्री, माघी, रक्षाबन्धन, रमजान, इद पर्व मनाउने गरिन्छ । पालिकामा सामुदायिक १२ माध्यामिक र ८ वटा आधारभूत विद्यालय छन् । निजीतर्फ १० माबि र १८ आधारभूत विद्यालय रहेका छन् । पालिकामा स्वास्थ्य संस्था ४, आधारभूत स्वास्थ्य केन्द्र ४, वर्थिङ्ग सेन्टर १, आयूर्वेद औषधालय १ छन् ।

पालिकाका केन्द्रका रुपमा वेथरी र बनगाई बजार छन् । मायादेवीका बासिन्दाको मुख्य आधार कृषि हो । त्यहाँ धान, गहुँ, रहर, तोरी, आलस, तरकारी खेती हुने गरेको छ । त्यहाँका बासिन्दाले आँप, लिची, केरा, मेवा र अम्बा फलाउने गरेका छन् । स्थानीयले गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा, हाँस, परेवा पालन गरेर जिविकोपार्जन गर्दै आएको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।