October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

प्याकेजमा घुम्न आउने पर्यटकद्वारा धमाधम बुकिङ रद्ध

Advertisement

भैरहवा– दुई साता अघि रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पर्यटन क्षेत्र ठप्प भएको छ । बाढीका कारण नेपाल असुरक्षित रहेको सन्देश फैलिएपछि प्याकेजमा नेपाल भ्रमणमा आउने पर्यटकले बुकिङ रद्ध गरेका छन् ।

Advertisement

छोटो अवधिका लागि आउने भारतीय पर्यटक देखिए पनि रुपन्देही हुँदै मुलुकमा प्रमुख गन्तव्यमा जाने पर्यटकले भ्रमण योजना रद्ध गरेका हुन् । धेरै दिनका लागि नेपाल आउने तय गरेका पर्यटकले शतप्रतिशत बुकिङ रद्ध गरेको पर्यटन व्यवसायीले बताए । यो नेपालमा पर्यटक आउने प्रमुख सिजन हो । यही बेला पर्यटकले बुकिङ रद्ध गरेपछि पर्यटन क्षेत्रमा गम्भीर असर पर्ने व्यवसायी बताउँछन् । चाडपर्व सुरु भइसकेकाले अधिकांश होटलमा पर्यटकले बुकिङ र जमघटका कार्यक्रम तय गरेका थिए । धेरै होटलले तीज लक्षित अफर ल्याएका थिए ।

प्रकोपका कारण नेपाल सुरक्षित नरहेको खबर फैलिएपछि आन्तरिक र बाह्य पर्यटकले पोखरा, चितवन र लुम्बिनीका होटलमा बुकिङ रद्ध गरिसकेका छन् । बाटोघाटो सहज नभएकाले आन्तरिक पर्यटकले पनि घुम्ने योजना लत्याएका छन् । जसले पर्यटकीय याममै होटल सुनसान छन् । होटल संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले रुपन्देहीको बेलहिया लगायत नाका हुँदै विभिन्न गन्तव्य भ्रमणका लागि प्याकेजमा आउने भारतीय पर्यटक प्रभावित भएको बताए । ‘लुम्बिनी हुँदै पोखरा, काठमाडौं, चितवन लगायत गन्तव्य घुम्नका लागि प्याकेजमा आउने पर्यटकले बुकिङ रद्ध गरेका छन्,’ उनले भने, ‘यसरी आउने पर्यटकले शतप्रतिशत बुकिङ रद्ध गरेका हुन् ।’

उनका अनुसार भारतीय पर्यटक उच्च हिमाली भेगमा रहेका धार्मिक धाम घुम्न आउँछन् । अहिले हिमाली क्षेत्रमा बाढीले तहसनहस गरेको खबर पछि बुकिङ रद्ध गरेको बुझिएको छ । सिमावर्ती सहर र आसपासका गन्तव्यमा छोटो अवधिका लागि पर्यटक आए पनि प्याकेजमा घुम्न आउने स्वाट्टै घटेको उनले बताए । ‘नेपालको पर्यटनलाई गम्भीर धक्का लागेको छ,’ उनले भने, ‘कसरी पर्यटक भित्र्याउने भन्ने चिन्ताको विषय बनेको छ ।’ बुद्ध जन्मस्थल लुम्बिनी पनि पर्यटक विहीन हुन थालेको छ । काठमाडौं हुँदै लुम्बिनी आउने विदेशी पर्यटकले होटलका बुकिङ रद्ध गरिरहेको लुम्बिनी होटल संघ अध्यक्ष लिलामणि शर्माले बताए ।

मुख्य सिजन अक्टोबर–नोभेम्बरका लागि गरिएका बुकिङ रद्ध भइरहेको उनले बताए । बाढीकाकरण समग्र नेपाल नै प्रभावित भएको जस्तो गरि विदेशमा सूचना प्रवाह हुँदा बुकिङ रद्ध गरिएको उनले बताए ।

‘मुग्लिन–काठमाडौं सडकका एक–दुई ठाउँमा सडक भाँसिएकाले काठमाडौं आउजाउ समस्या भएको हो,’ उनले भने, ‘त्यो पनि सहज हुँदैछ ।’ सरकारले अग्रसरता लिएर नेपालस्थित विदेशी दुताबास र अन्तर्राष्ट्रिय संचारमाध्यम मार्फत् मुलुकको अवस्था सहज बन्दै गएर विदेशी पाहुनालाई स्वागत गर्न आतुर रहेको सन्देश दिनुपर्ने लुम्बिनीस्थित होटल सुरम्माका संचालक खिम श्रेष्ठले बताए ।

लुम्बिनीस्थित चारतारे बुटिक होटल होक्केमा दुई महिनाका लागि विभिन्न मितिमा गरिएका एकसय नाइट बुकिङ रद्ध भएको अपरेसनल म्यानेजर भविश्वर अधिकारीले बताए । मुलुकमा सहज अवस्था रहेकोबारे तत्काल सरकारले अन्तर्राष्ट्रिय स्तरमा सन्देश दिन नसके पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुने उनले बताए । लुम्बिनीका अन्य होटलमा पनि बाढीकाकारण पाहुनाले होटल बुकिङ रद्ध गरिरहेको होटल संघले जनाएको छ ।